९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरी पीडितका लागि प्रदेश १ द्वारा एक करोड हस्तान्तरण

धनुषा– प्रदेश नं  १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारा पर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं  २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरे। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं  १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपत्मा प्रदेश नं १ ले सानो सहयोग गरेर प्रदेश नं  २ को विपत्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए।

प्रदेश नं  २ का मुख्यमन्त्री   राउतले प्रदेश नं  १को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक सङ्घीय संरचनामा गएपछि प्रदेश प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताए।  बारा पर्सामा गत चैत १७ गते आएको हावाहुरीमा २९ जनाको मृत्यु भएको हो भने करोडौँको धनमालको क्षति भएको थियो।

कर्मचारीको एक दिनको तलब
प्रदेश नं  २ का प्रदेश प्रमुखको कार्यालय तथा निजी सचिवालयका कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी बारापर्साका हावाहुरीबाट प्रभावितका लागि पठाएका छन्।

हावाहुरीका कारण प्रभावित तथा घाइते भएकाहरुका लागि राहतस्वरुप उक्त रकम पठाइएको हो।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत यही वैशाख २७ गते उक्त रकम पठाइएको प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा उल्लेख छ। रासस

प्रकाशित: ३० वैशाख २०७६ १४:०६ सोमबार

प्रदेश_नं_२ हावाहुरी_पीडित प्रदेश_नं_१ सहयाेग