२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बागलुङको छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बागलुङ– जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीमा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। छिस्ती स्थित जनकल्याण माविको वार्षिकोत्सव मनाएर फर्किएका विद्यार्थी र अभिभावक बोकेको ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा चार जनाको मृत अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीवी कोइरालाले बताए। मृतकहरुको पहिचान खुलेको छैन।

‘चार जनाको मृत्यु भएको भन्ने जानकारी आएको छ, पुष्टि भएको छैन। टोली उद्धारमा पुगेको रातको बेला भएका कारण समस्या भएको छ,’ उनले भने, ‘ड्राइभर पनि घाइते भएका कारण सनाखत हुन सकेको छैन। सात जनालाई उद्धारपछि बागलुङतर्फ थप उपचारका लागि पठाइएको जानकारी आएको छ।’ 

पिक अप जीपमा २५ देखि ३० जनाको संख्यामा यात्रु भएकाले ओभर लोडका कारण भीरमा दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। जीप करिब सात सय मिटर तल खसेको र रात परिसकेको कारण उद्धारमा समस्या भएको जैमिनी—८ का वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए।

दुर्घटनामा ठूलो क्षति पुगेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मी लगायतको सुरक्षा टोली सहित त्यसतर्फ गएका छन्। धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेल, डा. प्रवेश श्रेष्ठ र डा. विपीन सुवेदी सहितको स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको धौलागिरी अञ्चल अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिए। 

प्रकाशित: ७ फाल्गुन २०७५ १५:३६ मंगलबार

दुर्घटना बागलुङ जिप