धानगढी - धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ। ठेक्का सम्झौताअनुसार निर्माण गर्ने अवधि सकिँदासमेत करिब ३० प्रतिशत मात्र काम भएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडक लामो समयसम्म निर्माणाधीन अवस्थामा हुँदा आवतजावत गर्नेलाई सास्ती भएको छ।
सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टका कारण दुर्घटना हुने दर बढेको छ। सडक धुलाम्य हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ। धुलोले व्यवसायी, स्थानीय तथा यात्रु विभिन्न रोगको संक्रमणमा समेत पर्ने गरेका छन्। ‘आयोजना र ठेकेदारको चरम लापरबाहीका कारण निर्माणको काम समयमा सम्पन्न नहुँदा हामी सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेको छ,’ धनगढी वोराडाँडीका हेमराज पाण्डेयले भने। सो सडक–खण्डमा यसअघिको कालोपत्रे भत्काएर कालोपत्रे हुने क्षेत्रभित्र ग्राभेल हाल्ने काम भइरहेको छ। समयमा निर्माण सम्पन्न नहुँदा ठाउँठाउँमा रहेका खाल्डा र निर्माणाधीन कल्भर्टका कारण मोहनापुल–अत्तरिया खण्डमा दुर्घटना बढेका छन्। दुर्घटनामा परी अहिलेसम्म ६ जनाको अकालमै ज्यान गएको छ भने कयौं घाइते भएका छन्।
सडकमा निर्माणाधीन अवस्थामा रहेका कल्भर्टमा धेरै पटक सवारी दुर्घटना भइसकेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक र कल्भर्ट निर्माण सुरु भएयता दुर्घटनामा परी मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका–३ का २६ वर्षीय टेकबहादुर बलायर, कञ्चनपुर गुलरियाका ३० वर्षीय सञ्जिव राजी, धनगढी उपमहानगरपालिका–४ का भूपेन्द्र रावत, धनगढी–४ का २७ वर्षीय अशोक पाण्डे र २० वर्षीय सागर चौधरीसहित ६ जना छन्। ‘निर्माणमा भएको ढिलासुस्ती र निर्माण कम्पनीको लापरबाहीले यो सडक एम्बुससरह बनेको छ,’ स्थानीय दलबहादुर बोहराले भने।
मोहनापुल अत्तरिया ६ लेन सडक योजनामा तीन वर्षको अवधिमा चारजना प्रमुख बदलिएका छन्। सुरुवातमा नवीनमान श्रेष्ठलाई प्रमुखको जिम्मेवारी दिइएकोमा त्यसपछि मनिष शाह, राजेश पौडेल र अहिले हेमबहादुर केसी कार्यरत छन्। आयोजना प्रमुखको सरुवाले पनि निर्माणको काममा प्रभाव पर्ने गरेको एक कर्मचारी बताउँछन्। ‘नयाँ प्रमृुखलाई केही समय बुझ्नै लाग्छ, सरुवा भएको अवधिमा पनि काम प्रभावित हुने गर्छ,’ उनले भने।
२० महिना म्याद थप गर्न माग
ठेक्का सम्झौताअनुसार छ लेनको निर्माण काम सिध्याउने म्याद जेठ महिनामा समाप्त हुँदै छ। हजारौं सर्वसाधारणलाई धुलो, धुँवालगायत सास्ती दिनेगरी निर्माणमा चरम लापरबाही गर्ने कम्पनीलाई सजाय दिने र सचेत गराउने काम आयोजनाले गरेको छैन। उल्टै निर्माण कम्पनीले २० महिना अझै म्याद थप गर्न माग गरेको छ। निर्माण सम्झौता भइसकेपछि छ लेन सडकमा परेका रुख समयमै कटान नहुनु, विद्युत् र टेलिफोनका पोल, खानेपानीका पाइप समयमै नसारिँदा आयोजनाको अवधि लम्बिएको कारण जनाउँदै निर्माण कम्पनीले म्याद थपको निवेदन दिएको हो।
‘निर्माण कम्पनीले १८ देखि २० महिनासम्म म्याद थपका लागि माग गरेर निवेदन दिएका छन्’ आयोजना प्रमुख केसीले बताए। सम्झौताअनुसार दुई वर्षभित्र आयोजनाको निर्माण अवधि जेठमा सकिँदै छ। अहिलेसम्म भुक्तानीको हिसाबले २८ प्रतिशत र भौतिक रूपमा ४२ प्रतिशत प्रगति भएको आयोजना प्रमुख केसीले भनाइ छ।
धनगढी भन्सार रोडदेखि अत्तरिया चोकसम्म १४ दशमलव दुई किलोमिटर लामो छ लेन सडक तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ। धनगढी बोराडाँडीदेखि मोहनपुरसम्म साढे चार किलोमिटर दोस्रो खण्ड र मोहनपुरदेखि अत्तरियासम्मको पाँच दशमलव दुई किलोमिटर तेस्रो खण्डको निर्माण अवधि जेठ १६ मा सकिएको छ। भन्सार रोडदेखि बोराडाँडीसम्मको पहिलो खण्डको सम्झौता अवधि २५ जेठमा सकिने केसीले बताए। म्याद थप गर्न मागसहित आवेदन दिए पनि अहिलेसम्म म्याद थप नगरिएको उनले बताए। ‘विभाग र मन्त्रालयसम्म फाइल पुगेर म्याद थप्ने निर्णय हुन सक्छ,’ उनले भने, ‘उनीहरूले माग गरे अनुसार म्याद थप नहुन सक्छ।’
दोस्रो र तेस्रो खण्डमा राजेन्द्र निर्माण सेवाले ठेक्का लिएको थियो भने पहिलो खण्ड निर्माण ठेक्का नागार्जुन कन्ट्रक्सनले लिएको थियो। एक अर्ब ६८ करोड रुपैयाँ लागत रहेको यो सडक आयोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालित ठूला आयोजनामध्ये एक हो। धनगढीको प्रवेशद्वार अत्तरिया र गौरीफन्टा नाकासँग जोडिएको मोहना अत्तरिया छ लेन सडक निर्माणको काम परियोजनाअन्तर्गत शूुन्यदेखि साढे चार किलोमिटरसम्म ५८ करोड १७ लाख रुपैयाँ, साढे चारदेखि नौ किलोमिटरसम्म ५२ करोड १४ लाख र नौदेखि १४ किलोमिटरसम्म ५८ करोड ३३ लाख रुपैयाँमा ठेक्का दिइएको हो। मोहना अत्तरिया सडकमा मनहरा, गेटा र मोहनामा गरी तीन ठूला पुल बन्नेछन्। यी पुल बनाउने काम पनि बाँकी नै छ। कम पानी बग्ने नालाहरूका कल्भर्ट बनाउने काम भने भइरहेको छ।
सडक वरिपरि घना बस्ती भएको क्षेत्रअन्तर्गत १० किलोमिटर क्षेत्रमा छ लेनको सडक निर्माण गरिँदै छ भने कम घना बस्ती भएका क्षेत्रहरूमा चार दशमलव १७ किलोमिटर क्षेत्रमा चार लेन सडक बन्नेछ। धनगढीको प्रवेशद्वार र गौरीफन्टा नाकासँग जोडिएको महत्त्वपूर्ण यो सडक छ लेनको भएमा यहाँको विकासले फड्को मार्ने आशा गरेका स्थानीय निर्माणमा भएको लापरबाहीले निराश भएका छन्। ‘सडक बन्न थाल्दा विकासले फड्को मार्छ भनेर खुसी भएका थियौं। दुई वर्ष बित्दा पनि आधा काम भएको छैन,’ स्थानीय शेरबहादुर चौधरीले भने, ‘धुलोले हामी सर्वसाधारण हिँड्नै नसकिने भएको छ।’
भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडाइ रहने सो सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ। उक्त सडकको दुवै साईडतिर तीन÷तीन मिटर फुटपाथ रहने र सडकभित्र तीन वटा पुल बनाइने डिजाइन छ।
प्रकाशित: १९ जेष्ठ २०७६ ०२:२२ आइतबार