२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हुरीपीडितलाई भूकम्पपीडितकाे सहयाेग

बारा - चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाबाट आएको टोलीले मंगलबार भारतसँग सिमाना जोडिएको बारा–पर्सा जिल्लाका हावाहुरी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ। हावाहुरीमा परी मृत्यु भएका बारा–पर्साका २३ परिवारका सदस्यलाई सुनकोसी गाउँपालिकाबाट प्राप्त जनही २१ हजार पाँच सयका दरले नगद सहयोगलाई वितरण गरिएको हो।

सुनकोसी गाउँपालिका प्रमुख विनोद जिसी र पूर्वसूचना तथा सन्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको नेतृत्वमा आएको टोलीले हावाहुरीमा ज्यान गुमाएकाहरूको परिवारलाई सहयोग हस्तान्तरण गरेको थियो।

चैत १७ गतेको विनाशकारी हावाहुरीमा परी बारा–पर्सामा चार भारतीयसहित २७ जनाको मृत्यु भएको थियो। ‘२०७२ सालमा आएको भूकम्पका बेला सिन्धुपाल्चोक जिल्लामा ठूलो विपत् पर्दा बारा र पर्साबाट धेरै सहयोग भएको थियो,’ सुनकोसी गाउँपालिका प्रमुख विनोद जिसीले भने, ‘हामीलाई प्राकृतिक विपत्ति पर्दा सहयोग गरेको बारा र पर्सामा हावाहुरीले धनजन क्षति गर्दा सहयोग गर्नु दायित्व सम्झेर सकेको सहयोग गरेका हौं।’

‘हामीलाई प्राकृतिक विपत्ति पर्दा सहयोग गरेको बारा र पर्सामा हावाहुरीले धनजन क्षति गर्दा सहयोग गर्नु दायित्व सहयोग गर्न आएका हौं।’

राहत वितरण गर्न आयोजित कार्यक्रममा जिसीले भने, ‘हामीले दिने रकमबाट मृतकका परिवारले कुनै ठूलो कार्य गर्न नसक्ने भए पनि यसले थोरै भए पनि पीडामा मलम लगाउने विश्वास लिइएको छ।’ राहत रकम बाँड्न सहयोगीका रूपमा उपस्थित कांग्रेस नेता बस्नेतले सुनकोसी गाउँपालिकाले उपलब्ध गराएको रकम मृतकका परिवारलाई दिएर तराई र पहाडबीच रहेको आपसी सद्भावना साटासाट गर्न खोजिएको बताए। उनले ‘पहाडमा जाडो बढ्दा तराईले सेक्नुपर्ने र तराईमा आँधी आउँदा पहाडले छेक्नुपर्ने भनाइ पनि स्मरण गरेका थिए।

राहत रकम पाएपछि सुवर्ण गाउँपालिका–८ पशरामपुरकी जलेशा खातुनले राहतमा पाएको नगद सहयोगले पाँच जना नाति , नातिनीको पालनपोषण गर्न सजिलो हुने बताइन्। जलेशाकी बुहारी तरिखा खातुनको हावाहुरीमा परी मृत्यु भएपछि तिनका सन्तानको पालनपोषणमा समस्या भएको छ।

नेलली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले एक नेपालीलाई पीडा पर्दा अर्को नेपालीले सहयोग गर्ने गरे मात्रै देशमा आपसी सद्भाव वृद्धि हुने बताए। सिन्धुपालचोकको सुनकोसी गाउँपालिकाले बारा–पर्सामा हावाहुरी पीडितलाई गरेको नगद सहयोगले मधेसी र पहाडी समाजमा आपसी सद्भावको सकारात्मक सन्देश दिएको बताए। त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादवले दैवी–प्रकोपले मानिस र क्षेत्रलाई नछुट्याउने भएकाले एक क्षेत्रमा हुने दैवी प्रकोपमा अर्कोक्षेत्रबाट सहयोग जुट्नु उदाहरणीय र अनुकरणीय काम भएको बताए।

मृतकका परिवारलाई नगद राहत वितरणका लागि बारा कांग्रेसका जिल्ला सभापति भोला चौरसिया, कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, मणिभूषण यादवलगायतले समन्वय गरेका थिए। नगद राहत वितरण समारोहमा सुनकोसी गाउँपालिकाका वडाध्यक्षहरू ईश्वरी तिमल्सिना, देवेन्द्र खडका, रामहरि खडका, कृष्णबहादुर थापा, चूडामणि कटृेललगायत सहभागी थिए।
...

सहयोग हस्तान्तरण गर्दै। तस्बिर ः नागरिक

प्रकाशित: ४ वैशाख २०७६ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App