काठमाडौं – खाद्यान्न संकट विश्वकै समस्या भएको छ। खाद्य अभाव भोगिरहेका अधिकांश देशका सरकार कमजोर छन्। त्यहाँ आन्दोलन र द्वन्द्वका घटना पनि अन्य देशको तुलनामा बढी हुने गरका छन्।
आज विश्वका धेरै ठाउँमा खाद्य सुरक्षा भयानक समस्याका बन्दै छ। बढ्दो जनसंख्या, जमिन र सिँचाइ अभाव यसका मुख्य कारण भएका यस क्षेत्रसम्बद्ध विज्ञहरू बताउँछन्। योसँगै मानिसको खानपानमा आएको परिवर्तन, खाद्यान उब्जनी हुने पकेट क्षेत्रमा खडेरी समस्या यसको अर्को कारण हो।
यस्तै खाद्यान्न निर्यात गर्नेभन्दा आयात गर्ने देशको वृद्धिले पनि थप समस्या उत्पन्न गरेको बताइन्छ। जलवायु परिर्वतनको समस्या बढ्दै जाँदा पन िखाद्यान संकट भविष्यमा झनै विकराल हुने उनीहरुको तर्क छ।
खाद्यान्नको महत्व युद्ध वा राष्ट्रिय संकटका समयमा अझै धेरै हुन्छ। नेपालमा २०७२ सालमा आएको भूकम्पपछिको केही महिना खाद्यान्न वितरणमा दातृ निकायले नै कुहिएको चामल बाँडेको थियो। राष्ट्रिय सुरक्षाका निम्ति पनि खाद्यान्न सुरक्षा एक महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ।
खाद्यान्नको महत्वलाई बुझेरै हुनुपर्छ सरदार यदुनाथ खनालले भनेका थिए, खाद्य सुरक्षाबिना राष्ट्रिय सुरक्षाको कल्पना हुन सक्दैन। कूटनीतिको एक अभिन्न अंग खाद्यान्न हो। कुनै पनि राष्टको कूटनीति तबसम्म सवल हुँदैन, जबसम्म त्यो देश खाद्यान्नमा आत्मनिर्भर हुँदैन।
पछिल्लो समय भेनेजुयलामा देखिएको राजनीतिक संकटले नै खाद्यान्न सुरक्षा राष्ट्रको सम्पूर्ण सुरक्षाका लागि कति आवश्यक छ भन्ने कुरा प्रस्ट्यााउँछ। पूर्वराजदूत जयराज आचार्य बताउँछन् उनको भनाइ छ– ‘पेटोलियम पदार्थको निर्यात र खाद्यान्न समग्री पूर्ण रुपमा आयात गर्ने भेनेजुयलाको समस्याले पनि खाद्यसुरक्षा राष्ट्रका लागि कति आवश्यक रहन्छ भन्ने कुरा दर्शाउँछ।’
परराष्ट्र नीतिको मुल चुनौती नै राष्ट्रिय सुरक्षाको सम्बद्र्धन गर्नु हो। राष्ट्रको सुरक्षा भनेको सीमा सुरक्षा मात्रै नभएर मानिसलाई दैनिक आवश्यक पर्ने कुराको सुरक्षा पनि हो।
आचार्य बताउँछन्, ‘खाद्यान्न सुरक्षाबिना राष्ट्रको आन्तरिक सुरक्षा सबल हुन सक्दैन। परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्दा खाद्यान्न सुरक्षाको विषयलाई पनि ध्यान दिनुपर्छ।’अमेरिकी सहयोग संस्था यूएसएडका अनुसार ‘स्वथ्य जीवनका लागि पोषणयुक्त पर्याप्त खानामा भौतिक र आर्थिक पहुँच हुनु नै खाद्य सुरक्षा हो।’
आर्थिक वर्ष ०७४/७५ मा मात्रै नेपालले करिब ४४ अर्ब ५८ करोड ४२ लाख, २१ हजार ८ सय ६१ रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको राष्ट्रिय व्यवसाय प्रवद्र्धन विभागको तथ्यांकले बताउँछ। कुनै समय खाद्यान्न निर्यात गर्ने देश रहेको नेपालीको भान्सा खाद्यान्नबेगर चल्न थालेको तथ्यांकले नै बताउँदै गएको छ।
गएको एक दशकामा मात्र पाँच प्रतिशत जनताको अधीनमा रहेको करिब ३० हजार ८ सय ४५ हेक्टर जमिन बाँझो रहको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। यसको मुल कारण मौसम तथा जलवायु परिर्वतनलाई लिइएको छ। खेतीयोग्य जमिन (७६ प्रतिशत) अनियमित वर्षाका कारण प्रभावित हुने गरेको विभाग बताउँछ।
यसै पनि पहाडी क्षेत्रमा जाडोयाममा खासै उब्जनी हुँदैन त्यसको मुख्य कारण पर्याप्त वर्षा नहुनु हो। त्यसमाथि नेपालका हिमाली क्षेत्र जलवायु परिवर्तनको चपेटामा पर्दा नेपालमा खाद्यान्न संकट निम्तिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
राष्ट्रिय तथ्यांक विभाग र राष्ट्रिय व्यवसाय प्रवद्र्धन विभाग भन्छ– नेपालको कुल खेतीयोग्य जमिनमा भएको उत्पादनले खाद्य सुरक्षा अवस्था कमजोर छ।’
तर, खाद्य गुणस्तर तथा प्रविधि विभागका वरिष्ठ अधिकारी पूर्णचन्द्र अवस्थी भन्छन्, ‘नेपालको खाद्य सुरक्षाको अवस्था राम्रो छ। मानिसको आफ्नो चाहनाअनुसार खाद्यान्न बाहिरी देशबाट मगाउँछन्। देशको खाद्य सुरक्षा राम्रो नभएको भन्न मिल्दैन।’ खाद्यान्न निर्यात गर्ने मानिसको व्यक्तिगत चाहना भएकाले त्यसलाई राज्यले रोक्न नसक्ने बुझाइ छ अवस्थीको।
विश्व भोकमरी सूचकांक २०१८ अनुसार नेपाल ७२ औं स्थानमा छ।
दक्षिण एसियाका भारत, पाकिस्तान बंलादेशभन्दा नेपालको अवस्था राम्रो हो। तर, बढ्दो रुपमा रहेको खाद्यान्न आयातको विवरणले भने नेपाल झन् झन् खाद्य संकटतर्फ धकेलिँदै जाने देखाएको छ।
प्रकाशित: २६ फाल्गुन २०७५ १२:२७ आइतबार