१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा तामा र सिमेन्ट खानी फेला

ताप्ली (उदयपुर)– उदयपुरको पश्चिम पहाडी गाउँपालिका ताप्लीमा तामा र सिमेन्ट खानी भएको प्रारम्भिक तथ्य फेला परेको छ। गाउँपालिकाको वडा नं. ३ को इनामे र ५ को रुपाटारसँग जोडिएको खानीडाँडामा तामाखानी र ४ नं. को ठानागाउँ टाउकेडाँडामा सिमेन्ट खानी भएको प्रारम्भिक अनुसन्धानले देखाएको स्थानीयले बताएका छन्। 

इनामे र रुपाटारबीचको भूभागमा तामा खानी भएको कुरा ४०/५० वर्षअघि परम्परागत प्रविधिबाट तामा प्रशोधन गरी माना, पाथीजस्ता नापतौलका सामग्री बनाएर पुष्टि भईसकेको गाउँलेको भनाई छ। स्थानीय बृद्धबृद्धाका अनुसार तामा र पित्तलका सामान बेच्न डुल्दै आउने घुमन्ते ताम्राकारको समूहले वर्षौंअघि खानीडाँडाको ढुंगा पगालेर माना, पाथी र तराजु बनाई प्रचलनमा ल्याएका थिए। 

स्थानीय युवा दिपकराज बुढाथोकीले सो ठाउँमा किटजस्तो बस्तु जताततै भेटिने गरेको भन्दै्र सोही बस्तु तामाको कच्चा पदार्थ हुनसक्ने ठोकुवा गरे। ‘हाम्रो गाउँतिरको पहाडमा किटजस्ता कालो–रातो रंग मिसिएको धातुजन्य बस्तु भेटिन्छ’ बुढाथोकीले भने ‘त्यही धातु तामाको कच्चा पदार्थ भएको गाउँले बुढापाकाहरु बताउँछन्। उहिले गाउँतिर घुम्दै आउने ताम्राकारले आगोमा गालेर तामाको माना, पाथी र भाँडा बनाउने गर्थे रे।’ 

गाउँपालिकाले सिमेन्ट र तामा खानी फेला परेको पुष्टि गरे। गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले ताप्लीमा प्रारम्भिक अनुसन्धानबाट सिमेन्ट र तामा खानी भएको लगभग पुष्टि भइसकेको बताए। उनले यसको आधिकारिक पुष्ट्याईका लागि तामा र सिमेन्टको कच्चा पदार्थलाई परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाइएको बताए। ‘ताप्लीको ३ नं. र ५ वडाको बीचमा पर्ने खानीडाँडामा तामा खानी भएको बुढापाकाले भन्दै आएका छन्’, अध्यक्ष थापाले भने, ‘४०÷५० वर्षअघि नै त्यहाँको कच्चा पदार्थ प्रशोधन गरेर गाउँमा तामाको माना र पाथी बनाएर प्रचलनमा ल्याईसकेको पाइएको छ।’ 

त्यतिखेर बनेका माना, पाथी र बिभिन्न भाँडाकुँडा अहिले पनि गाउँघरमा चलाईरहे भन्दै थापाले त्यसकै आधारमा सो ठाउँको नाम पनि ‘खानीडाँडा’ रहन गएको हुनाले खानी छ भन्ने पुष्टि हुने बताए। ‘खानीडाँडा नाम त्यसै रहेको होइन, त्यहाँ पक्कै खानी भएकैले त्यो नाम राखिएको हुनुपर्छ’ अध्यक्ष थापाको भनाई छ। खानीडाँडा क्षत्रमा किटजस्तो कालो बस्तुको चट्टानी पहाड रहेको र त्यस्ता पदार्थ पहाडभरी छरिएर रहेकाले त्यहाँ निकै ठूलो परिमाणको तामा खानी हुनसक्ने आँकलन अध्यक्ष थापाले गरेका छन्।

उता ताप्लीकै ठानागाउँमा ठूलो परिमाणको सिमेन्ट खानी भएको प्रारम्भिक तथ्य पनि बाहिरिएको वडाध्यक्ष चित्र मगरले बताए। उनका अनुसार ठानागाउँको टाउकेडाँडा भन्ने बस्ती आसपासको चट्टान सबै सिमेन्टको कच्चा पदार्थ भएको प्रारम्भिक जानकारी आएको छ। ८९ घरधुरी रहेको टाउकेडाँडा गाउँ आसपासको क्षत्रमा एक/डेढसय वर्षसम्म सिमेन्ट निकाल्न पुग्ने चुनढुंगाको खानी भएको अनुमान गरिएको वडाध्यक्ष मगरले बताए। टाउकेडाँडाको चट्टान सबै सिमेन्टको चुनढुंगा हुनसक्ने लगभग ८० प्रतिशत पुष्टि भइसकेको तर, यसलाई आधिकारिकताका लागि ‘ल्याबटेस्ट’ भने बाँकी रहेको उनले बताए।  

गाउँपालिकाले दुवै खानीको ढुंगा–माटो परीक्षणका लागि खानी तथा भूगर्भ विभाग पठाई सकेको छ। अध्यक्ष थापाले गाउँपालिकाको बृहत गुरुयोजना निर्माण गरिरहेको विज्ञ टोलीमार्फत दुवै ठाउँको ढुंगा–माटो परीक्षणका लागि विभाग पठाइएको बताए। महिना दिनअघि पठाइएको ढुंगाको परीक्षण परिणाम केही समयभित्रै आउने बताउँदै थापाले खानी भएको आधिकारिक पुष्टि भएमा उत्खननका लागि थप प्रक्रिया अघि बढाइने बताए। 

प्रकाशित: १५ माघ २०७५ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App