२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

काठमाडौं - ‘चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन्। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि महिलालाई सम्बोधन गर्दैै भाषण गरेकी थिइन्। केही समयको अन्तरालमै यान्छीलाई एक्कासि मञ्चमा नृत्य पोशाकमा देख्दा दर्शक त्यसै पनि छक्क परेका थिए। त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्, तब दर्शकको आश्चर्यको सीमा नै रहेन। चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो।

शुक्रबार एक सय नबौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सबैले आ–आफ्नै ढंगबाट मनाइरहँदा चिनियाँ दूतावासले आयोजना गरेको नेपाली महिलासँगको जमघटमा राजदूत यान्छीले सम्बोधनसँगै नृत्य पनि गरेकी हुन्। नेपाली गीतमा गरिएको सामूहिक नृत्यमा राजदूत यान्छीले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनी नेपाली गीतमा नाच्दा उपस्थित नेपाली महिला पनि दंग देखिए। राजदूतसँगै ९ जनाले नृत्य प्रदर्शन गरे। उनको नृत्यपछि बधाई दिनेको भीड लागेको थियो। यान्छी राजदूत बनेर नेपाल आएको दुई महिनामात्रै भएको छ।

कार्यक्रममा सहभागी मन्त्री थममाया थापा, प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्य, सांसदहरू पम्फा भुसाल, अमृता थापा, आरजु देउवा, पुष्पा भुसाललगायतले राजदूत यान्छीको नृत्यको निकै प्रशंसा गरेका थिए। ‘नेपाली गीतमा नाचेको देखेर निकै खुसी लाग्यो। राजदूतको निकै राम्रो कला रहेछ’, महिला नेत्री देउवाले भनिन्। नेपाली गीतमा चिनियाँ महिलाले नृत्य प्रस्तुत गर्दा दुई देशको संस्कृति आदानप्रदान भएको उपस्थित महिलाले बताए।

शुक्रबार एक सय नबौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सबैले आ–आफ्नै ढंगबाट मनाइरहँदा चिनियाँ दूतावासले आयोजना गरेको नेपाली महिलासँगको जमघटमा राजदूत यान्छीले सम्बोधनसँगै नृत्य पनि गरेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापालाई प्रमुख अतिथि बनाई कार्यक्रममा बोलाइएको थियो। मन्त्री थापाले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिन्। उनले कार्यक्रममा नेपालको संविधानले महिलाको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गरेको उल्लेख गरिन्। मन्त्री थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई संसारभर श्रमिक महिलाको चाडका रुपमा मनाइने गरेको बताइन्। ‘महिलालाई सम्पूर्ण क्षेत्रमा समान अधिकार दिनुपर्छ’, मन्त्री थापाले भनिन्, ‘संविधानमा महिला अधिकारको कुरा समावेश गरिएको छ। प्रभावकारी कार्यान्वयन गर्न बाँकी छ।’ उनले नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरिन्।

राजदूत यान्छीले महिला दिवसको अवसरमा शुभकामना दिंदै अर्थतन्त्र, राजनीतिलगायतका क्षेत्रमा महिलाले महत्वपूर्ण योगदान पु-याएको उल्लेख गरिन्। आफू नेपाल आएको दुई महिनामै नेपाली महिला विभिन्न क्षेत्रमा सक्रिय भएको देखेको उनले बताइन्। उनले नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै भनिन्, ‘चीन र नेपाल नदी र पहाडले जोडिएका मैत्रीपूर्ण छिमेकी हुन्। दुई मुलुकले महिला क्षेत्रको आदानप्रदान र सहकार्य घनिष्ट छ।’ उनले थपिन्, ‘चीन र नेपालबीच महिलाको सहकार्यलाई समर्थन छ।’ हरेक वर्ष चीनको मौलिक कला प्रदर्शनसहित दूतावासले महिला दिवस मनाउने गरेको छ।

प्रकाशित: २५ फाल्गुन २०७५ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App