८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागी पीडितलाई राहत

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरका आगलागी पीडितलाई सहयोग जुट्न थालेको छ। जिल्लाको सरकारी कार्यालय, गाउँपालिका, वडा कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाले राहत वितरण गरेका छन्।

बिहिबार आगलागीबाट घर जलेका मेन्दो पासाङ थोक्रा, लक्षिन नेकोर, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिले प्रति परिवार १० हजार रुपयाँ उपलब्ध गराएको छ भने तेजिलो सचेतना समाज नेपालले प्रति परिवार पाँच हजार रकम सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले भाडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडा, नौकुण्ड गाउँपालिकाले खाद्यान्न तथा समितिले टेन्ट वितरण गरेको छ। 

नौकुण्ड गाउँपालिकाले प्रति परिवार ३० हजार रुपयाँ, नौकुण्ड गाउँपालिका–१ ले जस्तापाता र कम्बल तथा जिल्ला समन्वय समिति रसुवाले जस्तापाता दिने घोषणा गरेको छ। स्थानीय विपद् व्यवस्थापन कोषबाट सहयोग रकम उपलब्ध गराउने गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्। 

पीडितलाई तत्कालको लागि राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘अहिले तत्कालको समस्याको समाधानका लागि राहत स्वरूप रकम दिएका हौँ’, प्रजिअ भण्डारीले नागरिकसँग भने, ‘उहाँहरूले घर निर्माण सुरु गरेपछि घर निर्माण वापत थप ५० हजार रुपयाँ दिन्छौँ।’

 

प्रकाशित: १४ वैशाख २०७६ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App