काठमाडौं – राजधानीमा सोमबारदेखि राष्ट्रिय परिवार योजना सम्मेलन हुँदैछ। दुईदिनसम्म जारी रहने सम्मेलनको उट्घाटन उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्ने कार्यक्रम छ।
सम्मेलनमार्फत परिवार योजना कार्यक्रम पहुँच बाहिर रहेकालाई सम्बोधन गर्ने नीति तथा योजना तय गरिने आयोजकले जनाए। कार्यक्रममा २४ वटा प्रस्तुती र चार पेलेनरी सत्र समावेश हुनेछन्। सम्मेलनमा परिवार नियोजन सेवा पूर्त वा अपूर्त माग सिर्जना कसरी गर्ने, माग परिवर्तन कसरी गराउने भन्ने बारेमा बहस हुनुका साथै परिवार योजनाको विस्तार गर्न तथा पहुँच बढाउन लिनुपर्ने रणनीतिक दिशा तय गरिने छ। साथै, परिवार योजना २०२० माथि भएका प्रतिबद्धताको कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख आरपी बिच्छाले बताए।
उनका अनुसार, ‘परिवार नियोजन सेवा जानुपर्ने ठाउँमा पुगेको छैन। यो सेवा अति आवश्यक पर्ने किशोर किशोरीहरुमा यसमा पहुँच पुगेकै छैन।’ उनले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने यकिन नभएको बताए। मन्त्रालयले कूल बजेटको दुई प्रतिशत बजेट यस क्षेत्रमा लगानी गर्छ। हालै सार्वजनिक एक अध्ययनका अनुसार अझै पनि ३४ प्रतिशत किशोर किशोरीको परिवार नियोजनको सेवामा पहुँच छैन। पहिलो सन्तानपछि सुत्केरी अवस्थामा परिवार नियोजनका बारेमा उचित जानकारी दिने हो भने ८४ प्रतिशत महिलाले परिवार नियोजनका विधि प्रयोग गर्दछन्। गत वर्षको सरकारी तथ्यांकमा गर्भपतन गराउनेको संख्या एक लाख माथि रहेको छ। सो तथ्यांकअनुसार गर्भपतन गराउनेलाई परिवार नियोजनका सेवाको पहुँच पुगेको छैन। पछिल्लो वर्षमा सरकारले परिवार नियोजनको सट्टामा परिवार योजनाले सम्बोधन गर्दै आएको छ।
कार्यक्रममा परिवार योजना पहुँचबाहिर परेकाहरुको समूहका प्रतिनिधि, सरोकारवाला संघसस्था, नेपाल सरकार परिवार योजना महाशाखा, विशेषज्ञ, अनुसन्धानकर्मीको सहभागिता रहनेछ। परिवार योजना महाशाखाका अनुसार नेपालमा अहिले पनि लक्षित समूह मध्येमा ९० प्रतिशतमा परिवार योजनाको ज्ञान रहे पनि ५० प्रतिशतले मात्र परिवार योजनाको साधन प्रयोग गरेको तथ्यांक छ।
प्रकाशित: ४ चैत्र २०७५ ०३:३४ सोमबार