१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

छिन्नमस्ता दर्शन

सप्तरीमा छिन् छिन्नमस्ता देवी। उनको ठूलो महिमा छ। छिन्नमस्ता आफैंमा सिद्धपिठ र शक्ति पिठ भएकाले उनको भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ। भाकल पुरा भएपछि तिर्थालु पूजापाठसँगै बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

मुल मन्दिरमा सखडा देवीको मूर्ति छ। देवीको पाउमा मैशासुर बधको मूर्ति छ। छिन्नमस्ता परिसरमा गणेश, पञ्चमुखि हनुमान, पँचमुखि नाग, शनि आदिका मूर्ति छन्। संस्कृत विद्यालय पनि छ। त्यहाँ विशाल पोखरी (शान्ति सागर) पनि छ।

राजविराज बजारबाट १० किमि दक्षिणमा अबस्थित मन्दिरमा हरेक दिन भिड लाग्छ। नेपाली मात्रै होइन, बर्सेनी लाखौंको संख्यामा भारतीय पनि आउँछन्। बडादशैंको नवरात्र र नयाँ वर्ष वैशाख १ गते मन्दिरमा मेला लाग्छ। मन्दिरबाट २ किमि दूरीमा बिहार, भारतको सिमा छ। मेला भर्न भारतबाट बर्सेनी लाखौं भक्तजन आउँछन्। कान्छी कामाकोटी पिठ भारतका संकराचार्य जगद्गुरू जयन्द्र सरस्वतीको आज्ञा बमोजिम राजा वीरेन्द्र २०४३ सालमा छिन्नमस्ता दर्शन गरेका थिए। भारतका पनि ठूल–ठूला नेता तथा धार्मिक गुरूहरुले छिन्नमस्ता दर्शन गरिसकेको मन्दिरका पिठाधिश बताउँछन्।

छिन्नमस्ता सिद्ध पिठ र शक्ति पिठ मानिन्छ। देवीको भाकल गरेमा मनले चिताएको पुरा हुने जनविश्वास छ।

छिन्नमस्तामा ५ वटा ठूल–ठूला वैदिक यज्ञ भएका छन्। २०४५ सालमा सद्चण्डी रूद्र महायज्ञ, २०५९ सालमा सहस्त्र चण्डी रूद्र महायज्ञ, २०६० सालमा शिवशक्ति रूद्र महायज्ञ, २०७३ सालमा लक्ष्य चण्डी रूद्र महायज्ञ र २०७४ सालमा दशमहा विद्या सहरूद्र महायज्ञ भएको थियो।
मन्दिरको प्राचीन नाम शक्रेश्वरी हो जुन कर्णाटक वंशीय राजा शुक्रदेव सिंहसँग जोडिएको छ। छिन्नमस्ताका पिठाधिशका अनुसार पञ्चायतकालमा साबिकका लालापट्टि र सखडा गाउँ पंचायत मिलाएर एउटै गाउँ पंचायत बनाउने बेला नामको विषयमा बादविवाद भयो। त्यही बेला तत्कालीन अञ्चलाधिश सत्यनारायण झाले फ्याट्ट भनिदिए–लालापट्टि पनि होइन, सखडा पनि होइन यसको नाउँ छिन्नमस्ता गाउँ पंचायत हुनेछ। गाउँ पंचायतको नाउँ छिन्नमस्ता राखियो। त्यही बेलादेखि जनबोलीमा मन्दिरलाई छिन्नमस्तादेवी भन्न थालियो।

मन्दिर सेरोफेरोका ३ किमिमा कोशी, २ किमिमा त्रियुगा र २ किमिमा घोरदह नदी बग्छन्। मन्दिर क्षेत्रमा धर्मशाला, खाजाघर, फूल प्रसादी पसल र सामान्य होटल छन्। बास बस्नका लागि राजविराजमा सुविधायुक्त होटल छन्। छिन्नमस्ता दर्शनमा निस्कँदा नजिकैको हनुमाननगर पनि यात्रा गर्नु बेस हुन्छ। सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा बालक हनुमानको कालो मूर्ति छ। हनुमानका दुबै हातले आशीबार्द दिइरहेका छन्। यस्तो मूर्ति हनुमाननगर बाहेक अन्यत्र भेटिएको छैन। त्यसैले मन्दिर व्यवस्थापन समितिले ‘संसारकै एक मात्र कालो हनुमान’का रुपमा यसको प्रचार गर्दै आएको छ।

हनुमानको बास भएकाले हनुमाननगर भनिएको। हुनमान दर्शन गर्न नेपाली मात्र होइन, भारतका दिल्ली, मुम्बई, राजस्थान, कोलकाता र बिहारदेखिका तिर्थालु आउँछन्। भाकल पुरा भएपछि हनुमानलाई भक्तजनले लड्डु चढाउँछन्। कसै कसैले ५० किलो तौलको एउटै लड्डु चढाउँछन्। राजविराजबाट पूर्व ११ किमि दूरीमा छ हनुमाननगर। त्यहाँ सामान्य खाजा पसल छन्।

प्रकाशित: २३ चैत्र २०७५ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App