४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डिन पाठकलाई कारबाही गर्न माग

विराटनगर – भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोप लागेका डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्।

७८ लाख भ्रष्टाचार काण्डमा जोडिएका व्यक्तीलाई विश्वविद्यालयको डिन पदमा राखिराख्दा विश्वविद्यालयको प्रतिष्ठामाथि नै आँच आउने भएकाले तत्काल निलम्बन गर्न मागसहित विश्वविद्यालयको ध्यानाकर्षण गरिएको पूर्वाञ्चल विश्वविद्यालय डेमोक्रेटिक प्रोफेसर एसोसियसनका अध्यक्ष यज्ञराज कट्टेलले जानकारी दिए। उनले भने, ‘घुस प्रकरणमा विवादित डिन भएकाले कारबाही गर्न विश्वविद्यालयसँग ध्यानाकर्षण गरिएको हो।

अख्तियारका आयुक्त राजनारायण पाठकले इञ्जिीनयरिङ कलेज विवादको मुद्दा तामेलिमा राखिदिने भन्न्दै भाइ शुभनारायण पाठकका माध्ययमबाट पटक–पटक गरी ७८ लाख रुपैया“ घुस लिएका थिए। घुस प्रकरणमा दाजुभाइको सेटिङबारे पत्रपत्रिकामा समाचार प्रकाशित भएको थियो।

घुस प्रकरणको समाचारमा डिन शुभनारायण पाठकको नाम जोडिएको र प्राध्यापकहरूले पनि कारबाही गर्न माग गरेकाले विश्वविद्यालयले कानुनी परामर्श सुरू गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले विश्वविद्यालय संग सम्बन्धित घटना नभएकाले डिनको संलग्नताका विषयमा जानकारी नभएको बताए। दासका अनुसार डिनको विषयमा पत्रपत्रिकामा समाचार आएकै भरमा कार्वाही गर्न सकिने अवस्था नगरेको स्पष्ट पारे।

दासले भने‘पत्रिकामा समाचार आएकै आधारमा कारबाही गर्ने कुरा त आएन।’ दासले कारबाही गर्नका लागि अख्तियारले पत्र पनि नपठाएको, अदालतमा मुद्दा पनि नपरेकाले बिनाआधार कारबाही गर्न सक्ने स्थिति नरहेको बताए। तर विश्वविद्यालयले कानुनी सल्लाहकारसँग परामर्श गरिरहेको दासले जानकारी दिए। ‘कानुनी सल्लाहकारलाई डिनको विषयमा सल्लाहका लागि पठाएका छौं,’ उनले भने, ‘कानुनी सल्लाहकारबाट आउने सुझावका आधारमा विश्वविद्यालय अघि बढ्छ।’

अख्तियारकै दबाबमा दोस्रोपटक डिन
शुभनारायण पाठक पूर्वाञ्चल विश्वविद्यालयमा दोस्रो कार्यकालका लागि डिन पदमा कार्यरत छन्। उनले यसअघि ४ बर्षे पदावधि सम्पन्न गरिसकेका थिए। दुई वर्ष पहिले अख्तिायारकै सहायता लिएर दोस्रो कार्यकालका लागि नियुक्त भएको स्रोतले जनाएको छ। दाजु राजनारायण पाठक अख्तिायारको आयुक्त भएका कारण उनकै दबाबमा दोस्रो कार्यकालका लागि डिन नियुक्त भएका थिए। पूर्वाञ्चल विश्वविद्यालयको डिन भए पनि अधिकांश समय काठमाडौंमा नै बिताउँदै आएको स्रोतले जनाएको छ। उनको स्थायी बसोबास पनि काठमाडौं नै हो। उनी पुलचोक इञ्जिनियरिङ अध्ययन संस्थानबाट काजमा सरुवा भई पूर्वाञ्चल विश्वविद्यालयमा डिन बनेर आएका हुन्।

पाठक डिनमा नियुक्त भएपछि पूर्वाञ्चल विश्वविद्यालयबाट एउटा कलेजलाई सम्बन्धन दिने आश्वासन दाजु राजनारायणले एक व्यक्तिलाई दिएका थिए। तर, विश्वविद्यालयले नयाँ सम्बन्धन रोकेका कारण उनले सम्बन्धन दिन सकिरहेका थिएनन्। सम्बन्धन दिने प्रलोभनमा पारेर डिनमा नियुुक्ति हुन सफल मात्रै भएनन् १५ लाख रुपैया“ पनि कुम्ल्याउन भ्याएका पाठकले काम नगरिदिएपछि आश्वासन दिएका व्यक्ति र दाजुसमेतको दबाबमा पर्दै आएको विषयमा समाचारहरू प्रकाशित भएका थिए। शुभनारायण नै बिचौलिया बनेर अख्तिायरको मुद्दा तामेलिमा राख्ने भन्दै ७८ लाख रुपैयाँ लिएको घटना पनि बाहिरिए पछि पाठक थप तनावमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App