१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

त्रियुगा नगरकार्यालयमा नक्कली कुकर बम

उदयपुर–त्रियुगा नगरपालिका कार्यालय परिसरमा शुक्रबार बिहान नक्कली कुकर बम फेला परेको छ। बिहान ५ बजे सफाइ कर्मचारीले नगर परिसर बढार्ने क्रममा भेटिएको झोला उठाउँदा भित्र कुकर देखेपछि शंका लागेर नगर सुरक्षा कर्मचारीलाई जानकारी गराएका थिए। 

कार्यालय परिसरभित्र छिरेर दाहिनेपट्टि कुनामा भेटिएको रातो रंगको झोलामा टेपले बाँधेको कुकर भेटिएको थियो। प्रहरी टोलीले शंकास्पद वस्तुलाई सुरक्षित गर्दै डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेका थिए।

त्रियुगा नगरपालिका–३, भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाबाट खटेको डिस्पोजल टोलीले शंकास्पद वस्तु नियन्त्रणमा लिई डिस्पोज गराउँदा कुकरभित्र कपडाका टुक्रा, पिठोको लेदो, केही टुक्रा तार र टेप मात्र फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। 

घटनाबारे अनुसन्धान सुरु भइसकेको तर, हालसम्म कोही पक्राउ भने नपरेको उनको भनाइ छ। ‘नगरपालिका परिसरमा नक्कली बम राखेर आतंक मच्चाउने उद्देश्य लिएको देखिन्छ,’ एसपी मगरले भने, ‘हाम्रो टोली अनुसन्धानमा जुटेको छ।’ उनले झोला अघिल्लो दिननै राखेको हुन सक्ने बताउँदै सिसी क्यामेराको फुटेजहरू अध्ययन भइरहेको बताए। 

 

प्रकाशित: ६ असार २०७६ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App