१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो। विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सो विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई रिपोर्टिङ गरेका थिए।

‘पुरानो जनयुद्धको रूपलाई गाउँभन्दा सहरकेन्द्रित गरेर आफूलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेको सूचना मुख्यसचिव रेग्मीलाई दिइएको छ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरूको आउजाउ बढेको, बैठक भेलाहरू सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरू अघि बढेको भन्ने सूचना दिइएको हो।’

राष्ट्रिय अनुसन्धान विभाग नेपालको प्रमुख गुप्तचर निकाय हो। त्यसले अहिले हरेक सूचना संकलन गरेर प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गर्ने गरेको छ। सो विभागले प्रत्येक दिन बुझाउने खामबन्दी रिपोर्टचाहिँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई बुझाउने गरेको छ। रिमाललाई नै बुझाइने रिपोर्ट गृह मन्त्रालयमा पनि खामबन्दी गरेर पठाइन्छ। तर गम्भीर चासोको विषयलाई भने विभागीय प्रमुख अधिकारीले मुख्यसचिवलाई नै बुझाउने गरेका छन्।

अनुसन्धान विभागबाट आएको रिपोर्टलाई गृह मन्त्रालयअन्तर्गतको सुरक्षा संयन्त्रले विश्लेषण गरेपछि आवश्यकताअनुसार सुरक्षाककर्मी परिचालन गरिन्छ। ‘हामीले सूचनामात्र दिने हो। त्यसको विश्लेषण र सुरक्षकर्मी परिचालन गर्ने निकाय अर्कै हुन्छ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘काठमाडौंमा विप्लव गतिविधि एक साताअघिबाटै बढेको हो। हाम्रो संयन्त्रले जे सूचना ल्यायो, त्यही सूचना प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गरेका हौं।’ स्रोतका अनुसार भोजपुरमा प्रहरी कारबाहीमा गोली लागेका तीर्थराज घिमिरेको मृत्युदेखि नै उनीहरू राजधानी र देशका ठूला सहरकेन्द्रित गुुप्त गतिविधिमा संलग्न थिए। तर यो विषयलाई प्रधानमन्त्री कार्यालयले बेवास्ता गरेको र राष्ट्रिय अनुसन्धानको सूचनालाई कमजोर ठानेकाले काठमाडौंमा विस्फोटका घटना भएको स्रोतको दाबी छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले संवेदनशील विषयमा मुख्यसचिव रेग्मी र राष्ट्रिय अनुसन्धान प्रमुखबीच नै कुराकानी हुने भएकाले आफूलाई जानकारी नहुने बताए। ‘राष्ट्रिय अनुसन्धान विभागको सूचना कार्यान्वयन गर्ने र निर्देशन दिने कार्य मुख्यसचिवसँग जोडिने भएकाले प्रधानमन्त्री कार्यालयका सचिवहरूलाई केही जानकारी हँुदैन,’ उनले भने। अनुसन्धान विभागले दिने सूचनामा ‘पिनप्वाइन्ट’ नहुने भएकाले प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ लिने नगरेको अनुसन्धान विभागबाट अवकाशप्राप्त एक डिआइजीले उल्लेख गरे। ‘पिनप्वाइन्ट नगरिनाले त्यो व्यावहारिक नहुने ठानेर चासो दिइएको पाइँदैन,’ उनले भने, ‘यस्तो हेलचक्र्याइँ पहिले पनि हुने गरेको थियो।’ उनका अनुसार निजामती कर्मचारीले यस्तो सूचना सम्बन्धित निकायमा जाहेर नै गर्दैनन्।

अनुसन्धान विभागले दिने सूचनामा ‘पिनप्वाइन्ट’ नहुने भएकाले प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ नलिने अनुसन्धान विभागको अनुभव छ।

नेपाल प्रहरीले गुप्तचरको यस्तो रिपोर्टबारे जानकारी नभएको जनाएको छ। ‘हाम्रो आफ्नै संयन्त्र छ, त्यहीअनुसार सूचना संकलन, विश्लेषण र प्रहरी परिचालन हुन्छ,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने। तर प्रहरीको विशेष ब्युरोले पनि यो विषयमा कुनै सुराक फेला पारेन। अनुसन्धान विभाग स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीको गतिविधिबारे सीधै अनुसन्धान विभाग प्रमुखसँग पनि कुरा गर्ने गरेका थिए। प्रधानमन्त्री भियतनाम भ्रमणबाट फर्केपछि उनलाई अधिकारीले दुईपटक भेटेका थिए।

तर पछिल्लो गतिविधिबारे प्रधानमन्त्रीसँग छलफल नभएको र मुख्यसचिवलाई नै जानकारी गराइएको बताइएको छ। ‘प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको हो, प्रधानमन्त्रीलाई जानकारी गराउने काम मुख्यसचिवको हो,’ स्रोतले भन्यो।

१० फागुनमा नक्खुस्थित एनसेल कार्यालय र टावरहरूमा आक्रमण भएपछि पनि अनुसन्धान विभागले सो घटनाको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएको भनेर पन्छिएको थियो। त्यसपछि प्रधानमन्त्री ओली आफैले अनुसन्धान विभाग प्रमुखलाई बोलाएर रिपोर्टिङ लिने र त्यहीअनुसार गृह मन्त्रालयलाई निर्देशन दिने गरेका थिए। सो समूहले आतंककारी गतिविधि गरेको भन्दै फागुन २८ गते उसका गतिविधिलाई प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्ध लगाएलगत्तै प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो। देशभरबाट दुई सयभन्दा बढी विप्लव समूहका नेता पक्राउ परे पनि अदालतको आदेशबाट छुट्ने गरेका छन्।

यसैबीच, विस्फोटमा संलग्न रहेको भन्दै विप्लव समूहका १५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ। विप्लव समूहले हिंसात्मक ध्वंसात्मक गतिविधिबाट आफ्नो अभीष्ट पूरा नहुने जनाउँदै मन्त्रालयले कानुनविरोधी कार्य क्षम्य नहुने जनाएको छ। मन्त्रालयले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

मारिने सबै विप्लव कार्यकर्ता भएको स्वीकार

विप्लव समूहले आइतबार काठमाडौंमा भएको बम विस्फोटमा परी मर्ने सबै आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ। सोमबार साँझ विज्ञप्ति प्रकाशित गर्दै विस्फोटमा मारिने चारमध्ये एकजना ‘जनसेना कमान्डर’ समेत भएको जनाएको छ। समूहका महासचिव नेत्रविक्रम चन्दले सोमबार साँझ विज्ञप्ति जारी गर्दै विस्फोटमा मृत्यु हुने चारैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए।

विप्लव समूहले सो घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताएको छ। बम विस्फोट हुँदा सुकेधारामा कालिकोटका विभुराम भन्ने दीपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल राना मगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। घट्टेकुलो विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७६ ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App