१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माेबाइल र टीभीकाे लत बालबच्चालाई घातक

ताप्लेजुङ– बालबच्चा रुन र कराउन थालेर तपाईंलाई झ्याउँ–झ्याउँ गर्न लागे भने तपाईं मोबाइल दिएर वा टिभी हेर्न लगाएर उनीहरूको रोइ–कराइ बन्द गराउने प्रयास गर्नुहोला। तर यही कार्यले तपाईंका बच्चाको आँखामा रिफ्याक्टिक इरर अर्थात् दृष्टिदोष देखिएर आँखाको ज्योतिमा गम्भीर असर पुग्न सक्ने भन्दै विज्ञहरूले त्यस्तो कार्य तुरुन्त बन्द गर्न बच्चाका अभिभावकलाई सुझाएका छन्।

सुनसरीस्थित इटहरी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. ईशा कार्कीका अनुसार ८ देखि १० वर्षसम्मका बालबच्चा त झन् यो समस्या विकराल बन्दै गइरहेको छ। कार्कीले यो उमेरमै दृष्टिको विकास हुने भएकोले यस्ता कार्यले कलिलै उमेरमा आँखाको ज्योतिमा समस्या देखा पर्ने भन्दै अभिभावक बढी संवेदनशील हुनुपर्ने बताइन्।

उनले पछिल्लो समयमा कम्प्युटर भिजन सिन्ड्रोमको असरसमेत देखिन थालेको भन्दै यसको असरबाट टाढा रहन बच्चाका अभिभावकले मुख्य भूमिका निर्वाह गर्नुपर्ने समेत सुझाएकी छन्। उनका अनुसार कम्प्युटर भिजन सिन्ड्रोमका कारण आँखा सुख्खा हुने, चिलाउने, रातो हुने जस्ता प्राथमिक समस्या हँुदै जटिल खराबीसमेत देखा पर्ने भएकोले बालबच्चालाई कम्प्युटर, मोबाइल र ट्याबलेट जस्ता उपकरणबाट भरसक टाढा राख्नुपर्ने बताइन्।

यहाँस्थित नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङका अनुसार चालु महिनामा मात्रै दृष्टिदोषको समस्या लिएर उपचारका लागि आउने बच्चाको संख्या निकै ठूलो रहेको छ। चालु मे महिनाको २७ तारिकसम्ममा डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा उपचारका लागि आएका ५ सय ६५ जनामध्ये १५ वर्षमुनिका १ सय ३१ जना बिरामी आँखाको समस्या लिएर आएका छन्। ७१ जना बालक र ६० जना बालिका आँखासम्बन्धी रोग लिएर उपचारका लागि क्लिनिकमा आएको उनले जानकारी दिए।

गत अप्रिल महिनामा भने ५ सय ८५ जनाको आँखाको उपचार गरिएकोमा १ सय ३७ जना १५ वर्षमुनिका बालबच्चा रहेको गुरुङले बताए। उनका अनुसार यो संख्या अपेक्षाकृतभन्दा बढी हो। विगतमा मासिक १२–१३ जना बालबच्चाले मात्र आँखाको समस्या लिएर उपचारका लागि आउने गरेकोमा पछिल्लो समय यो संख्या निकै ठूलो मात्रामा बढेको उनले जानकारी दिए। यो सबै समस्याको मूल जड कम उमेरमै मोबाइल, टिभी, कम्प्युटर, ट्याबलेट र ल्यापटप जस्ता विद्युतीय उपकरणको बढी मात्राको लत रहेको गुरुङको निश्कर्ष छ।

गुरुङले यही समस्याका कारण मोतियाविन्दुको समस्या देखापर्ने भन्दै कम्तीमा ८ वर्ष उमेर समूहभन्दा तलका बालबच्चालाई मोबाइल, टिभी, ल्यापटप र ट्याबलेट जस्ता विद्युतीय उपकरणभन्दा टाढा राख्न आग्रह गरेका छन्। दृष्टिदोष देखिएका बालबच्चाको आँखाको ज्योतिमा गम्भीर प्रकृतिका रोगहरूको प्रत्यक्ष प्रभाव पर्ने भएकोले अभिभावकले अब बालबच्चा फकाउने क्रममा मोबाइल वा ट्याबलेट दिने र टिभी हेर्न लगाएर अल्मल्याउने प्रवृत्ति त्याग्नुपर्ने गुरुङको भनाइ छ।

नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका अनुसार सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बालबच्चामा देखिने दृष्टिदोष अनुपातका हिसाबले कम पाइएको छ। ग्रामीण क्षेत्रमा सञ्चालन गर्दै आएका घुम्ती शिविरका क्रममा सहरी क्षेत्रमा यो समस्या बढी पाइएको परीक्षणमा संलग्न आँखा प्राविधिक काजी थेवेले जानकारी दिए। सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा बालबच्चामा मोबाइल, टिभी, ल्यापटप र ट्याबलेटजस्ता उपकरणको प्रभाव र उपयोग कम हुने भएकोले पनि अवस्थामा भिन्नता पाइएको क्लिनिक इञ्चार्ज गुरुङले ठम्याए।

सिरिजङ्घा र पाथीभरा याङ्वरक गाउँपालिकाको घरबस्ती घुम्ती शिविरभन्दा फुङ्लिङ बजारभित्र सञ्चालन गरिएको आँखा परीक्षण शिविरमा आँखामा समस्या देखिएका बालबच्चा बढी भेटिएको परीक्षण तथ्यांकले देखाएको छ। यही क्रममा नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रले नाङ्खोल्याङका १० वटा विद्यालयमा आँखाको परीक्षण सञ्चालन गरेको थियो, त्यहाँ परीक्षण गरिएका ७ सय २० मध्ये १५ वर्षमुनि उमेर समूहका १९ जना प्रभावित भएको पाइएको छ। फुङ्लिङस्थित कञ्चनजंघा माविका ४ सय ३४ जना विद्यार्थीको आँखा परीक्षणका क्रममा २५ जनामा बढी मात्रामा आँखाको समस्या पाइएको समेत परीक्षणमा संलग्न आँखा प्राविधिकले जनाएका छन्।

सहकारीले सञ्चालन ग-यो आँखा शिविर
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङमा बृहत् आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। यहाँस्थित ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा परीक्षण तथा स्वास्थ्य शिविरमा नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरूले परीक्षण तथा उपचार प्रदान गरेका थिए।

नाङ्खोल्याङभरका १० वटा विद्यालयका विद्यार्थीको विद्यालयमै गएर आँखा परीक्षण गरिएको थियो भने स्थानीय स्वास्थ्य संस्थामा एकीकृत शिविरमार्फत सेवा प्रदान गरिएको आयोजक ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टामन सिग्देलले जानकारी दिए। उनका अनुसार सो शिविरमार्फत ७ सय २० जनालाई आँखाको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ। नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजी थेवेका अनुसार सो परीक्षणका क्रममा ९ जना मोतियाविन्दुका बिरामी भेटिएका छन् भने १४ वर्षमुनि उमेर समूहका आँखाका संवेदनशील रोगीलाई शीघ्र उपचारका लागि इटहरी आँखा अस्पताल रेफर गरिएको छ। नेत्र ज्योति संघ ताप्लेजुङ, धनकुटा र संखुवासभाले मिलेर सेवा फाउण्डेसनको सहयोगमा अघिल्लो वर्षबाट इटहरीमा आँखा अस्पताल सञ्चालनमा रहेको छ। शिविरमा ५७ जनालाई निःशुल्क चश्मासमेत वितरण गरिएको ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App