१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

एक मिनटमै सोत्तर भयो गाउँ

पर्सा - आइतबार साँझ करिब पौने आठ बजेतिर आएको विनाशकारी हावाहुरी थामिए पनि त्यसले पुरैनियावासीलाई सोत्तर बनाएर छाडेको छ। फेटा चोकबाट गाउँमा पस्ने मूल बाटोबाट पुरैनियातिर प्रवेश गर्नेबित्तिकै ढलेका रुख, जरैबाट उखेलिएका बाँसका घारी देखिन्छन्। घरहरु भत्केको, भकारीको धान छरिएको र बिजुलीको खम्बा ढलेको देखिन्छन्। ‘यो त केही पनि होइन, अगाडि हेर्नुस्, ‘करेजा’ (हृदय) निस्किएला,’ स्थानीय सैफअली अन्सारी भन्दै थिए, ‘एक मिनेटको आँधी विनाश लीला देखाएर गयो।’

अगाडि बढ्दै जाँदा लहरै घरहरु भत्केर छरपस्ट छन्, फुसका घर कहाँनिर खडा थिए भन्ने ठम्याउन पनि कठिन छ। अधपक्की (इँटको भित्ता र साधारण छानो भएका) घरमा बढी क्षति पुगेको छ। एउटै छानोसमेत सद्दे छैन। घरबाट उछिट्टिएर भित्ता पर पुगेका छन्, इँट छरिएका छन्। पक्की घरको समेत छत उडेको छ अनि भित्ता भत्केको छ। हाते धारा टुटेका छन्, स्कुल अनि मस्जिद क्षतिग्रस्त छन्। बिजुलीका खम्बा ढलेर चारैतिर तार लतरिएको छ। सयौं रुख ठुटा भएका छन्। बालीनाली सोत्तर परेको छ। समग्र गाउँ भग्नावशेषमा परिणत भएको छ।

घरभित्रको अन्नपात सबै पुरिएको छ। भकारी धर्तीमा बजारिएर छरिएको अन्नउपर माटोको पत्र चढेको छ। घरका भाँडाकुडा, साइकल, मोटरसाइकल, टेलिभिजन, बाकस, खाट, कुर्सी सबै काम नलाग्ने भएका छन्। घरका भग्नावशेषमा बसेका महिला पुरुष कहाँदेखि मिलाउन सुरु गर्ने भनी बिलखबन्द छन्, के गर्ने, के नगर्ने, होस नभएजस्तो। ‘यस्तो विनाशकारी घटनापछि गाउँका मान्छेको के हाल भएहोला, विचार गर्नुस्,’ सैफअलीले भने, ‘हुरी रोकिएपछि के भयो भन्ने होस आउन नै केही समय लाग्यो। अनि चित्कार र हल्लाले गाउँ गुन्जिन थाल्यो। घरैपिच्छे मान्छेहरु थिचिएका रहेछन्। कसलाई पहिले निकाल्ने जस्तो भयो। हामी जोगिएकाहरु थिचिएकालाई जोगाउनमा जुट्यौं।’ उनले अगाडि भने, ‘हामीले घाइते मान्छे घरहरुबाट निकाल्न थाल्यौं। गाउँमा एम्बुलेन्स वा सवारीसाधन पस्ने ठाउँ थिएन। खाटमा बोकेर फेटा चोकसम्म लग्यौं। अस्पताल लग्नुपर्ने मान्छे सयौं थिए। एम्बुलेन्स एउटा आइरहेको थियो, गर्ने के ?’

पुरैनियाका ५० वर्षीय शौकत अलीले यस्तो हावाहुरी जीवनमा कहिल्यै नदेखेको प्रतिक्रिया दिए। ‘यता उत्तर पश्चिम दिशाको कोणबाट हुन्डरी आयो। एक छिन पनि लागेन यति विनाश गर्न। गाउँका बुढापाका पनि छक्क छन् यस्तो तुफान देखेर,’ अलीले भने, ‘यो विनाश पुस्तौंसम्मले याद राख्ने भए।’ स्थानीय रुहानी खातुन आफन्तलाई फोनमा जवाफ फर्काउनमा व्यस्त भेटिइन्। ‘फोन आइरहेको छ, आफन्तहरुको। घरका केहीजना बाहिर छन्, हामी थोरैजना छौं। यहाँ घरको अधिकांश भाग भत्केर भुइँमा पछारिएको छ,’ खातुनले भनिन्, ‘गाउँको कुन कुरा कहाँनिर थियो, ठम्याउन गाह्रो परिरहेको छ। केही कुरा सद्दे छैन।’

६५ वर्षीय बागड मियाँ अन्सारीको चारकोठे अधपक्की घर भत्केर क्षतिग्रस्त भइसकेको छ। घरमा उनीसहित पूरै परिवार थिचिएको थियो। जसमध्ये घाइते ९ जना वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतामा भर्ना भएका छन्। ‘खाना पकाउने तयारी भइरहेको थियो, हावा उठ्यो। सोच्न नपाउदै घर माथिबाट कसैले थिचेको जस्तै हामीमाथि खस्यो,’ अन्सारीले भने। भरबलियाका ७० वर्षीय शिवपुजन बैठा यस्तो आँधी र क्षति जीवनमा कहिल्यै नदेखेको भन्दै अचम्म परेका छन्। उनले यसलाई दैवी शक्तिको प्रकोप मानेका छन्। सो गाउँमा पनि डेढ सय घर भत्केका छन्। उनकी छिमेकी दुरपती देवीले आफूहरु निकै डराएको र भगवान्ले बचाएर जोगिएको बताइन। यस गाउँमा पाँचजनाको मृत्यु भएको छ।

भललुही गाउँको हाल पनि उस्तै छ। मृत्यु हुने र घाइतेमा नजिकैका इँटाभट्टामा काम गर्ने मजदुर पनि छन्। हुरी प्रभावित गाउँमा कोही आफन्त गुमाएर गहिरो शोकमा छन्, कोही परिवारका घाइतेको चिन्तामा छन्। हुरीले बास, गाँस र कपास सबै एकै पटक खोसिदिएको छ।

प्रकाशित: १९ चैत्र २०७५ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App