७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, हत्या आशंकमा पत्नी पक्राउ

सर्लाही- जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। उक्त वडाका वडाध्यक्ष नागेन्द्र पाख्रीनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ। प्रहरीले हत्यामा संलग्न हुनसक्ने आशंकामा परियारकी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ।

शनिबार राती कै घटना भएपनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आईतबारमात्र जानकारी पाएको हो। लामीदमारका स्थानीयवासीले आईतबार बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत घटनाबारे प्रहरीले थाहा पाएको थियो।

मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि अहिले दिउँसो सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ। प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नु पर्ने हुँदा मृतकको शव ल्याउँन छ घण्टा भन्दा बढी समय लागेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए। घरमा श्रीमान–श्रीमती मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद भईरहने गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: २२ असार २०७६ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App