उदयपुर- एक महिना अघि आगलागीमा परेका उदयपुर रौतामाई गाउँपालिका २ भुट्टारका पीडितहरुलाई त्रियुगा नगरपालिकाले राहतस्वरुप जस्तापाता सहयोग गरेको छ। सत्तारुढ दल नेकपाकाका केन्द्रीय सदस्यसमेत रहेका नगरप्रमुख बलदेव चौधरीले पीडितहरुलाई गाईघाट बोलाएर जस्तापाता उपलब्ध गराएका हुन्।
चौधरीले रौतामाई २ खजौरे डुम्रेका ५ घरधुरी अग्निपीडितहरुलाई गाईघाटमा बुधबार एक कार्यक्रमका बीच प्रतिव्यक्ति ५ बण्डलका दरले जस्तापाता प्रदान गरे। मेयर चौरधीसँगै कार्यक्रममा नेकपाका नेताहरु इश्वरमणि राउत, कुशल कार्की, महेश्वरी राई, प्रमेश्वर घिमिरेलगायतले पीडितहरु कमल कार्की, दिपक कार्की, विदुर कार्की, ज्ञानबहादुर कार्की र राजेन्द्र कार्कीलाई जस्तापाता वितरण गरे।
गत फागुन ११ गते दिउँसो १ बजे भएको आगलागीमा परी उनीहरुको घर, मतान तथा त्यसभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, नगद, सुनचाँदीलगायत सम्पूर्ण धनसम्पत्ति नष्ट भएको थियो। त्यस्तै गोठमा बाँधिएका चौपाया ५४ थान खसी बोका र गाईगोरु जलेर मरेका थिए। आगलागीबाट ५ परिवारको ५ घर र ७ मतान जलेर ६७ लाख बढीको क्षति भएको थियो।
आगलागीपछि शरणार्थी बन्न पुगेका पीडितहरुलाई गाउँपालिका, जिल्ला प्रशासन, रेडक्रस सोसाईटी र चौदण्डीगढी नगरपालिकाबाट यसअघि राहत वितरण गरिएको थियो। पीडित घरधुरीले सोही ठाउँमा नयाँ घरटहरा बनाउने क्रम चलिरहेका बेला त्रियुगाले छानो छाउन राहतस्वरुप जस्ता सहयोग गरेको मेयर चौधरीले बताएका छन्।
प्रकाशित: १४ चैत्र २०७५ ०५:२९ बिहीबार