४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अझै असुरक्षित गर्भपतन

खोटाङ – जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जिल्ला अस्पताल खोटाङले मंगलबार आयोजना गरेको समुदायस्तरमा सुरक्षित गर्भपतन सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था भए पनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेको उनीहरूको भनाइ छ।

जनतेचनाको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको जिल्ला अस्पतालकी स्टाफ नर्स सिर्जना पौडेलले बताइन्। आर्थिक वर्ष २०७४/७५ मा जिल्ला अस्पतालबाट दुई सय १६, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीबाट १२, दुर्छिम स्वास्थ्य चौकीबाट ६८, स्वास्थ्य चौकी साउनेचौरबाट ३१, बाक्सिला स्वास्थ्य चौकीबाट १५ र स्वास्थ्य चौकी बड्कादियालेबाट नौ जनाले सुरक्षित गर्भपतन गराएको भए पनि असुरक्षित गर्भपतन गराउनेहरू धेरै रहेको जिल्ला अस्पतालले जनाएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क, स्वास्थ्य चौकी लामीडाँडा, स्वास्थ्य चौकी निर्मलीडाँडा र स्वास्थ्य चौकी ओख्रेडाँडागाउँमा सो आर्थिक वर्ष कुनै पनि महिलाले गर्भपतन नगराएको जानकारी दिइएको छ। सूचीकृत स्वास्थ्य संस्था हुँदाहुँदै पनि कतिपय महिलाले दिक्तेलबजार लगायतका विभिन्न क्लिनिकमा सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरिएको जनाइएको छ। त्यस्ता स्वास्थ्यकर्मीबाट जथाभावी गर्भपतन गराउँदा अधिक रक्तश्राव हुने, पाठेघरमा संक्रमण फैलिने, अंगभंग हुने, बाँझोपना हुने, पाठेघरमा प्वाल पर्ने, बिकलांग बच्चा जन्मिने, मृत्यु हुनेलगायत समस्या देखिएको स्टाफ नर्स पौडेलले बताइन्। ‘जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र र सात स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था छ,’ पौडेलले भनिन्, ‘तर सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने र समस्या भएपछि जिल्ला अस्पतालमा आउने दिदिबहिनीको संख्या धेरै पाएका छौं।’

सुरक्षित गर्भपतन गराएर मातृ मृत्युदर न्यूनीकरणका लागि जिल्ला अस्पतालले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र क्लिनिक सञ्चालकलगायतलाई राखेर सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रम गरेको हो। ७ प्रतिशत मातृ मृत्युदर असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यलाई ध्यानमा राखेर सचेतनामूलक कार्यक्रम राखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन देवकोटाले बताए। सुरक्षित गर्भपतनको व्यवस्था भए पनि लिंग पहिचान गरेर गर्भपतन गराउनु कानुन वर्जित हुने एमडिजिपी डाक्टर नारायण बरालले बताए। ‘अहिले पनि सरकारबाट मान्यता प्राप्त नभएका स्वास्थ्य संस्था र सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरिएको पाइएको छ,’ डा. बरालले भने।

प्रकाशित: ८ जेष्ठ २०७६ ०३:१९ बुधबार

स्वास्थ्यकर्मी स्वास्थ्य_संस्था गर्भपतन