८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा धमाधम ढलान

रसुवाको स्याउबारी–सोले सडक खण्डमा ढलान गरिँदै। तस्बिरः हिमनाथरनागरिक

रसुवा - पासाङ ल्हामु मार्गको रसुवा खण्डमा ढलान गर्न सुरु भएको छ। कालोपत्रे नभएका स्थानमा ढलान गर्न थालिएको हो। जिल्लाको स्याउबारीदेखि सोलेसम्म सडक ढलान भइरहेको सडक डिभिजन नुवाकोटले जनाएको छ। हिलो भएर गाडी फस्ने ठाउँमा ढलान भइरहेको डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए। ‘हिलोमा गाडी फस्ने समस्या समाधानका लागि काम गरिरहेका छौं,’ उनले भने, ‘आउँदो असार मसान्तसम्ममा काम सक्ने योजना छ।’ यसका लागि १ करोड ३० लाख रुपैयाँ खर्च हुने उनले बताए। आठ इन्चको ढलान दुई लाइनमा भइरहेको छ।

एक लाइन ढलान गरुञ्जेल अर्को लाइनबाट गाडी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। सडकमा ढलानका साथै रिटेनिङ वाल लगाउने, उप्किएका पिच टाल्ने लगायतका कामलाई पनि निरन्तरता दिइएको डिभिजन प्रमुख शाक्यले जानकारी दिए। नाका जोड्ने सडक भए पनि लामो समयसम्म मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको थियो। २०४२ सालमा सदरमुकाममा पहिलोपटक जिप आएको थियो। त्यसको दुई वर्षपछि स्याफ्रुसम्म सडक निर्माण भएको थियो। २०६७ सालमा चीन सरकारको सहयोगमा रसुवागढी नाकासम्म सडक जोडिएको हो।

एसियाली विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोगमा २०७० सालमा स्याफ्रुसम्म कालोपत्रे गरिएको थियो। पिच गर्न करिब चार वर्ष लागेको थियो। पहिरो गएका स्थान राम्चे तथा मूलखर्क क्षेत्रमा कालोपत्रे गरिएको थिएन। बेत्रावतीदेखि राम्चेसम्म रसुवा कन्स्ट्रक्सन र राम्चेदेखि स्यापु्रmबेंसीसम्म कालिका कन्स्ट्रक्सनले पिच गर्ने जिम्मा लिएका थिए। यो सडक जिल्लास्तरीय सडकको वर्गीकरणमा पर्छ। सडक खण्डको राम्चेदेखि रसुवागढीसम्म आधा दर्जन स्थानमा ठूल्ठूला पहिरा गएका छन्। राम्चे, मूलखर्क, खोपाङ भीर, सानो भार्खु, फ्याङलुङ, घट्टेखोला लगायतका स्थानमा ठूला पहिरा गएका छन् भने यही क्षेत्रमा सानातिना पहिरा धेरै क्षेत्रमा गएको छ।

‘हिलोमा गाडी फस्ने समस्या समाधानका लागि काम गरिरहेका छौं,’ सडक डिभिजन नुवाकोटका प्रमुख निरज शाक्यले भने, ‘आउँदो असार मसान्तसम्ममा सक्ने योजना छ।’

२०७१ मंसिरदेखि रसुवागढी नाकामा द्विदेशीय व्यापारिक कारोबार सुरु भएपछि यो सडकको चर्चा देशव्यापी रूपमा चुलिएको थियो। तर सडकको मर्मत सम्भार अभावमा चालक, यात्रु र व्यापारी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। जोखिमलाई मध्यनजर गर्दै सडक स्तरोन्नति थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘सडकको पूर्ण रूपमा स्तरोन्नति हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘आउँदो आर्थिक वर्षमा पनि यो कामले निरन्तरता पाउनेछ।’

‘साँघुरो सडक, पर्याप्त बजेट नआउनु र वैकल्पिक मार्ग नहुँदा पूर्ण रूपमा स्तरोन्नति गर्न नसकिएको हो,’ उनले थपे। उनका अनुसार मैलुङ–स्याफ्रुबेंसी सडक खुलेपछि यसको पूर्ण रूपमा स्तरोन्नति हुनेछ। आवश्यक बजेटका लागि प्रदेश ३ काम मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकारलाई अवगत गराइएको सडक डिभिजन प्रमुख शाक्यले जानकारी दिए। ‘२०७० सालभन्दा पहिले ६ महिना सडक बन्द हुने गरेको रहेछ,’ उनले भने, ‘सडक सुरक्षाका कारण पनि हाम्रो समन्वयमा काम अघि बढाइएको छ।’

प्रकाशित: १९ फाल्गुन २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App