१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रसुवागढी नाकामा तीन विकल्प : अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

रसुवा - रसुवागढी नाकाको विकासका लागि तीनवटै विकल्प अघि सारिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। चीनसँग व्यापार बढाउनका लागि नाका जोड्ने सडकको स्तरोन्नति, सुरुङ तथा रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको उनले बताए। अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार नाका जोड्ने गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी सडकखण्ड स्तरोन्नतिको काम तत्काल सुरु हुनेछ।

सो सडकखण्डमा शुक्रबार गरिएको अनुगमनपछि अर्थमन्त्री खतिवडाले स्तरोन्नतिको काम तत्काल अघि बढ्ने बताए। अन्य विकल्प भए पनि सडकको महŒव नघट्ने उल्लेख गर्दै उनले भने, ‘सुरुङ मार्ग निर्माणले सडकको औचित्य कम हुँदैन। जमिन माथिबाट स्थानीयको आवतजावत र जलविद्युत् आयोजनाको सामग्री ल्याउन सहयोग पुग्छ।’ रसुवागढी काठमाडौं जोड्ने यो सडक सरकारको प्राथमिकतामा परेको छ। रसुवागढी काठमाडौंबाट नजिक र सम्भावना बोकेको नाका हो। सुरुङ निर्माण गर्न प्रतिकिलोमिटर तीन अर्बका दरले एक खर्ब रुपैयाँ लाग्ने अनुमान छ। बेत्रावती–स्याफ्रुबेंसी खण्डमा निर्माण हुने सुरुङ करिब ३४ किलोमिटर लामो हुनेछ। चीनसँग व्यापार वृद्धि गर्न सरकारले उत्तरी नाका व्यवस्थापनमा ध्यान दिएको तथा सडक पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको अर्थमन्त्री खतिवडाले बताए। उनले तातोपानी नाकामा केही समयभित्रै अध्यागमन कार्यालय सञ्चालन हुने पनि बताए।

नाकामा हुने चोरी पैठारी नियन्त्रण गरेका कारण आयातमा वृद्धि भएको उल्लेख गर्दै उनले सरकारले भन्सार कार्यालयलाई आधुनिकीकरण गर्ने प्रक्रिया अघि बढाएको बताए। नाकामा हुने चोरी पैठारीका कारण राज्यले धेरै घाटा बेहोर्नुपरेको अर्थमन्त्रीको भनाइ छ। यसैगरी, रसुवागढी नाकामा हुँदै आएको पोके–व्यापार न्यूनीकरण गर्दै लगिएको रसुवागढी भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। ‘यहाँ यसअघि पोके–व्यापार प्रमुख चुनौतीको रूपमा देखिएको थियो,’ उनले भने, ‘यसलाई हामीले न्यूनीकरण गर्दै लगेका छौं।’

रसुवागढी नाकाको नेपालतर्फको भूभागमा टहराबाट सेवा प्रवाह गर्न कठिनाइ हुनेगरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘नेपालको भूभागमा सानासाना टहराबाट सेवा प्रवाह गर्नु परिरहेको छ,’ उनले भने, ‘यसको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्छ।’ रसुवागढी नाकामा निर्माण हुन लागेको एकीकृत भन्सारको शिलान्यास गर्न शुक्रबार यहाँ आएका मन्त्री खतिवडाले रसुवागढी नाका, रसुवागढी भन्सार, रसुवागढी जलविद्युत् आयोजना, माथिल्लो त्रिशुली ए र गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी सडकखण्डको अवलोकन गरेका थिए।

प्रकाशित: १ असार २०७६ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App