काठमाडौं - बाग्मती नदी सफाइ महाअभियान सुरु भएको तीन सय साता पुगेको छ। झन्डै बिलाउने अवस्थामा पुगेको बाग्मती पाँच वर्षभन्दा लामो अनवरत प्रयासपछि फेरि जीवन्त बन्ने बाटोमा छ। कुनै बेला पानी पिउन योग्य भएको बाग्मती नदी उपत्यकाको बस्ती विस्तारसँगै फोहोर फाल्ने थलो बन्यो। ढलले बाग्मतीलाई ढलमती त बनायो नै, त्यही फेरमा सुकमबासीको नाममा हुकुमबासीले यसले चर्चेको जमिन कब्जा गरे। यो समस्या कति ठाउँमा अझै पनि छ।
पाँच वर्षअघि बाग्मतीको मुहान बागद्वारदेखि चोभारसम्म एक साता लामो विस्तृत स्थलगत अध्ययन गर्दा हामीले जे देखेका थियौं, त्यो अवस्थाबाट बाग्मती केही भए पनि परिवर्तन भइसकेको छ। यो नदीको संरक्षण गर्न विभिन्न तरिकाबाट प्रयास भइरहेका छन्। तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको सक्रियतामा बाग्मती सफाइ महाअभियान सुरु भयो, जुन अहिलेसम्म निरन्तर छ।
अहिले बाग्मती सफाइ अभियानमात्र होइन, विभिन्न पूर्वाधार निर्माण पनि थालिएको छ। सहायक नदीको सफाइ, हरियाली कार्यक्रम, फोहोर व्यवस्थापन, पानीको बहाव बढाउने प्रयास भइरहेका छन्। एसियाली विकास बैंकको सहयोगमा ३ करोड ६० लाख डलर (झन्डै सबा ४ अर्ब) को बाग्मती सुधार आयोजनाअन्तर्गत सुरु भएको काम २०७७ मा सकिँदैछ। अभियानमा हालसम्म ७ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको छ। दोस्रो चरणको योजनासमेत बनिसकेको छ।
दोस्रो चरणको कार्यक्रम सुरु हुँदा बाग्मती नदीको मात्र होइन, वरपर रहेका मठमन्दिर, पुरातात्विक महत्वका संरचनाको संवद्र्धन र संरक्षणको योजनासमेत अगाडि सारिएको आयोजनाका उपनिर्देशक प्रभात श्रेष्ठले बताए। बाग्मती सफाइ र संरक्षण लामो यात्रा भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक आशिष घिमिरेको बुझाइ छ। यो काम चुनौतीपूर्ण, खर्चिलो र समय लाग्ने खालको छ। ‘ढल मिसाइएको नदी सफा गर्न केही समय लाग्छ,’ घिमिरेले भने, ‘अहिले जेजति काम भएका छन्, यी उत्साहप्रद नै छन्।’
अहिले बाग्मतीमा भएको काम सुस्त होला तर यसले के कुरा स्पष्ट पार्छ भने बिलाउनै लागेको बाग्मतीलाई अब भने कसैले समाप्त पार्न सक्नेछैन। यसले आफ्नो धार समातिसकेको छ। स्थानीयले बाग्मती संरक्षणलाई आफ्नो दायित्वका रुपमा लिइसकेका छन्, जुन बाग्मती संरक्षणमा सबैभन्दा ठूलो सफलता हो।
गोकर्णदेखि सिनामंगलसम्म संरचना निर्माण
गोकर्णदेखि सिनामंगलसम्मको नदी किनारमा संरचना निर्माण कार्य तीव्र छ। ७.२ किलोमिटर लामो यस खण्डमा नदीका दुवै किनारमा पर्खाल लगाउने काम भइरहेको छ। दुवै किनारको २० मिटरमा हरित क्षेत्र तथा पदमार्ग र साइकल लेन, पार्क, किरिया घरको निर्माण हुँदैछन्। त्यसैगरी यो क्षेत्रका विभिन्न ११ ठाउँमा ‘वेयर’ निर्माण हुँदैछ। यी वेयरवरपर प्रत्येकमा तीनवटा भकारी हुनेछन्। यस्ता वेयरले पानीमा अक्सिजन घुल्न सघाउनेछन् जसले गर्दा बाग्मतीको पानी थप सफा हुने इन्जिनियर मिहिरचन्द्र आचार्यले बताए।
यस क्रममा गोकर्ण र पशुपति क्षेत्रमा रहेका पुराना दुई सिँचाइ प्रणालीलाई व्यवस्थित गरिनेछ। यी कार्यको सबै तयारी पूरा भएको छ र निर्माणको जिम्मेवारी कालिका–रान्केन लामा जेभीले पाएको छ। निर्माणको क्रममा आयोजनाले सम्बन्धित क्षेत्रका स्थानीयसँग समन्वय र सहकार्य पनि गरिरहेको समितिले जनाएको छ। यसै महिनादेखि यो निर्माण कार्य सुरु हुँदैछ।
यस क्षेत्रमा बन्न लागेका पार्क एक वर्षभित्र समन्न गर्ने दाबी पार्क निर्माण कार्य हेरिरहेका बालीविज्ञ कृष्णबहादुर श्रेष्ठले बताए। ‘हामीले अर्को वर्ष माकलबारी क्षेत्रको पार्कमा फूल फुलाएर हेर्न लायक बनाउँछौं,’ श्रेष्ठले भने, ‘काम तीव्र रुपमा भइरहेको छ।’
स्थानीय सहभागितामा फोहोर व्यवस्थापन
बाग्मती नदी सफाइ महाअभियान सुरु भएपछि यसमा कर्मचारी, विभिन्न पेसा, संघसंगठनलगायत सर्वसाधारणको ठूलो सहभागिता भयो। यसैबीचमा स्थानीय सहभागिता भएन भन्ने विषय उठ्यो, जुन जायज र महत्वपूर्ण थियो। बाग्मती नदीको फोहोर हरेक साता उठाएर फाले पनि स्थानीय सहभागिताबिना अभियानको उद्देश्य पूरा हुँदैन भन्ने आवाज उठ्यो। ‘जबसम्म स्थानीय बासिन्दाले सफाइ अभियानमा अपनत्व अनुभव गर्दैनन् तबसम्म यो नदी सफा हुदैन,’ माकलबारीका स्थानीयसमेत रहेका बाग्मती सुन्दरता सरोकार मञ्चका संयोजक उत्तम पुडासैनीले नागरिकसँग भने, ‘हामीले यो कुरा लीलामणि पौडेल (तत्कालीन मुख्यसचिव) ज्यूसँग राख्यौं।’ सफाइ अभियान जसरी सुरु भएको थियो, त्यो शैलीमा केही फरक मत आफूहरुको रहेको उनले बताए।
महाअभियान सुरु भएको ३९ औं हप्तामा स्थानीयले आ–आफ्नो क्षेत्रबाट सफाइ अभियान सुरु गरेको उनी बताउँछन्। उनको क्षेत्रमा पुडासैनी समाज गठन गरेर माकलबारी क्षेत्रको सफाइ अभियानमा सहभागी भए। स्थानीय संगठित भएर अभियानमा संलग्न हुने क्रम तीव्र रुपमा बढ्यो। सुन्दरीजलदेखि सिनामंगलसम्म यस्ता करिब ४ सय समाज र संस्था सक्रिय भए। सबै संघसंस्थाले आआफ्नो तरिकाले सफाइ गरिरहे। पछि धेरै संस्था एकजुट भएर काम गर्दा अझ राम्रो हुने भन्दै बाग्मती सुन्दरता सरोकार मञ्च गठन गरिएको पुडासैनीले बताए।
बाग्मती सफाइ अभियान निकै चुनौतीपूर्ण थियो। दिउँसो सफा गरिएको बाग्मतीमा राति फोहोर फालिन्थ्यो। मान्छेको मन नै सफा नभएपछि जति प्रयत्न गर्दा पनि नहुने पुडासैनीको अनुभव छ। ‘बाग्मतीलाई माध्यम बनाएर मान्छेको मन सफा गर्ने अभियान हो यो,’ उनी भन्छन्, ‘सबैभन्दा पहिला मन सफा भयो भने बाग्मती सफा हुन्छ।’
यही सूत्र लिएर स्थानीयको सहभागितामा घरघरमा पुगेर फोहोर फाल्न नहुने जनचेतना अभियान सुरु गरियो। प्रत्येक व्यक्तिलाई बाग्मतीमा फोहर फाल्नु पाप हो भन्ने सन्देश फैलाउँदै जादा अहिले यो अभियान सार्थक बनेको पुडासैनीको अनुभव छ। ‘पहिला हरेक घरबाट बाग्मतीमा फोहर फाल्न जान्थे,’ पुडासैनी भन्छन्, ‘अहिले त्यो सोच्न पनि सक्दैनन्।’
यसबीचमा स्वयंसेवक समूहसमेत बनाइयो। आइडिएस–नेपालको सहयोगमा २५ जनालाई तालिम दिएर स्वयंसेवक समूह बनाइएको छ। यसले सफाइ अभियानमा सहयोग पु¥याइरहेको छ। समूहले कसले फोहोर फाल्छ भनेर निगरानीसमेत गरिहेको छ। फोहोर फालेको देखिएमा तत्कालै समातेर पुलिसकोमा पु-याउने काम हुन्छ। कहिलेकाही लुकेर, रातिमा पनि बाग्मतीसम्म फोहोरको पोका पुग्छ। तरस्थानीयले त्यो पोकोलाई त्यत्तिकै छोड्दैनन्। ‘हामीले त्यो फोहोर कसले फालेको हो भनेर अनुसन्धान गर्छौ,’ माकलबारी टोल सुधार समितिका सचिव विनितराज अर्यालले भने, ‘फोहोर फाल्ने मान्छे पत्ता लगाएर छोड्छौं।’ फोहोर फाल्ने व्यक्ति पत्ता लगाउने तरिका पनि गज्जबको छ। उनीहरुले फोहोरको पोको खोल्छन्। पोकोमा कुनै न कुनै बिल, सहकारीको बिल, होटलको खाता, बच्चाहरुले लेखेको जानकारी, रिचार्ज कार्डका नम्बरलगायत जानकारीमूलक सामग्री भेटिन्छन्। त्यही जानकारीका आधारमा मान्छे खोज्दै जाँदा फोहोर फाल्ने व्यक्ति भेटिने गरेको उनले सुनाए। अर्यालले भने, ‘हामीले ६०–७० जनालाई यसै तरिकाबाट समातेका छौं।’ ढेड दुई वर्षदेखि उनी यो तरिका अपनाइरहेका छन्।
बाग्मतीबाट बालुवा चोरी ठूलो समस्याका रुपमा थियो। रातभरिमा ट्रकका ट्रक बालुवा चोरी हुन्थ्यो। अहिले त्यो भएको छैन। अहिले बालुवा चोरी शून्यप्रायः छ तर केही व्यक्तिले एकदुई बोरा भरेर लैजाने समस्या भने छ।
फोहोर व्यवस्थापनको काइदा
बाग्मती छेउछाउको प्रमुख चुनौती त्यहाँ उत्पन्न हुने फोहोर हो। कुहिने र नकुहिने दुवै किसिमको फोहोर घरबाट निस्केपछि सीधै बाग्मतीमा पुग्थ्यो। फोहोरलाई घरमै व्यवस्थापन गर्नसके सबैभन्दा उत्तम हुन्छ भनेर फोहोर व्यवस्थापनका विभिन्न उपाय निकालियो। अहिले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै तरिकाबाट व्यवस्थापना गर्ने तरिका अपनाइएको छ। यसका लागि माकलबारी क्षेत्रमा झन्डै एक हजार कम्पोस्ट बिन वितरण गरिएको छ। यो कुहिने फोहोरलाई मल बनाउन प्रयोग गरिने प्लास्टिकको भाँडो हो। बिन स्थानीयले आफ्नो घरमा उत्पन्न भएको कुहिने फोहोर मल बनाउन प्रयोग गरिरहेका छन्।
‘यो भाँडो ल्याएदेखि धेरै सजिलो भएको छ,’ बिन प्रयोग गरिरहेकी माकलबारी प्रगति चोककी शोभा भट्टराईले भनिन्, ‘फोहोर राख्न पनि सजिलो, मल पनि बन्ने।’ सोही क्षेत्रकी दुर्गा श्रेष्ठले करेसामा तरकारी लगाउन मल खोज्न जानुनपरेको अनुभव सुनाइन्।
नकुहिने फोहोर व्यवस्थापन गर्न पनि विभिन्न तरिका अपनाइएको छ। नकुहिने प्लास्टिकजन्य फोहोरलाई मोहरमा बदल्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति हुन् रामहरि श्रेष्ठ। माकलबारी टोल सुधार समितिको संयोजकसमेत रहेका श्रेष्ठका परिवारले प्लास्टिक, दूधका प्याकेट, चियापत्तीका खोल र अन्डा प्रयोग गरेर विभिन्न सामग्री बनाइरहेका छन्। ‘प्लास्टिक प्रयोग गरेर टिम्याट, टेबल–म्याट, लुगा धुन र नुहाउन प्रयोग गरिने वस्तुहरु बनाइरहेको छु,’ उनले भने, ‘मैले विभिन्न सातआठ होटल र स्थानीयबाट प्लास्टिक संकलन गर्छु।’ श्रेष्ठले यी सामग्री बनाउने विधि आइडिएसले दिएको तालिममा सिकेका हुन्। यसबाट ७० प्रतिशत फोहोर व्यवस्थापन गर्न सकिएको उनले बताए।
बाग्मतीको पानी आउने स्रोतमा पनि फोहोर नहोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। शिवपुरी वन क्षेत्रमा रहेका मूलखर्क, कुनेसहित चार गाउँमा जलाधार संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। यी चार गाउँबाट निस्कने फोहर बाग्मतीमै मिसिने भएकाले त्यहाँको फोहोर व्यवस्थापन पनि अत्यन्तै जरुरी छ। मूलखर्क नागमती नदीको शिरान हो। नागमती बाग्मतीमा आएर मिसिन्छ।
त्यहाँ प्रयोग हुने प्लाटिक, वन जंगल विनाश, कीटनासक औषधीको प्रयोग, रक्सी उत्पादनबाट हुने हानिलगायतका समस्या समाधान गर्न भनेर स्थानीयको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जनजागरण महिना समूहकी अध्यक्ष दावा ग्याल्मु शेर्पाले बताइन्। ‘हामीले सीपमूलक तालिम, अर्गानिक खेती, प्लास्टिक व्यवस्थापनको काम गरिरहेका छौं,’ शेर्पाले भनिन्, ‘पहिले यत्रतत्र प्लास्टिक फालेर धेरै समस्या थियो। अहिले यो क्षेत्र सफा छ।’
त्यस्तै शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र बाग्मती नदीको स्रोत भएकाले यसको संरक्षण गर्न भनेर सुन्दरिजल शिवपुरी मध्यवर्ती व्यवस्थापन समिति सक्रिय छ। यस समितिमा विभिन्न ११ वटा समिति संलग्न छन्। तिनैमध्येको एउटा समितका संयोजक नारायण श्रेष्ठले यो क्षेत्रमा धेरे समस्या रहेकोमा अहिले विस्तारै समाधान हुँदै गएको बताए।
धाप ड्याम बन्ने
बाग्मती नदीमा पानी बगाउनु अबको मुख्य चुनौती हो। बाग्मती नदीको सफाइ, संरक्षणसँगसँगै यसमा पानीको बहाव बढाउन आवश्यक छ। बाग्मती नदी संरक्षणका विभिन्न कार्यक्रमसँगसँगै पानीको स्रोत बचाइराख्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत मूलखर्क क्षेत्रमा धाप ड्याम बन्ने क्रममा छ।
सुख्खा समयमा पानीको कमीले प्रदूषण बढिरहेको तथ्यलाई ध्यान दिई बाग्मतीको माथिल्लो भेगमा पानी जम्मा गर्न र सुख्खायाममा नदी प्रणालीमा प्रवाह गर्न बाँध निर्माण सुरु भएको हो। २ सय ५८ रोपनी जमिन ओगट्ने गरी २४ मिटर अग्लो धाप बाँध बनाउन लागिएको बाग्मती सुधार आयोजनाका उपनिर्देशक प्रभावत श्रेष्ठले बताए।यस बाँधमा ८ लाख ५० हजार घनमिटर पानी संकलन गरिनेछ। सो पानी सुख्खा याममा नदीको बहाव स्थिर राख्न उपयोगी हुने विश्वास छ। करिब ५२ करोडको लागतमा गुन्जाउ लामा रमन जेभीले यो बाँध बनाइरहेको छ।
यसका साथै आयोजनाले नागमती बाँधका लागि पनि प्रारम्भिक कार्य अघि बढाएको छ। यसको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन सुरु भइसकेको छ। यो प्रस्तावित बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ। यो बाँधबाट २.१२ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ।
यी बाँधहरु सँगै पानीको बहाव सुनिश्चित गर्न आयोजनाले शिवपुरी जलाधार क्षेत्रको खेती गरिएको र पहिरो जान सक्ने १२.५ हेक्टर भिरालो जग्गामा पहिरो रोक्ने र विकास तथा आयआर्जनका अन्य अवसरको प्रवद्र्धन गर्न विशेष कार्यक्रम तय गरेको छ। को कार्य आइडिएस नेपाल र सिजेडमार्फत अघि बढाइएको हो।
समस्या
यो अभियानको मुख्य लक्ष्य बाग्मतीमा सङ्लो पानी बगाउनु हो। यो लक्ष्यसम्म पुग्न समस्या र चुनौती धेरै छन्। नदीको पानीको बहाव घट्दै जानु अहिलेको मुख्य समस्या भएको प्रभात श्रेष्ठ बताउँछन्। पानीका स्रोत घट्ने, नदी साँगुरिनु र मानव हस्तक्षेप धेरै हुँदा पानीको बहाव घटेको छ। यसले गर्दा यो नदीमा जलचर प्राणी बाँच्न नसक्ने अवस्था छ।
बाग्मती नदी हिँड्ने बाटो साँगुरो र गहिरो हुँदै गएको छ। यसले नदीको प्राकृतिक स्वरुप नै बिगारेको छ। नदीमा ढल मिसिन त कम भएको छ तर ढल व्यवस्थापन अहिलेको अर्को ठूलो चुनौती हो। हाल ढल प्रशोधन केन्द्र एउटामात्र छ। यसले पनि राम्रोसँग काम गर्न सक्ने अवस्था छैन। बाग्मतीलाई साँच्चिकै सफा बनाउने हो भने १५–२० वटा ढल प्रशोधन केन्द्र चाहिने समितिका निर्देशक घिमिरे बताउँछन्। ‘अहिले केही व्यक्तिले ६–७ अर्ब खर्च गरेर केही गरेनन् भन्नुहुन्छ,’ उनले भने, ‘यहाँका हरेक समस्या समाधान गर्दै सङ्लो पानी बगाउने हो भने ५०औं अर्ब ढल प्रशोधन केन्द्रलाई मात्र लाग्छ।’
बाग्मती नदीमा मिसिने सातवटा सहायक नदीबाट आउने फोहोर पानीको व्यवस्थापन पनि समस्याका रुपमा रहेको छ। सहायक नदीको किनारमा विभिन्न खालका उद्योगधन्दा र बस्तुभाउका गोठ छन्। बालुवा चाल्ने उद्योगले पानी फोहोर गरिरहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ बताउँछन्। ‘अन्य वडाबाट पाँगो मिसिएको पानी गोकर्णेश्वर मन्दिरसम्म आइपुग्छ,’ श्रेष्ठले भने, ‘सूर्यमती खोलाबाट पाँगामाटो र पोलमतीबाट कालो माटो आउने समस्या छ।’
नदीवरिपरिको जमिन अतिक्रमण र दुरुपयोग समाधान गर्न नसकेको ठूलो समस्या हो। नदीको विभिन्न ठाउँमा जमिन अतिक्रमण गरेर बस्तीसमेत बसेको छ। सिनामंगल क्षेत्रमा रहेको सुकुमबासी बस्ती बाग्मती संरक्षणका लागि टाउको दुखाइको विषय बनेको छ। सुकुमबासीका नाममा हुकुमबासीको रजाइँ रहेको जानकार बताउँछन्। सरकारले उक्त बस्तीका बासिन्दालाई रामकोटमा सार्ने भनेर भवनसमेत निर्माण गरिसकेको छ तर पनि बस्ती सार्न सार्न सकेको छैन। पक्की भवनसमेत बनाएर सुकुमबासीको नाममा भाडा खान पल्केका, राजनीतिक पहुँच भएका हुकुमबासीले गर्दा यो सरकारलाई ठूलो चुनौती बनेको जानकारको भनाइ छ।
बाग्मतीको सुन्दरता हराएसँगै यसवरपर रहेको सांस्कृतिक सम्पदाको सौन्दर्य पनि हराउँदै गएको छ। यसको छेउमा थुप्रै मठमन्दिर, पाटीपौवा छन्, जोसँग काठमाडौंका बासिन्दाको सांस्कृतिक परम्परा जोडिएको छ। ती ठाउँलाई पुरानै अवस्था फर्काउन सकेमा यसले बाग्मतीको सुन्दरता थप्नेछ।
प्रकाशित: २६ माघ २०७५ ००:५५ शनिबार