खोटाङ– मास हिस्टोरियाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–१, कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ।
तीन/चार दिन अघिदेखि दैनिकजसो छात्रामा मास हिस्टोरियाको समस्या देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो। मंगलबार तीनजना, बुधबार चारजना छात्रामा देखिएको हिस्टोरिया बिहीबार सात छात्रामा देखा परेको विद्यालयले जनाएको छ। छात्रमा भने समस्या देखिएको छैन।
छात्रामा टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, आँखाको नानी घुम्ने, ‘आयो–आयो’ भन्दै कराउनेलगायतका लक्षण देखिएको स्वास्थ्यचौकी कुभिन्डेका अहेव शंकरप्रसाद बरालले बताए। असार लागेदेखि नै छात्रामा फाट्टफुट्ट देखा परेको मास हिस्टोरिया क्रमशः फैलिएको जनाइएको छ।
मास हिस्टोरियाको समस्या समाधानका लागि लक्षण देखिने बित्तिकै विद्यार्थी शान्त वातावरणमा राख्न र मनोसामाजिक परामर्श प्रदान गर्न सुझाव दिइएको अहेव बरालले बताए।
असार लागे यता कुभिन्डेकै रत्नराज्यलक्ष्मी माविमा समेत मास हिस्टोरियाको समस्या देखिएको थियो। चार दिन विद्यालय बन्द गरेपछि रत्न राज्यलक्ष्मी माविको मास हिस्टोरिया भने हल भएको विद्यालयले जनाएको छ। मास हिस्टोरिया नियन्त्रणका लागि रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि केही दिन बन्द गर्न सुझाव दिइएको बरालले बताए।
प्रकाशित: २७ असार २०७६ ०९:२९ शुक्रबार