१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माझीबस्तीमा कम्प्युटर सिक्न होडबाजी

कम्प्युटरमा टाइप गर्ने अभ्यास गर्दै पञ्चकौशिका आधारभुत विद्यालयका छात्रछात्रा। तस्बिर: दमन/नागरिक

खोटाङ -  दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने मञ्जु माझी विद्यालयमा कम्प्युटर टाइप सिकिरहेकी छिन्। विद्यालयकै कक्षा ८ का विद्यार्थी रामबहादुर माझी, कक्षा ७ कि छात्रा रचना माझी, सरस्वती राई, अभिशेष राई र विवस भुजेल पनि मञ्जुसँगै कम्प्युटर सिक्नमा व्यस्त छन्। विद्यार्थीको हात कम्प्युटरको किबोर्ड र माउसमा सलबलाइरहेका थिए भने आँखा स्क्रिनमा।

गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट सुनकोसीको किनारमा रहेको भँडारेघाटस्थित माझीबस्तीमा रहेको विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेपछि छात्र÷छात्राले कम्प्युटर कक्षा लिने अवसर पाएका हुन्। गाउँपालिकाभित्रका हरेक वडाका एक÷एक विद्यालयलाई नमुना बनाउने गाउँपालिकाको नीतिअनुसार माझी बस्तीमा रहेका द्यिालयमा पनि कम्प्युटर कक्षाको व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। हाल कक्षा ६ का २९, कक्षा ७ का २७ र कक्षा ८ का २३ जना छात्रछात्राले कम्प्युटर सिकिरहेका छन्। कम्प्युटर कक्षाले भँडारेघाट र सुनकोसी पारिका माझी समुदायका छाछात्रा बढी लाभान्वित भएका प्रधानाध्यापक पवनकुमार बस्नेतले बताए। ‘जसले कम्प्युटर देखे–जानेकै थिएनन्, उनीहरूले विद्यालयमै कम्प्युटर सिक्ने अवसर पाएका छन्,’ बस्नेतले भने, ‘कम्प्युटर कक्षाप्रति विद्यार्थीको लगाव लोभलाग्दो देखिएको छ। हामी पनि उत्साहित छौं।’

सुनकोसीमा जाल, पासो थापेर माछा मार्ने र डुंगा चलाउने पुख्यौली पेसा भएका माझी समुदायका बालबालिका हाल कम्प्युटरमा झुम्मिने गरेका छन्। घरायसी काम गरेर स्कुल आएका बेला कम्प्युटर चलाउन पाउँदा खुसी लागेको कक्षा ६ कि छात्रा मञ्जुले बताइन्।

पञ्चकौशिका आधारभूत विद्यालयमा खोटाङतर्फका भँडारेघाट, सानो भँडारे, रसुवाघाटका विद्यार्थी अध्ययनरत छन्। यसबाहेक उदयपुरको रौतामाई गाउँपालिकाको चनौटे, बिमिरे, बेलबोटे, सोरखु तथा लिङ्चिङबुङ गाउँपालिकाको लामाटारका विद्यार्थी समेत सुनकोसी तरेर पञ्चकौशिका आधारभूत विद्यालय आउने गरेका छन्। विद्यालयका अनुसार १९७ विद्यार्थीमध्ये ६७ माझी समुदायका छन्। यस विद्यालयमा खोटाङतर्फकाभन्दा बढी उदयपुरतर्फबाट आउने विद्यार्थी धेरै रहेको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर माझीले बताए।
विद्यालयमा मंसिर अन्तिम साताबाट कम्प्युटर कक्षा सुरु गरिएको हो। २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा कम्प्युटर कक्षा सुरु भएपछि सिक्न विद्यार्थीबीच होडबाजी चल्न थालेको छ। ‘कम्प्युटर कक्षाप्रति विद्यार्थी अति नै आकर्षित छन्,’ प्रअ बस्नेतले भने, ‘कुनबेला कम्प्युटर कक्षाको घन्टी बज्छ भनेर उत्सुक बनेर बसिरहेका हुन्छन्। घन्टी बज्नेबित्तिकै रमाउँदै कम्प्युटर चलाउन पुग्छन्।’ तल्ला कक्षाका विद्यार्थी पनि कम्प्युटर सिक्न आतुर छन्।

कम्प्युटर थोरै भएकाले पालैपालो चलाउने व्यवस्था मिलाइएको छ। छात्रछात्रालाई शिक्षक दुर्गाबहादुर बस्नेतले कम्प्युटरसम्बन्धी शिक्षा सिकाइरहेका छन्। छोटो समयमै विद्यार्थीले कम्प्युटरसम्बन्धी सन्तोषजनक प्रगति गरेको शिक्षक दुर्गाबहादुरको भनाइ छ। दिक्तेल–गाईघाट सडकले छोएको भँडारेघाटको सुनकोसी किनारमा २४ घर माझी समुदायको बसोबास छ। तर, हालसम्म सो बस्तीका सुब्बा माझी, भीम माझी र पदम माझीले मात्र एसइई पास गरेका छन्।

नजिक मावि नहुँदा पढाइ छाड्न बाध्य
नजिकमा मावि तह पढाउने विद्यालय नहुँदा भँडारेघाटका अधिकांश माझी समुदायका विद्यार्थीले आधारभूत तहबाटै पढाइ छाड्ने गरेका छन्। नजिक भनिएका माविमा पुग्न तीनदेखि साढे तीन घण्टा समय लाग्ने भएकाले भँडारेघाटका माझी विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन्। स्थानीय सुजन माझी, सुजन माझी (क), डगेन्द्र माझी, कुशल माझी, विशाल माझी, मनकुमारी माझीलगायत माझी विद्यार्थीले नजिकमा मावि नभएकै कारण कक्षा ८ पास गरेर पढाइ छाडिसकेका छन्। भँडारेघाटबाट तीनदेखि साढे तीन घण्टा हिँडेर छोरम्बुको सापातेलस्थित मीना–कर्ण माविमा पुग्नुपर्ने बाध्यताका कारण अधिकांश माझी विद्यार्थीले कक्षा ८ पास गरेपछि अध्ययनमा पूर्णविराम लगाउने गरेको पञ्चकौशिका आधारभूत विद्यालयका प्रअ बस्नेतले बताए। मावि तहको पढाइ पूरा गर्न डेरा लिएर बस्नुपर्ने तर त्यसका लागि आर्थिक अवस्था कमजोर नभएकाले माझी विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ। आधारभूत तहबाटै कक्षा छाड्ने विद्यार्थीलाई ध्यानमा राखेर पञ्चकौशिका आधारभूत विद्यालयलाई नै मावि बनाउन अभिभाकले लबिइङ गरिरहेको जानकारी प्रअ बस्नेतले दिए।

प्रधानाध्यापकलाई कम्प्युटर तालिम
रावाबेंसी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकहरूलाई कम्प्युटरसम्बन्धी तालिम दिएको छ। गाउँपालिकाभित्रका उच्च मावि, मावि, आधारभूत र प्रावि तहका प्रधानाध्यापकलाई कम्प्युटरसम्बन्धी आधारभूत सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो। आइइएमआइएस सफ््टवेर अनुसार काम गर्न सक्षम बनाउन प्रधानाध्यापकलाई १० दिने कम्प्युटर तालिमको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। पहिलो चरणमा माघ ३ देखि १२ गतेसम्म १५ वटा विद्यालयका प्रधानाध्यापकलाई कम्प्युटर तालिम दिएको गाउँपालिकाले दोस्रो चरणमा माघ १३ देखि १४ जना प्रधानाध्यापकलाई सहभागी गराएर तालिम दिइरहेको छ। सफ्टवेर अनुसार विद्यार्थी र शिक्षक ट्र्याकिङ, मार्कसिट, छात्रवृत्तिलगायत कागजात र तथ्यांक अपडेट गर्ने सीप सिकाउन प्रधानाध्यापकलाई कम्प्युटर तालिम आयोजना गरिएको गाउँपालिकाका आइटी अफिसर प्रवीण पोखरेलले जानकारी दिए।

प्रकाशित: २१ माघ २०७५ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App