२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अण्डाको मूल्य बढ्यो

भरतपुर– अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ। लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो। सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ। यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। ‘उत्पादन लागत नोक्सानीमा थियो’, उनले भने ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो’, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु २९० बाट घटाएर रु २०० कायम गरिएको थियो। बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु २०० मूल्य तोकेको जनाएको थियो।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ। बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ। केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो। ‘अण्डाको मूल्य घट्ने/बढ्ने भइरहन्छ, कँडेलले भने, बजारको अवस्था हेरेर २ सय ५० देखि ३ सय औशतमा मूल्य निर्धारण हुने गरेको छ।’ कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन्। विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ।

एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए। नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ। यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन्। सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन्। देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउछन्। पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी रहेको छ। रासस

प्रकाशित: ३० वैशाख २०७६ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App