६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाडीबाटै रिचार्ज कार्ड गायब बनाउने युवा पक्राउ

खोटाङ – खोटाङमा रिचार्ज कार्ड चोरीमा संलग्न युवा पक्राउ परेका छन्। काठमाडौंबाट खोटाङको ऐंसेलुखर्क गाउँपालिकातर्फ जाँदै गरेको जिपबाट नाटकीय ढंगले १ लाख ६५ हजार ५ सय बराबरको एनटिसी, एनसेल र डिसहोमको रिचार्ज कार्ड गायब गर्ने ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका १९ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन्।

गत फागुन २९ गते जिपबाटै रिचार्ज कार्ड हराएको र खोजीको क्रममा उनलाई बुधबार रिचार्ज कार्डसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। प्रहरी अनुसन्धानका क्रममा राईले ऐंसेलुखर्क पुग्नेबेलामा गाडी रोकेको मौका पारी रिचार्ज कार्डको पोको जंगलतिर फालिदिएका र पछि आएर रिचार्ज कार्ड लगेको खुलेको छ।

बरामद रिचार्ज कार्डमध्ये २ हजार ३ सयको रिचार्ज कार्ड भने प्रयोग भइसकेको पाइएको प्रहरीले बताएको छ। काठमाडौंका डिलरले ऐंसेलुखर्क बजारका व्यवसायीलाई गाडीमा पठाइदिएको रिचार्ज कार्ड सोही गाडीमा यात्रा गरिरहेका उनले गायब बनाएको पाइएको डिएसपी केसीले बताए। काठमाडौंबाट गाडी चढ्दा उसले गाडीमा रिचार्ज कार्ड हालेको देखेका रहेछन्। ऐंसेलुखर्क पुग्ने बेलामा गाडी रोकेको मौकामा कसैले थाहा नपाउनेगरी रिचार्ज कार्डको पोको जंगलतिर फालिदिएका रहेछन्,’ डिएसपी केसीले भने, ‘पछिबाट आएर उनले रिचार्ज कार्ड लगेका रहेछन्।’

राईले केही रिचार्ज कार्ड आफैले र केही साथीलाई हालिदिएको खुलेको छ। पक्राउ परेका राईलाई कानुनी कारबाही थालिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०३:१६ आइतबार

रिचार्ज_कार्ड चोरी युवा_पक्राउ