१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कर्मचारी कुर्दै स्थानीय तह

बाजुरा– निर्वाचनको २ वर्ष पुग्न लागिसक्दा पनि स्थानीय तहका गुनासा फेरिएका छैनन्। ऐन कानुन निर्माणमा भइरहेको ढिलाईदेखि कर्मचारी अभावको विषय प्रमुख रुपमा उठ्ने गरेको छ। ऐन कानुन निर्माणको विषय सेलाउन थालेपनि कर्मचारी अभावको विषयले थप महत्व पाउन थालेको छ।

आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौता देखि लागत स्टमेटका काम समेत नभए पनि जनप्रतिनिधि तनाबमा छन्। कर्मचारी समायोजनले उनीहरुलाई थप समस्या पारिदिएको छ। 

कार्यरत कर्मचारी समेत समायोजनाको कागज सहीत फिर्ता जान थालेपछि कामकाठ ठप्प बनेको छ। स्थानीय तह भने कर्मचारीको पर्खाईमा छन्। जिल्लाका नौ वटै स्थानीय तहमा कर्मचारी समायोजनको समस्या देखिएको छ। 

गौमुल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकनाथ खनाल रमाना लिएर गएपछि दैीनक कामकाज ठप्प बनेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। ‘हामी आउने कर्मचारीको पर्खाईमा छौं, को आउने र कहिले आउने कुनै जानकारी छैन्’, रोकायाले भने।

कर्मचारी अभाव सधै थियो, पुरा दरबन्दी कर्मचारी कहिल्यै थिएनन्, समायोजन पछि थप समस्या भएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन्। हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापा मात्र छन्।

नायव सुब्बा कम्मानसिंह कुवर महाकाली नगरपालिका र खरिदार संञ्जिव चौधरी बेलौरी नगरपालिका सरुवा भएर गएपछि दैनिक कामकाजमा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापाले बताएका छन्।

सात वटा वडाहरु रहेको गाँउपालिकामा एक जना पनि सचिव छैन। जन्म, मृत्यु, विबाह दर्ता जस्ता पञ्जिकरण र वडा पालिकाबाट दिईने अन्य सेवा सुविधा दिन समस्या भएको थापाको भनाई छ।

आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी छ। गाउँपालिकाले अधिकांश योजनामा काम गर्न बाँकी छ। सोचे निजस्तो उपलब्ध गर्न नसक्ने जप्रतिनिधिको गुनासो छ। गौमूल गाउँपालिका पनि एक जना सुब्बाको भरमा चलाउनु पर्ने अवस्था छ।

वडाका कर्मचारी नै छैनन् जन्म दर्ता, मृत्यु दर्ता बिबाह दर्ता लगायतका पञ्जीकरण सम्बधित काम गर्न समस्या भएको गौमूल गाउँपालिका ५ का वडा अध्यक्ष गणेश रोकायाले बताए।

नेपाल सरकारले कर्मचारी समायोजनको व्यवस्था ल्याएसंगै बाजुराका स्थानीय तहहरु कर्मचारी विहीन बनेका छन्। समायोजनमा बाजुरामा कार्यरत जाने कर्मचारी गएपछि बाजुराका ९ वटा स्थानीय तह कर्मचारी बिहिन बन्दै आएका हुन्।

जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि समायोजनमा आफ्नै गृह जिल्ला गुल्मी सरुवा भएर गइसकेका छन्। जिल्लाले कर्मचारी उत्पादन गर्न नसक्नु नै ठूलो समस्याको विषय बनेको भन्छन्, बडिकालिका नरपालिका प्रमुख पदम बडुवाल।

गाउँपालिकामा कार्यरत एकै जना सचिव थिए, उनी पनि सरुवा भएपछि ठप्प अवथा आईलागेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डब्बल विकले बताए। कर्मचारी समायोजना पछि सरुवा भएर जाने काम भएपनि आउने कसैको टुंगो नलागेको विकको भनाई छ। 

उसो त दुर्गम जिल्लामा आउन कर्मचारीले मन गरेका छैनन्। समायोजनमा पनि सहर, आफ्नै गाउँ र सुविधा युक्त क्षेत्रलाई कर्मचारीले रोजेकै कारण कर्मचारीको अभाव देखिएको जिल्ला समन्वय समिति बाजुराले बताएको छ। 

यो समस्याले कामकाज अस्तव्यस्त अवस्थामा छ। जिल्लाका ६९ वटा कुनै वडामा पनि वडा सचिव छैनन्। यो वर्ष पनि विनियोजन गरिएको बजेट खर्च नहुने र योजना निर्माण पनि नहुने अवस्था आएको जनप्रतिनिधिको साझा गुनासो छ। 

प्रकाशित: १९ चैत्र २०७५ १५:०८ मंगलबार

स्थानीय_तह कर्मचारी ऐन_कानुन_निर्माण