४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मौलाउँदै अवैध गर्भपतन

अवैध गर्भपतन गराउने युवती पक्राउ, स्वास्थ्यकर्मी नियन्त्रण बाहिर

लहान– लहान प्रहरीले सप्तरीकी एक युवतीलाई अवैध गर्भपतन मुद्दामा पक्राउ गरेर कारबाही चलाएको छ। शनिबार लहानको अस्पताल चोकबाट पक्राउ परेकी ती युवतीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ।

अविवाहित ती युवतीले लहान–३ स्थित एक औषधि पसलमा अवैध गर्भपतन गराएकी थिइन्। अवैध गर्भपतन गर्ने स्थान र व्यक्तिको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ।

यसरी पक्राउ परिन् युवती
शनिबार लहान नगरपालिका–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव फेला पर्यो। खेतमा फालिएको नवजात शिशुको(छोरा) शव परीक्षणका लागि राउ स्मारक अस्पताल लहानमा पु-याइयो।

शव परीक्षणको क्रममा चिकित्सकले उक्त शव १८ देखि २० हप्ताको भएको खुलायो। प्रहरीले सूचनाको आधारमा एक युवती र उनीसँगै आएकी महिलालाई अस्पताल चोकबाटै नियन्त्रणमा लियो। ती युवतीलाई राउ स्मारक अस्पताल लहानमा स्वास्थ्य परीक्षण गराइयो। परीक्षणपछि चिकित्सकले ती युवतीले गर्भवतन गराएको खुल्यो। त्यसपछि प्रहरीले आइतबार ती युवतीलाई जिल्ला अदालत सिरहाबाट अवैध गर्भपतन मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको छ। ‘अनैतिक सम्बन्ध’ बाट गर्भधारण भएकोले अवैध गर्भपतन गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पछिल्लो समय लहान अवैध गर्भपतन गराउन अखडाको रुपमा पहिचान बन्दै गएको छ। यहाँ अवैध गर्भपतन गराउने केन्द्रको जगजगी छ। भ्रूण हत्याको घटना यहाँका लागि नौलो भने होइन। फागुन ७ गते बिहान लहान नगरपालिका–७ मारवाडी सेवा समिति नजिकको नहरमा सालनालसहित फालिएको शिशु(छोरी)को मृत शरीर कुकुरले नहरमाथि ल्याएर छोडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव परीक्षण ग-यो। तर, उक्त भ्रूण हत्यामा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालाई कानुनी दायरामा अझै ल्याउन सकेको छैन।

प्रहरीले यी गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा यस भेगमा गैरकानुनी गर्भपतन (भ्रूण हत्या) मौलाउँदै गएको स्थानीय बताउँछन्।

पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रासाउण्ड सेन्टर (भिडियो एक्सरे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ। निजी क्लिनिकका डाक्टर र उनका सहयोगी क्लिनिक आसपासको क्षेत्रमा घर भाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ।

छोराको आकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूण हत्या गराउँछन्। कतिपय अनैतिक सम्बन्धबाट गर्भधारण गरेपछि गर्भपतन गराउँछन्। लहानको अस्पताल चोक, गणेश चोक, सहिद चोकको तरकारी बजार आसपासका स्थानमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मीहरू सक्रिय गरेको स्थानीय बताउँछन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ अभियान’ को घोषणा गरेका बेला लहान, मिर्चैया, गोलबजार, सिरहालगायतका सहर र गाउँघरमा सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी भ्रूण हत्या फस्टाएको हो। गैरकानुनीधन्दा सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको लहानका सन्तोष साहले बताए।

१२ हप्तासम्मको गर्भपतन गर्भवती महिलाको इच्छाअनुसार सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले निःशुल्क गर्छन्। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून छ। आर्थिक अवस्था कमजोर भएका गर्भवती मात्र अस्पतालमा गर्भपतन गराउन आउँछन्। अन्य गर्भपतन अवैध रूपमै हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: २७ वैशाख २०७६ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App