९ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सहयोगी हातभन्दा रमिते बढी

वीरगन्ज - हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फीस्टिक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए। पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले मोबाइलमा खिचिरहेको देखेर अन्य मानिस पनि त्यहाँ भेला हुन थाले। भीड बढ्दै गयो। ती व्यक्तिले एकछिन बिराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ?’ तर जवाफ आएन। फेरि अर्कोले दोहो-याएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन ‘फेसबुक लाइभ’ हो।

यस्तो जबाफ सुनेपछि उत्सुक भएर जम्मा भएका अन्य खिन्न भएर आआफ्नो बाटो लागे। उनीहरु पनि बाहिरबाट क्षतिको दृष्य हेर्न आएका थिए। हुरीले विनाश गरेको भोलिपल्ट सोमबार बिहान आठ बजेतिरको दृष्य थियो यो। हुरी प्रभावित बस्तीमा मोबाइल भिडियोग्राफी, मोबाइल फोटोग्राफी र सेल्फी लिने र रमिता हेर्नेको लस्कर दिनहुँजसो देखिन्छ। ‘यहाँ त गढीमाईको मेलाजस्तै भएको छ,’ भरबलियाका बिक्की महतोले भने, ‘सीमापारी इन्डियाका मानिस दिनहुँ दर्जनौं ट्याक्टर र जिप चढेर आइरहेका छन्। यता पर्सा र उता रौतहटसम्मका मान्छे पनि आएका छन्। हामी पीडित गास, बास र कपास नपाएर हैरान छौं तर कसलाई भन्ने ?’ उनले अपेक्षा गरेजस्तो पीडितलाई राहत र थप पीडा नहुने खालका काम गरिदिने मानिसको कमी छ।

उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र दातालाई रमितेको लस्करका कारण सहज तरिकाले काम गर्न समस्या भइरहेको छ। ‘रमितेको भीडले वास्तविक अवस्था बुझ्न पनि समस्या भइरहेको छ। यसले गर्दा आवश्यक ठाउँमा पर्याप्त राहत सामग्री पु-याउन पनि समस्या भएको छ,’ राहत र उद्धारमा खटिएको संस्था संस्कृतिकी अध्यक्ष शैली चौधरीले भनिन्, ‘हामीले कसैलाई आरोपित गर्न त मिल्दैन तर सहयोग गर्न आउनेलाई रमितेको भीडका कारण समस्याचाहिँ परिरहेको छ।’

टेन्टमा गएर पीडितलाई खोज्दा त्यहाँ अधिकांश बाहिरका मान्छे भेटिएका छन्। घरबार गुमाएका पुरैनियाका मुन्नाआलम ठकुराइलाई खोज्दै जाँदा उनको टेन्टवरीपरी दर्जन बढी मानिस रमिते थिए। ठकुराईलाई रमिेतले घेरेका थिए। त्यहाँ जम्मा भएका स्थानीय नभई बाहिरबाट आएका थिए। हुरी प्रभावित गाउँमा अहिले रैथानेभन्दा चार गुना बढी मानिस पाइएको उद्धार तथा राहतमा खटिएका प्रहरी बताउँछन्। क्षतविक्षत घरका संरचना नजिक उभिएर सेल्फी र फोटो खिच्नेको संख्या बिहान १० बजेपछि बढ्न थाल्छ। १२ बज्दा नबज्दै घुइँचो लाग्छ। हुरी प्रभावित बस्ती फेटादेखि पुरैनिया पस्ने चोकमा सोमबारयता दिउँसो घन्टौंसम्म मानिसको घुइँचो लागिरहेको छ। भलुहीचोक, भरबलिया गाउँ, मोतिसर चोकलगायत प्रभावित सबै बस्तीमा सहयोग गर्नेभन्दा हेर्ने र सेल्फी खिच्नेको भीड लाग्छ। बाहिरबाट आएका मोटरसाइकल, ट्याक्टर, जिप, कार, भ्यान, इरिक्सा, टेम्पो र साइकल पनि प्रभावित बस्तीमा पर्याप्त देख्न सकिन्छ। ‘यसमा दुई–तीन किसिमका मान्छे छन्। पहिलोमा सेना, प्रहरी र दाता छन्। दोस्रोमा पीडितका आफन्त, जो टाढा–टाढाबाट आएका छन् र तेस्रोमा सबैभन्दा बढी रमिते छन्,’ बारा करैयामाईका मनोज पटेलले भने, ‘एउटा टोली यहाँ आएर फर्केर आफ्नो गाउँ पुगेर कारुणिक अवस्थाको वर्णन गर्दो रहेछ। त्यसपछि फेरि अर्को समूह आइपुग्दो रहेछ। नजिकै भएकाले सीमापारीबाट आउनेको संख्या पनि उत्तिकै छ।’

ठूला नेता आउँदा रमितेहरु अझ झुमिँदा रहेछन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पीडितलाई भेट्न आएका बेला नारायणी अस्पतालभित्र पनि उनलाई दृष्यमा पारेर सेल्फी खिच्ने बढी देखिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि सेल्फी र फोटो खिच्नेले ठाउँठाउँमा घेरे। संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत गद्दी, राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतो, प्रदेश दुईका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई पनि सेल्फी र फोटो खिच्नेले ठाउँठाउँमा घेरेको देखियो। सिके राउत प्रभावित क्षेत्रमा आउँदा पनि एकथरीले फोटो खिचेर हैरान पारे। स्वयंसेवक प्रकाश थारुका अनुसार सोसल मिडियाको प्रभावले पनि हुरी प्रभावित बस्ती हेर्न आउने मानिस बढेका हुन्। ‘अनलाइन सामाजिक सञ्जालको प्रभावले एकातिर मानवीय सम्वेदनासँग जोडिएको यस घट्नाको बढी प्रचारप्रसार हुन पाएको छ, अर्कोतिर सामाजिक सञ्जालमा यहाँको दृष्य हाल्न होडबाजी चलेको। जसले गर्दा पनि भीडभाड बढेको हो,’ सामाजिक अभियन्ता तबरेज अहमद भन्छन्।

प्रकाशित: २३ चैत्र २०७५ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App