१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नाटकीय बिहे, सातामै विच्छेद,सम्पत्तिको लोभमा आफन्तकै चलखेल

काठमाडौं - बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन्। पाँच÷छ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलको माइती पक्षले अहिले डर र धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन्।

‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा आफन्तबाटै अघि बढ्यो,’ काशीरामले भने, ‘तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सात÷आठ दिनमै केटी पक्षबाट डिभोर्स गर्ने निर्णय भयो, त्यसपछि सम्पत्ति र पैसाको बार्गेनिङ गर्न थालियो।’

काशीराम २० वर्षदेखि हङकङ र बेलायतमा बस्दै आएका थिए। छोराछोरी पनि त्यतै हुर्काए। छोरा कृष्णप्रसाद हुर्किसकेकाले २०६९ सालमा नेपाल फर्केर बिहे गरिदिने निर्णय परिवारले ग-यो। आफू नेपालमा नबसेकाले काशीरामले आफन्तलाई बेहुली खोज्न लगाए। बेहुली खोजेर बिहेको साइत जुराइएपछि केटा पक्षकाले बिहेको भव्य तयारी थाल्यो। तामझामका साथ विवाह सम्पन्न भयो। तर बिहेको दुई÷चार दिनमै थाहा भयो, आफन्तले उनका छोराको जीवनमाथि ठूलो बज्रपात ल्याउनेगरी बेहुली खोजिदिएका रहेछन्। आफन्तकै सिफारिसमा २०६९ माघ २४ गते चितवन कालिकास्थानकी माया बरालसँग कृष्णप्रसादको पहिलो बिहे भएको थियो। तर उनीहरूको सम्बन्ध धेरै दिनसम्म टिकेन। आफन्तका माध्यमबाट खोजिएकी बेहुली मानसिक रोगी रहिछन्। बाध्यतावश सम्बन्ध–विच्छेद भयो।

सम्बन्ध–विच्छेद गरेका दुवै केटी पक्ष अर्थात् माया र सुस्मिताका आफन्तले ६ वर्षदेखि करोड हाराहारीमा सम्पत्ति माग गर्दै आएका छन्।

पछि २०७१ मंसिर ११ गते नवलपरासी गैंडाकोटकी सुस्मितासँग कृष्णप्रसादको दोस्रो बिहे भयो। तर सम्पत्तिको प्रलोभनमा परेर बेहुलाका केही आफन्त र बेहुली पक्षकाले केटीलाई फकाएर ‘नाटकीय रूपमा’ बिहे गर्न लगाएका रहेछन्। विवाहको दुई–चार दिनमै केटी ९बेहुली० ले केटा (बेहुला)सँग विवाहअघि नै आफ्नो अर्को केटासँग ‘अफेयर’ चलेको जानकारी गराउँदै छुट्ने संकेत दिइन्। बेहुलीले अफेयर चलेको भनिएको केटाको फोटोसमेत देखाएपछि कृष्णप्रसादले सो कुरा परिवारलाई सुनाएका थिए। विवाह भएको साता दिन नबित्दै त्यस्तो खबर सुन्दा परिवारमा नयाँ बुहारी भिœयाएको खुसी क्षणभरमै टुट्यो। बेहुली सुस्मिताले अरूलाई थाहै नदिई सम्बन्ध–विच्छेद गरौं भन्ने माग गरेपछि कृष्णप्रसादले काठमाडौं जिल्ला अदालतमा गएर सम्बन्ध–विच्छेद गरे। सम्बन्ध–विच्छेद भएको केही दिनपछि बेहुली पक्षले कृष्णप्रसादसँग सम्पत्ति माग ग-यो। घटना घटनापछि भएको सम्पत्ति मागले गौतम परिवार छक्क प-यो।

लामो समय विदेश बसेर आएको यो परिवारलाई आफन्तले नै फसाएको पाइएको छ। बेहुली खोजिदिन लमीले केटीको पारिवारिक र चारित्रिक पक्ष लुकाएर बिहे गरिदिएको कृष्णप्रसादका बुबा काशीराम बताउँछन्। ‘आफन्तलाई साक्षी राखेरै बिहे गरियो। सबै ठीकठाक होला भन्ने लाग्यो,’ उनले भने, ‘विवाहको दुई–चार दिनपछि त छोराको विवाह सपनाजस्तै लाग्न थाल्यो।’ उनले घरमा धार्मिक सप्ताह र चाडबाडका बेलासमेत केटी पक्षका आफन्तले पैसा र सम्पत्ति मागसहित अवरोध गर्दै आएको गुनासो गरे। उनका अनुसार बिहेमा बेहुली पक्षले गरगहना पनि धेरै माग गरेकाले पैसा बढी खर्च भएको थियो। तर ‘लुट्ने नियत’ ले बिहेको बहाना बनाएर गरगहना र सम्पत्ति माग गर्दै आएको काशीरामको गुनासो छ। उनका अनुसार सम्बन्ध–विच्छेद गरेका दुवै केटी पक्ष अर्थात् माया र सुस्मिताका आफन्तले ६ वर्षदेखि करोड हाराहारीमा सम्पत्ति माग गर्दै आएका छन्।

उनीहरूले केटाको घर पुगेर, धम्क्याएर र डर देखाएर सम्पत्ति र पैसा माग गर्दै आएका छन्। तर झुक्याएर बिहे गरेकाले धेरै सम्पत्ति र नगद दिन नसक्ने काशीराम बताउँछन्। गत जेठमा उच्च अदालतले केटाको पक्षमा फैसला गरिसकेको अवस्थामा पनि केटी पक्षका आफन्तले अनेक दुःख दिने गरेको गौतम परिवारले जनाएको छ। यता सम्बन्ध–विच्छेद गरेर बसेकी सुस्मिताका बुबा मोतीप्रसाद अधिकारीले विवाह प्रक्रियाअनुसार गरिएको भए पनि केटा पक्षकाले व्यवहार राम्रो नगरेकाले सम्बन्ध–विच्छेदको स्थिति सिर्जना भएको बताए। ‘उहाँहरू आफ्नो समस्या सुनाउँदै हिँड्नुहुन्छ, केटा पक्षको कारणले बिहे गरेको सात÷आठ दिनमै डिभोर्सको स्थिति बनेको हो, होइन भने त्यति तामझामले गरेको बिहे बेहुला–बेहुलीबीच राम्ररी चिनजान नहुँदै किन डिभोर्समा परिणत हुन्थ्यो होला रु’ उनले सम्बन्ध–विच्छेदपछि तनाव कम गर्न र पढाइको सिलसिलामा अस्मितालाई अस्ट्रेलिया पठाएको जानकारी दिए।

सम्बन्ध–विच्छेदपछि सम्पत्ति माग गर्दै आएको मायाको परिवारले बिहेपछिको वातावरण ठीक नभएकाले सम्बन्ध–विच्छेद गर्नुपरेको बतायो। ‘केटा पक्षकाले अनेक आरोप लगाएपछि सम्बन्ध–विच्छेद भएको हो,’ मायाका बुबा दीनानाथ बरालले भने। उनले छोरीको सम्बन्ध–विच्छेदपछि पाउनुपर्ने सम्पत्ति र पैसा माग गरेको बताए। छोरी माया हाल अध्ययन गरिरहेको उनको भनाइ छ।

प्रकाशित: ४ असार २०७६ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App