१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राहतका लागि हारगुहार, स्थानीय सरकारको तयारी फितलो

सिरहाका बाढीपीडितलाई चिउरा मुरही बाँड्दै प्रहरी। तस्बिर : मिथिलेश/नागरिक

सिरहा - जिल्लाका विभिन्न नदीमा शुक्रबार राति आएको बाढी गाउँबस्तीमा पस्यो। घरखेत डुबानमा परे। पीडितले उद्धार र राहतका लागि स्थानीय सरकारलाई गुहारे। तर स्थानीय सरकारसँग विपद् व्यवस्थापनसम्बन्धी तयारी नहुँदा बाढीपीडित घन्टौं उद्धारको पर्खाइमा बस्न बाध्य भए।

स्थानीय सरकार असमर्थ भएपछि प्रहरी, नेपाली सेना र रेडक्रसका टोली उद्धारमा खटिए। नेपाली सेना र रेडक्रसका दुइटा नाउ (बोट) मार्फत सयौं डुबानपीडितको उद्धार गरियो। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘यहाँका स्थानीय तहहरूमा विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी देखिएन। वडातहसम्मै विपद् व्यवस्थापन समिति भए पनि अवस्था फरक देखियो। स्थानीय तहले विपद् व्यवस्थापनका लागि कम्तीमा एकथान रबर बोटमात्र भए पनि खरिद गरेको भए उद्धार कार्य अझ प्रभावकारी हुने थियो।’

बाढीबाट सिरहामा दुई हजार ६ सय ३१ परिवार विस्थापित भएका छन्।

उद्धारपछि राहत वितरणमा पनि स्थानीय तहको तयारी चितबुझ्दो नभएको बाढीपीडित बताउँछन्। सिरहा नगरपालिका–६ बसपिट्टाका इन्द्रजित यादव भन्छन्, ‘यहाँका बाढीपीडितको अवस्था बेहाल छ, सरकारी राहत अझै आएको छैन।’ उद्धार तथा राहतमा स्थानीय सरकार फितलो देखिएको उनको गुनासो छ। हारगुहार गर्दा पनि राहत पाउन नसकेको पीडितको गुनासो छ। औरही गाउँपालिका–१ देखि ५ सम्मका चार सय घरपरिवार गागन खोलाको बाढीबाट प्रभावित भएको पालिका अध्यक्ष सिद्धार्थ यादवले बताए। ‘चारैतिरबाट सडक अवरुद्ध छ,’ उनले भने, ‘आवतजावत सहज भएपछि राहत बाँड्छौं।’

बाढीबाट सिरहाका ५ हजार ३ सय २६ घरमा पूर्ण र १० हजार एक सय ८९ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति सिरहाले जनाएको छ। बाढीबाट जिल्लामा दुई हजार ६ सय ३१ परिवार विस्थापित भएका छन्। पानीको सतह कम हुँदै गएपछि बिस्तारै विस्थापित घर फर्कन थालेका छन्। बाढीबाट करिब ७५ हजार मानिस प्रभावित भएको तथ्यांक छ।

पीडितलाई ‘परिचयपत्र’
वास्तविक बाढीपीडित परिवार राहत पाउनबाट वञ्चित नहोऊन् भनेर जिल्ला विपद् व्यवस्थापन समिति सिरहाले ‘परिचयपत्र’ लागू गर्ने तयारी गरेको छ। प्रजिअ अधिकारीले परिचयपत्रका आधारमा राहत वितरण गर्दा वास्तविक पीडितको हातमा पुग्ने, नदोहोरिने र कोही वञ्चित नहुने बताए।

जिल्ला रेडक्रस सोसाइटी सिरहाका कार्यक्रम संयोजक अशोक यादवका अनुसार विपद् व्यवस्थापन समितिबाट ‘परिचयपत्र’ को ढाँचा स्थानीय तहमा पठाइएको छ। स्थानीय तहले परिचयपत्र छपाइ गरिसकेपछि बाढीपीडितलाई वितरण गर्ने योजना छ। पीडितको यथार्थ तथ्यांक नपाउँदा र बाटो भत्केकाले राहत वितरणमा समस्या भएको उनले बताए। उनले भने, ‘तथ्यांक संकलन भए पनि यकिन भएको छैन। कति ठाउँमा अझै बाटो अवरुद्ध छ।’

पीडितको तथ्यांक संकलन भइरहेको जानकारी प्रजिअ अधिकारीले दिए। ‘हामीलाई ३ हजार त्रिपाल प्राप्त भएको छ। जिल्लामा एक ठाउँमा राहत संकलन गरी स्थानीय तहमार्फत वितरण गर्ने योजना छ,’ उनले भने, ‘लगत संकलन भएपछि खाद्यान्नलगायत सामग्री वितरण हुन्छ।’ सिरहामा बाढीमा परी मिर्चैया नगरपालिका ४ का पाँच वर्षीया प्रियंका महतो र रागिनी महतो, नरहा गाउँपालिका ३ का ५५ वर्षीय शोभित कटुवाल, २० वर्षीय वली साहको मृत्यु भएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App