१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

घाइते महिलालाई विमान चार्टर गरेर उद्दार

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमान चार्टर गरेर घाइतेको उद्दार गरेको छ। भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बुढीनन्दा नगरपालिका–४ कुरुकी सरिता रोकायाको विमान चार्टर गरेर उद्दार गरिएको हो।

रोकायाको कोल्टी विमान स्थलबाट समिट एयरको विमानबाट नेपालगञ्ज रिफर गरिएको ४ नम्बर वडाका अध्यक्ष राजन कुमार रोकायाले बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार संभव नभएपछि विमान चार्टर गरेर उपचारका लागि नेपालगञ्ज रिफर गरिएको रोकायाको भनाई छ।

जिल्ला बाहिर लैजान स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री प्रकाश शाहलाई अनुरोध पछि तत्काल विमान चार्टर गर्न लगाएर घाइतेको उद्दार गरिएको हो।

प्रदेश सरकारले सुत्केरी तथा गर्भवतीका हकमा सामाजिक विकास मन्त्रालय र अन्य विपद तथा प्रकोपबाट प्रभावितहरुका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत उद्दार सहयोगको कोष निर्माण गरेको छ। कानुन मन्त्रालय अन्र्तगत काम थालिएपछि बाजुराको कोल्टीबाटै पहिलो घाइतेको उद्दार गरिएको मन्त्रीका प्रमुख स्वकिय सचिव जंगबहादुर विकले बताएका छन्।

२४ वर्षकी सरिता रोकायाको टाउकोमा गम्भीर चोट लागेको थियो। विमान चार्टर नगरिए ज्यानसमेत जान सक्ने अवस्था भएकोले मन्त्री ज्यूसँगको अनुरोध पछि तत्काल विमान पठाएर नेपालगञ्ज पठाइएको वडा अध्यक्ष राजन कुमार रोकायाले बताएका छन्।

विमान चार्टरको सम्पूर्ण खर्च मन्त्रालयले नै बेहोर्ने भएको छ। यस अघि पनि बाजुराबाटै प्रदेश सरकार सामाजिक विकास मन्त्रायलयको सहयोगमा ५ जनाको हेलिकप्टरमार्फत उद्दार गरि उपचार गरिएको छ। परिवारको अवस्था सामान्य मेडिकलमा उपचार गराउन सक्ने समेत छैन्, सरकारले नै अभिभावकको भूमिका खेलेको प्रति परिवार तथा आफन्तहरु खुसी भएका छन्। बाँच्ने आशसमेत गुमाएका आफन्तहरु विमान चार्टरपछि नेपालगञ्ज पुगेर उपचार सुरु हुँदा निकै खुसी भएका छन्।

प्रदेश सरकारको सहयोग र बुढीनन्दा नगरपालिकाको सहकार्य तथा जिल्लाबाटै प्रतिनिधित्व गर्ने मन्त्री प्रकाश शाह र सांसद बलदेव रेग्मीले मुख्य भूमिका निर्वाह गरेका हुन्। दुर्गमको समस्यालाई ध्यानमा राखेर राज्यले गरेको निर्णय स्वागत योग्य रहेको स्थानीयको प्रतिक्रिया छ।

बाजुराबाटै यो सहित ६ जनाको उद्दार गरिएको छ। जिल्लामा सुविधा सम्पन्न मेडिकल तथा स्वास्थ्य संस्था छैनन्, आफै ठूलो धनराशी खर्च गरेर उपचार गर्ने, हेलिकप्टर तथा विमान चार्टर गर्ने अवस्था नहुँदा ज्यान गुमाउनुको विकल्प थिएन्, तर प्रदेश सरकारले गरेको निर्णयले नयाँ जीवन पाएका छन्।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ११:०७ सोमबार

सुदूरपश्चिम_प्रदेश आन्तरिक_मामिला_तथा_कानुन_मन्त्रालय विमान_चार्टर घाइते_महिला