२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पृथ्वी राजमार्ग हरियाली बनाइँदै

हरियाली राजमार्ग बनाउने अभियानअन्तर्गत आयोजित कार्यक्रम

धादिङ - बेनिघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका तथा धुनीबेंसी नगरपालिकाअन्तर्गत पर्ने पृथ्वी राजमार्गका छेउछाउमा बिरुवा रोपिने भएको छ । विभिन्न कारणले उजाड हुँदै गएको सो राजमार्गलाई हरियाली मार्गको रूपमा विकास गर्न सजीवनका पाँच हजार बिरुवा रोपिने गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताइन् ।

‘सुन्दर र सफा राजमार्गका लागि हरियाली अभियान थालेका हौं,’ उपाध्यक्ष ढुंगानाले भनिन्, ‘यसले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि पनि टेवा पुग्नेछ ।’ बढ्दो सहरीकरणसँगै सडक तथा बस्तीवरपरका रूखबिरुवा मासिँदै गएको उनको ठहर छ । उनले भनिन्, ‘सुविधाका लागि सहरी क्षेत्र रोज्नेहरू गाउँको हरियाली चटक्कै छाडी सहरिया बन्ने क्रम बढ्दो छ । साथै सेवासुविधाका लागि भन्दै राजमार्गआसपासका रुखबिरुवा मासी बस्ती बसाल्न थालेका छन् । यसले एकातिर पहिरोको जोखिम हुने गरेको छ भने अर्कोतिर उजाड देखिने गरेको छ ।’

स्वच्छ, हराभरा वातावरणमा यात्राका लागि सो अभियान सार्थक हुने अभियानकर्ताको भनाइ छ । बढ्दो सहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत अनेक समस्या उत्पन्न हुने गरेको छ । यसका लागि बिरुवा रोप्ने, संरक्षण तथा संवद्र्धन गर्ने र सरसफाइमा ध्यान दिनु नै उत्तम उपाय रहेको स्थानीयको भनाइ छ । राजमार्गलाई हरियाली बनाउन युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग, राजमार्गमा रहेका पाँच स्थानीय तहको समन्वयमा कार्बन फार्मर्स अफ नेपाल, अस्टे«लिया र सिड्स धादिङले सो अभियान सञ्चालन गर्ने भएका हुन् ।

अभियानअन्तर्गत राजमार्गआसपासमा सजीवन (शीतलचिनी) का बिरुवा रोपिन लागेको हो । सजीवन अत्यन्त लाभदायक वनस्पति हो । यसले शरीरदेखि पाउसम्मका लागि औषधीय गुण बोकेको हुन्छ । नेपालमा सजिलै पाइने भए पनि यसको औषधीय गुुणबारे कमैलाई मात्र थाहा छ । सजीवनलाई जीवन जोगाउने रूख भनेर पनि चिनिन्छ । यसको बिउबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा सजीवनको प्रयोगले तीन सयभन्दा बढी रोगको निदान हुने र कुपोषण पीडितलाई आहाराको रूपमा मानिने गर्छ । दैनिक दशौं हजार सवारीसाधन गुड्ने राजमार्ग स्वच्छ र सफा राख्न सके स्वास्थ्यमा पनि राम्रो हुने अभियन्ताको भनाइ छ ।

प्रकाशित: ७ श्रावण २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App