४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालय मर्ज र कक्षा घटुवा

सोलुखुम्बु – थुलुङ दूधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि पाँचवटा विद्यालयका कक्षा घटुवा गर्ने र एउटा विद्यालयलाई मर्ज गर्ने निर्णय गरेको छ। कार्यपालिका बैठकले वडा नं १ नेलेको आहालेस्थित हिमालचुली आधारभूत विद्यालयलाई नेलेकै घुर्मिसेस्थित बुद्ध आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरेको हो। जुबु काहुलेस्थित जनज्योति आधारभूत विद्यालय र मुक्ली मैदेलस्थित चित्रगुप्ता आधारभूत विद्यालय कक्षा घटुवामा परेका छन्।

ती विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा रहने गरी अन्य कक्षालाई जुबुको सूर्योदय आधारभूत विद्यालय र मैदेलको त्रिभुवन विद्योदय आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरिएको छ। जनज्योति र चित्रगुप्ता आधारभूत विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। कक्षा ५ सञ्चालन गरिरहेको देउसाको सरस्वती आधारभूत विद्यालय, लोखिम लिखेपको जनप्रिय आधारभूत विद्यालय र लोखिमकै पञ्चकन्या आधारभूत विद्यालयको कक्षा ४ र ५ हटाउने र कक्षा ३ सम्म पढाइ हुने व्यवस्था मिलाइएको छ।

ती विद्यालयका कक्षा दूधकौशिका आधारभूत विद्यालय रणेम, जनसेवा मावि लोखिम र जनता मावि लोखिममा गाभ्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए। शैक्षिक सुधारका लागि झन्डै दुई दशकदेखि सरुवा नभएका ६४ जना शिक्षकलाई सरुवा गरिएको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०३:०६ आइतबार

थुलुङ_दूधकोसी गाउँपालिका शैक्षिक_सुधार