१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चार वर्षदेखि धराप ठेचो–चापागाउँ सडकखण्ड

ललितपुर– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास छिर्ने ढोलाहिटी सडकखण्डकै साम्पाङचोकदेखि भित्र करिब ७ सय मिटर सडक गत दश महीनामा दुईपटक कालोपत्रे भइसक्यो। तर, त्यही सडकखण्ड हुँदै ललितपुरको ठेचो र चापागाउँ निस्कने सडकको हालत चार वर्षदेखि खराब छ। क्षेत्रका स्थानीयवासीले कालोपत्रको माग राख्दै मुख्य सडक नै छेकेर चार दिनदेखि प्रदर्शन गरिरहे तापनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन।

चार वर्षयता खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य सडकको सामना गर्दै आएका स्थानीयवासीले आइतबारदेखि बुधबारसम्म गाडी ठप्प पारी आन्दोलित बने। बुधबार ठेकेदार कम्पनी, गोदावरी नगरपालिका र स्थानीयबीच तल्काल समस्या टार्नका लागि खाल्डाखुल्डी पुर्ने र पातलै भए पनि कालोपत्र गर्ने सहमति भएको छ। गोदावरी नगरपालिकाअन्तर्गत यो सडक ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्डभित्र पर्दछ। दैनिक कामकाज छोडेर सडक आन्दोलनामा उत्रिएको स्थानीयको हुल बुधबार गोदावरी नगरपालिका पुगेको थियो।

नगरपालिकासमक्ष सडक सुधारको माग राख्दै दिनभर प्रर्दशन गरे पनि नगरपालिकाले ठोस निर्णय गर्न नसकेको सडक संघर्ष समितिका संयोजक शेखर न्यौपानेले बताए। उनले भने, ‘हामीले सडक बनाउन चार वर्षदेखि संघर्ष गर्दै आएका छौं तर जिम्मेवार निकायले हाम्रो गुनासो सुनेन। त्यसैले सडकमा आउन बाध्य भयौं।’ उनका अनुसार चापागाउँदेखि सुनाकोठीको सडक मंगलबार खुलेको थियो भने ठेचोअन्तर्गत पर्ने सडक बुधबार खुलाइएको हो। उनले दुवैपक्षबीच सडक विस्तारमा अवरोध नगर्ने सहमतीसहित काम सुरु भइसकेको बताए।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक दुई खण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ सालमा ठेक्का लगाएको थियो। उक्त सडकखण्डको ठेक्का दिवा÷शैलुङ जेभी प्रालिले दुई खण्ड गरी पाएका थिए। सम्झौताअनुसार उक्त सडक २०७५ कात्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्नुपथ्र्याे। तर, मुआब्जा विवाद र ठेकेदारको ढिलासुस्तीले सडक निर्माण सम्पन्न हुन सकेको छैन। दिवा÷शैलुङ जेभीले पहिलो खण्डको ३.२ किलोमिटर सडक कालापत्रे गर्ने जिम्मा पाएको थियो। त्यसैगरी कन्टेक प्रालिले ४ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ हाललाई अस्थायी रुपमै भए पनि स्थानीयको समस्या हल गर्ने सहमति स्थानीयवासी र ठेकेदारको बीचमा भएको जानकारी दिए। उनले तत्काललाई खाल्डाखुल्ठी पुररे मर्मत गरिदिने र निर्णय भएको जानकरी दिए। ‘उक्त सडकखण्डमा धेरै समस्या छन्। तत्काललाई हामीले खाल्डाखुल्डी पुर्न र पातलै भए पनि कालोपत्रे गर्न डिपाटमेन्टल मेसीन पठाइसकेको छौं। ठेकेदार कम्पनीसँग पनि यस विषयमा छलफल भइसकेको छ,’ उनले भने।

उनका अनुसार स्थानीयले ४–५ मिटर चौडा भएकै सडक कालोपत्रे गर भन्दै आन्दोलनमा उत्रिएका थिए। मापदण्ड अनुसार सडक कालोपत्रे गर्न २० मिटर चौडा हुनुपर्ने भए पनि ठेकेदारले काम अघि बढाएको थिएन। उक्त सडकखण्डमा बाक्लो बस्ती र मठ मन्दिर भएकाले सडक विस्तार गर्न नसकिएको हो।

नेकपाका अध्यक्ष प्रचण्ड निवास ढोलाहिटी सडकखण्डकै साम्पाङचोकदेखि भित्र करिब ७ सय मिटर सडक गत असारयता दुईपटक कालोपत्रे भइसक्यो। तर, त्यही सडकखण्ड हुँदै ललितपुरको ठेचो र चापागाउँ निस्कने सडकको हालत चार वर्षदेखि खराब छ।

दोस्रो खण्डमा ठेकेदार कम्पनी कन्टेक प्रालीले काम गर्न नसक्ने भन्दै आयोजनालाई ठेक्का तोड्नको लागि पत्र समेत पठाएको थियो। तर, गोदावरी नगरपालिका र विस्तार आयोजनाले हाललाई पातलै भए पनि कालोपत्र गरिदिन ठेकेदार कम्पनीसमक्ष अनुरोध गरे पनि विवाद सल्टिएको थियो। चापागाउँ दोबाटोदेखि चापागाउँ बसपार्कसम्म करिब ५ किमी सडक अहिले अस्तव्यस्त छ। अन्य ठाउँमा चौडा पार्ने काम भए पनि चापागाउँ क्षेत्रमा भने मुआब्जा विवादका कारण चौडा पार्ने काम रोकिएको छ। कान्ति लोकपथ अन्र्तगत पर्ने यो सडक विस्तारको काममा स्थानयिवासीले ऐतिहासिक मठमन्दिर परेकोले त्यसको विरोध गर्दै आइरहेका छन्।

ठेकेदार उद्धवप्रसाद भण्डारीले डिजाइन अनुसारको सडक क्षेत्रफल नपुगेकाले काम नगरेको बताए। ‘सडकको क्षेत्रफल नपुग्दै सम्झौता अनुसारको काम गर्न सकिन्न,’ उनले भने, ‘यदी सडक चौडा पारेर कालोपत्रका लागि तयार हुन्थ्यो भने हामीले पहिले नै सडकको समस्या हल गरिसक्थ्यौं।’ उनले हाललाई स्थाानीय र सरकारी निकायसँग पातलो र अस्थायी रुपमै काम गर्ने सहमति भएको बताए।

स्थानीय र वडा अध्यक्षले गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा यातायात चलाउन रोक लगाएका थिए। उनीहरूले सडकका कारण समस्या हुन थालेपछि यसरी प्रदर्शनमा उत्रनुपरेको जानकारी दिए। ‘सडकका कारण असाध्यै सास्ती भएको छ। दिनहुँजसो सवारी दुर्घटना भइरहेका छन्,’ स्थानीय सरोज दाहालले भने, ‘यति हुँदा पनि सरकारी निकायले चासो दिएको छैन।’

उनले दक्षिण ललितपुरको लागि छुट्ने बसको स्टेसन पनि यही भएकाले बसपार्क पनि निकै अस्तव्यस्त भएको उनले बताए। उनका अनुसार स्थानीयको चाप र चहलपहल रहने हुने क्षेत्रको सडकमा जिम्मेवार निकायले कुनै चासो दिएको छैन। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बुधबार सहमति भएको बताए। उनले माथिल्लो निकायले सडक मर्मतमा ध्यान नदिँदा त्यसको गाली जनप्रतिनिधिले सहनुपरेको गुनासो गरे। ‘मैले नगरक्षेत्रको मूलसडक पिच गर्नुपर्छ भनेर निर्वाचित भएलगत्तै आवाज उठाएका थिएँ तर सडक विभागले अड्काएका कारण काम गर्न सकिएन। अब चापागाउँ क्षेत्रको सडक सुधार्ने कामका ढिलो हुन दिन्नौं। कोसँग कुरा गरेर हुन्छ यसक्षेत्रका सडक कालोपत्रे हुन्छन्,’ उनले भने।

प्रकाशित: २ जेष्ठ २०७६ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App