बनेपा - गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम काभ्रेपलाञ्चोकमा पनि सुरु हुने भएको छ।
सरकारले काभ्रेस्थित धुलिखेल अस्पताललाई भक्तपुर र सिन्धुलीमा स्वास्थ्य बिमा गरेका नागरिकको प्रेषण(रेफरल) अस्पतालका रूपमा तोकेको भए पनि काभ्रेकै बासिन्दा भने यो सुविधाबाट वञ्चित थिए। ‘नमुनाका रूपमा धुलिखेल नगरपालिकामा स्वास्थ्य बिमाका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेका थियौं। तर यो कार्यक्रमले पूरै जिल्ला समेट्नुपर्ने भएकाले जिल्लाभर लागू हुने भएको छ,’ धुलिखेलका नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भने।
धुलिखेलको पहिलो नगरसभाले सबै नगरवासीको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको थियो। धुलिखेल अस्पतालको सामुदायिक स्वास्थ्य बिमाअन्तर्गत प्रत्येक व्यक्तिले बिमा गर्नुपर्ने भए पनि वार्षिक शुल्क धेरै भएका कारण आम नागरिकको पहुँचमा नहुँदा स्थगन अवस्थामा रहेको ब्याञ्जुले बताए। ‘बिमाको सहभागिता शुल्क ६ देखि ७ हजारसम्म पर्ने भएपछि यस कार्यक्रमलाई स्थगन राखेका थियौं। हामीले अस्पतालसँग चार चरणमा कुरा ग¥यौं। अब सरकारी बिमाबाटै सबैलाई सुरक्षण प्रदान गर्नमा सहयोग गर्नेछौं,’ उनले भने।
स्वास्थ्य बिमा बोर्डले काभ्रेमा कार्यक्रम सुरु गर्ने अभियानअन्तर्गत आइतबार धुलिखेलमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले भने, ‘सरकारले तोकेको २५ सय रुपैयाँ तिर्न नसक्ने अति गरिब, सन्तानविहीन, एकल महिला तथा पुरुषहरूलाई वार्षिक शुल्क नगरपालिकाले तिरिदिने योजना बनाएका छौं। यसबाट सबै नगरवासीलाई स्वास्थ्य बिमाको कभरेजमा ल्याउन सकिने आशा गरेका छौं।’
हालसम्म ३६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ। चालु आर्थिक वर्षबाट काभ्रेसहित १२ जिल्लामा यो कार्यक्रम थप हुने भएको हो।
कार्यक्रममा धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले नगरपालिका क्षेत्रमा ७ हजार ७ सय परिवार स्वास्थ्य बिमाका लागि योग्य रहेको जानकारी दिए। ‘यी सबैलाई बिमामा समेट्न सकेमा धुलिखेल एउटै नगरबाट १ करोड ९२ लाख ५० हजार शुल्क उठ्छ। त्यसैले पनि प्रत्येक वडामा बिमा कार्यक्रमबारे जानकारी गराउन अभियान नै थाल्ने भएका छौं,’ उनले भने।
काभ्रेका सबै तहका स्वास्थ्यकर्मीलाई बिमाबारे चैत १० गतेभित्र प्रशिक्षण दिइसक्ने लक्ष्य रहेको बोर्डका अधिकृत गुञ्जबहादुर जिसीले बताए। ‘काभ्रे जिल्लाबाट चैत मसान्तसम्ममा स्वास्थ्य बिमा गर्ने परिवारहरू २०७६ जेठ १ गतेदेखि बिमाको कभरेजमा आउनुहुनेछ। यस्तो बिमा बर्सेनि नवीकरण गर्नुपर्ने बाध्यकारी हुनेछ,’ उनले भने।
बोर्डका अनुसार हालसम्म मुलुकका ३६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ। चालु आर्थिक वर्षबाट काभ्रेसहित १२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम थप हुँदा यो ४८ जिल्लामा पुग्ने भएको छ। ‘यसपछि बाँकी जिल्लाहरूमा आर्थिक वर्ष ०७५÷७६ को अन्त्यसम्ममा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने गरी कामहरू भइरहेका छन्,’ अधिकृत जिसीले भने। तत्कालीन सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ मा कैलालीबाट यो कार्यक्रम सुरु गरेको थियो।
प्रकाशित: २८ फाल्गुन २०७५ ०४:२२ मंगलबार