७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या,श्रीमतीमाथि आशंका

सर्लाही – जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। सो वडाका वडाध्यक्ष नागेन्द्र पाख्रिनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ। प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा परियारकी ५७ वर्षीया पत्नी सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ।

शनिबार रातिको घटना भएपनि घटनास्थल सिन्धुली जिल्लाको सीमानजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आइतबार मात्र जानकारी पाएको हो। लामीदमारका स्थानीयवासीले आइतबार बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत घटनाबारे प्रहरीले थाहा पाएको थियो। मृतकको शव घटनास्थलबाट पोस्टमार्टमका सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नुपर्ने हुँदा मृतकको शव ल्याउन ६ घन्टाभन्दा बढी समय लागेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए। घरमा पतिपत्नी मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद भइरहने गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: २३ असार २०७६ ०२:०३ सोमबार

धारिलो_हतियार हत्या