३० आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

आयोग पास गरेका शिक्षक राखेन नगरपालिकाले

शिक्षक नियुक्तिका विषयमा हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा समितिको निर्णय

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय इकाइको कार्यालयमार्फत नियुक्ति पाएका शिक्षक बदर गर्ने निर्णय गरेको छ। शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयले नगरपालिकाका विभिन्न विद्यालयमा नियुक्ति दिएर शिक्षक पठाएको थियो।

शिक्षक सेवा आयोग उत्तीर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय इकाइ कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको भन्दै बिहीबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्ति अस्वीकार गर्ने निर्णय गरेको हो। आयोग उत्तीर्ण शिक्षकलाई आवश्यक विद्यालयमा भन्दा पनि आफुखुसी नियुक्ति दिएर पठाएकाले नियुक्ति बदरको निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताए।

बैठकमा शिक्षा समन्वय इकाइ कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलब नदिने निर्णय गरेको छ। इकाइ कार्यालयले पठाएका शिक्षकलाई तलब व्यवस्थापनमा समेत कठिनाइ हुने नगरपालिकाले जनाएको छ।

‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा शिक्षक नियुक्ति गर्ने, पदस्थापन गर्ने र सरुवा गर्ने अधिकार स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ,’ नगरप्रमुख राईले भने, ‘शिक्षक नियुुक्तिका क्रममा न हामीसँग समन्वय गरिएको छ, न बोधार्थ नै दिइएको छ। आफुखुसी नियुक्ति दिएर पठाइएकाले नियुक्ति बदरको निर्णय गर्नु परेको हो।’

बैठकले शिक्षा समितिको सो निर्णयबारे नगरका विद्यालयलाई पत्राचार गर्ने, संघ र प्रदेश सरकारलाई जानकारी गराउने तथा शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि सिफारिस भएर आएका शिक्षकको सूची माग गरी पदस्थापन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

 

प्रकाशित: १२ वैशाख २०७६ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App