५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

काठमाडौं - सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलले गरिरहेको संसद् अवरोध पहिलो र अन्तिम नभएको बताएका छन्। उनले मृत्युको व्यापार कसैको रहर हुँदैन भन्दै १० वर्ष मुलुकमा हिंसा भइरहँदा मुख्य खेलाडी को थिए भन्ने प्रश्न गरे। विषादी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई पटकपटक झुक्याइने गरेको भनेर दिएको अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा बाँस्कोटाले कसैले झुक्यायो भन्ने लाग्यो भने सचेत हुनपर्ने बताए। सञ्चारमन्त्री बाँस्कोटाले भारतबाट आउने सबै तरकारी विषादीयुक्त नभएको दाबी गर्दै अनुचित दबाबले विषादी परीक्षण नरोकिएको जिकिर गरे। आइफा अवार्डले सरकारले घाटाको व्यापार नगर्ने पनि दाबी गरे। आइफा गर्नै नहुने जस्तै गरी प्रचार भएकोप्रति आक्रोश व्यक्त गर्दे उनले अवार्ड हुनसक्ने संकेत गरे।

उनले मन्त्रिपरिषद्को बैठकबाट बीउ बिजनको किसिम, जातको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको समेत जानकारी दिए। सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको, त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बीलवापतको रकमसमेत उपलब्ध गराउने निर्णय गरेको छ।

सडक डिभिजन नेपालगञ्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० बिगाहा जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपालगञ्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगञ्जको नाममा कायम गर्ने निर्णय गरेको छ। त्यस्तै विद्युतीय बस खरिद गर्न स्वीकृति दिइएको छ। २०७४ पुस १३ को मन्त्रिपरिषद्को निर्णयअनुसार पुरस्कृत सूचीमा रहेका प्रशिक्षक सुधिर चौधरीको नाम सुधिरकुमार चौधरी, खेलाडी जंगबहादुर मगरको नामथर जंगबहादुर रुचाल र नवीन राईको नामथर होमनाथ राई हुनेगरी संशोधन गरेको छ।

ऐतिहासिक बागदरबारको संरक्षणबारे सर्वोच्च अदालतको आदेशअनुसार दरबारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरूपको मौलिकता कायम राखी पुनर्निर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ। निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेकामा नेपाल सरकारले विश्व बैंकसँग गरेको प्रतिबद्धता पूरा गर्न नेपाल सरकार, अर्थ मन्त्रालयबाट १ अर्ब ८० करोड रुपैयाँ निकासा दिई र नेपाल राष्ट्र बंैकबाट २० करोड रुपैयाँ लगानी गरी कोषको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पु¥याउन स्वीकृति दिइएको छ।

जापान सरकारबाट प्रोजेक्ट फर ह्यूमन रिसोर्स डेभलपमेन्ट स्कोलरसिप दोस्रो चरणअन्तर्गत प्राप्त हुने करिब ३८ करोड ८९ लाख रूपैयाँ जापानी येन ३८ करोड ७० लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। संघीय वित्त व्यवस्थापनका लागि नीतिगत र संस्थागत सुधार गर्दै दिगो आर्थिक वृद्धि र गरिवी निवारणमा योगदान पु¥याउने क्रममा नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियतपूर्ण ऋण सहायताको रूपमा प्रस्तावित १०० मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरेको छ।

रसुवास्थित माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेन्ट कम्पनीलाई आयकर छुट दिने निर्णय गरेको छ। बाग्लुङ खानेपानी तथा सरसफाइ आयोजना, रेले खोला जलविद्युत् आयोजना, सप्तङ खोला साना जलविद्युत् आयोजना र तिनेखु खोला साना जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका रूखविरुवा हटाउन स्वीकृति दिएको छ। ग्रामीण सञ्जाल सडकको कालोपत्रेसहित स्तरोन्नति गर्नका लागि झापा, रोल्पा, पाँचथर र पर्वत जिल्लामा रहेको कूल १२.६४६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका १४१९ वटा रूखविरूवा हटाउन स्वीकृति दिएको छ। यस्तै

रिद्धि सिद्धि सिमेण्टका लागि चूनढुंगा उत्खनन् गर्न दिन राष्ट्रिय वन क्षेत्रको जग्गा १० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका जम्मा ४२६ वटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ। मन्त्रिपरिषद् बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसस्मा पेश गर्न स्वीकृति दिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। होटल, लज, रेस्टुराँ तथा रिजर्ट, वार तथा पथ प्रदर्शक (दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ। त्यस्तै राष्ट्रिय वातावरण नीति, २०७६ स्वीकृत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

प्रकाशित: २७ असार २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App