८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गौरवका योजनामा समेटिए ताप्लेजुङका २ वटा सडक

चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ जनसरकारको समन्वय र रिउ बजारका स्थानीयसँग भएको उपकरण प्रयोग गरेर टिपतालाबाट गोलातर्फ आउने गरी सडक निर्माण गरिँदै। फाइल तस्बिरः नागरिक

ताप्लेजुङ–संघीय र प्रदेश सरकारबीच तानातान चलेर पछिल्लो समय संघीय सरकार मातहत पुगेका ताप्लेजुङका तीन ठूला आयोजनामध्ये २ वटा राष्ट्रिय गौरवका आयोजनामा समेटिएका छन्। यसले काम गर्न सके ती आयोजनामा रकमको कुनै अभाव नहुने देखाएर यहाँका बासिन्दामा विकासको आशा जगाएको छ।

उत्तर–दक्षिण जोड्ने दोभान–सुकेटार–ओलाङचुङगोला सडक र तमोर करिडोर राष्ट्रिय गौरवको आयोजनामा परेका हुन्। भौतिक प्रगति जति गर्न सक्यो, त्यसका आधारमा बजेट निकासा हुनेगरीको सूचीमा परेका ती आयोजनाको बजेट शीर्षक नं ३३७१४५ हो। उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग योजनाका डिभिजनल इन्जिनियर रामबहादुर गुरुङका अनुसार यो शीर्षकमा परेका आयोजनामा रकमको अभाव हुँदैन। ‘जति काम गर्न सक्यो, कामको प्रगतिका आधारमा भुक्तानी गर्न सकिने शीर्षकका योजनामा समेटिएकाले अब यी आयोजनामा रकमको अभाव खड्किन्न’, गुरुङले भने।

मदन भण्डारी राजमार्गको ताप्लेजुङ खण्डअन्तर्गत दोभान–साँघु हुँदै गुफापोखरीसम्मको सडक भने संघीय सरकारको बजेट शीर्षक नं ३३७३५६ मा परेको छ। जानकारहरूका अनुसार सरकारी महत्त्वमै रहेको यो शीर्षकको योजना भने क्रमागत जस्तै हो। रकम भएसम्म भौतिक कार्य अघि बढाउन सकिन्छ र सकिएपछि फेरि योजनामा रकम पार्नुपर्छ। चालु आर्थिक वर्षको सुरुमै १ नं प्रदेश सरकारको मातहतमा आएका यी योजना संघीय सरकारको गत माघ २१ गतेको मन्त्रिपरिषद्को बैठकबाट पुन संघीय सरकार मातहतमै गएका थिए। यहाँबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको पहलमा संघीय सरकार मातहत पुगेका उल्लेखित योजना उनकै अग्रसरतामा राष्ट्रिय गौरवका योजनामा समावेश भएका छन्।

डिभिजनल इन्जिनियर गुरुङले चालु आर्थिक वर्षको बाँकी अवधिमा थप रकम मगाएर काम गर्न सकिने अवस्था नरहेकोले पुरानै सम्झौताका कार्यलाई पूरा गरेर नयाँ आर्थिक वर्षमा अधिकतम् प्रगति हासिल गर्नेगरी योजनाको गृहकार्य भइरहेको जानकारी दिए। प्रदेश सरकार र संघीय सरकारको तानातानमा परेर करिब ६ महिनासम्म रोकिएको यहाँको निर्माण कार्यले अहिले भने गति पाएको छ।

डिई गुरुङका अनुसार उत्तर–दक्षिण योजना कार्यालयले आगामी आवमा दोभान–सुकेटार–ओलाङचुङगोला सडक र तमोर करिडोर क्षेत्रमा १० वटा पक्की पुल निर्माणसहितको प्रस्ताव पेश गरेको छ। चालु आवमा कायम रहेका १० वटा पुल निर्माण कार्य केही पूरा भएको र केही क्रमागत चरणमा रहेकोले आगामी आवमा तीसमेतलाई पूरा गर्नेगरी योजनाको प्रारुप तयार भएको उनले बताए।

दोभान–सुकेटार–ओलाङचुङगोला सडक खण्डको गोलातर्फ ट्रयाक ओपन हुँदै आएको कार्यलाई यसै आर्थिक वर्षभित्र कम्तीमा ९ र बढीमा १२ किलोमिटरसम्म विस्तार गर्ने योजना कार्यालयको तयारी छ। यो सडकखण्ड अहिले लेलपको टाँसी गाउँ आसपास पुगेको छ। चट्टान र भीर फोरेर अघि बढ्नुपर्ने सडकका लागि ब्लास्टिङसमेत गर्नुपर्ने भएकोले यही क्षेत्रमा निर्माण कार्यले निकै अवधि खपत गरेको सडक निर्माण गरिरहेको कम्पनीका साइड इञ्चार्ज राजीव पराजुलीले जानकारी दिए। डिई गुरुङका अनुसार उत्तर–दक्षिण योजनातर्फ दोभानलाई जिरो प्वाइन्ट मान्दा अहिलेसम्म ट्रयाकओपन भएको क्षेत्रको कुल दूरी ७७ किलोमिटर हो।

अब करिब २२ किलोमिटर दूरी ट्रयाक ओपन गर्ने हो भने यो सडकखण्डले ओलाङ्चुङगोला छुने उनले बताए। गुरुङले यसै आवभित्र थप १२ किमी दूरी ट्रयाक ओपनका लागि चीनको स्वशासित क्षेत्र तिब्बती सरकार र स्थानीय समुदायको सहयोग लिने गृहकार्य चलिरहेको समेत जानकारी दिए। यसले यस कार्यमा द्विपक्षीय छलफल चलिरहेको बताए।

तिब्बतको रिउ बजारका स्थानीयसँग भएका निर्माण उपकरणसमेतको प्रयोग गरेर चालु आवमा गोलातर्फबाट ५–७ किमी र लेलेपतर्फबाट ४–५ किमी सडकको ट्रयाक ओपन गर्ने तयारी थालिएको छ। यसकार्यका लागि तिब्बती प्रशासन र स्थानीयसँग घनिष्ट सम्बन्ध रहेका गोला निवासी छेतेन वालुङ रिउ पुगेका छन्। उनकै समन्वयमा यसअघि रिउ बजारका स्थानीयसँग भएका निर्माण उपकरण प्रयोग गरी टिपतालाबाट गोलासम्मको २२ किमी दूरीमा ट्रयाक ओपन गरिएको थियो। ‘अधिकतम् काम यस वर्ष नै गर्नेगरी द्विपक्षीय छलफल र गृहकार्य भइरहेको छ’, डिई गुरुङले भने।

उनले तमोर करिडोरतर्फ लिम्बुनी पुलबाट दोभानसम्मको करिब डेढ किलोमिटर सडकले सञ्जाल जोड्न बाँकी रहेकोले त्यसलाई समेत गति दिने तयारी सुनाए। त्यहाँ रहेका साना जलविद्युत् आयोजनाको इन्टेक र पेनस्टक पाइपसहितका केही संरचनाले यो क्षेत्रको सडक सञ्जाल जोड्न अवरोध सिर्जना गरेको भन्दै उनले चालु आवमा यसको व्यवस्थापनका विषयमा गृहकार्य गर्ने र नयाँ आवमा योजना माग गर्ने जानकारी दिए। यसका लागि विद्युत् उपभोक्ता संस्था र विद्युत् प्राधिकरणसँग समेत समन्वय भइरहेको गुरुङले बताए।

प्रकाशित: २३ वैशाख २०७६ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App