१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चार दिनदेखि हवाई सेवा ठप्प

विमानस्थलको हिउँ फाल्दै सिमकोट गापाका अध्यक्ष पदम बहादुर लामा। तस्बिर : जनकबहादुर/नागरिक

हुम्ला - हुम्लामा शुक्रबार पुनः हिमपात भएपछि यहाँको हवार्ई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण तीन दिनदेखि अवरुद्ध हवाई सेवा शुक्रबार चौथो दिन पनि अवरुद्ध बनेको हो। नेपालगन्ज र सुर्खेतदेखि सिमकोट विमानस्थलमा दैनिक उडान हुने गर्छ।

सिमकोट नागरिक उड्डयन कार्यालयको गाडीले विमानस्थलको धावनमार्गमा जमेको हिउँ बिहीबार घाम लागेकाले फाल्न सुरु गरेको थियो। तर हिउँ धेरै बाक्लो भएका कारण पहिलो दिन सय मिटर मात्र पन्छाउन सकिएको थियो। दोस्रो दिन शुक्रबार सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामाको नेतृत्वमा सुरक्षाकर्मी, स्थानीय र कर्मचारीहरूले बिहानैदेखि हिउँ फाल्न सुरु गरे पनि दिउँसो पुनः हिमपात भएपछि विमानस्थल जस्ताको तस्तै बनेको छ।

सोमबार रातिदेखिको हिमपातले यातायातको एक मात्रै साधनका रूपमा रहेको हवाई सेवा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। हवाई सेवा रोकिएकाले हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै निर्माण सामग्रीहरू नेपालगन्ज र सुर्खेतमै रोकिएका छन्। लगातारको हवाई सेवा बन्दले जिल्लाबाट नेपालगन्ज र सुर्खेत जाने र हुम्ला आउने यात्रुहरू अलपत्र परेका छन्।

मौसममा केही सुधार आउँदा हिउँ पन्छाउन थालिए पनि थप हिमपात भएका कारण हवाई सेवा पुनः सञ्चालनका लागि कम्तीमा एक हप्ता लाग्ने सिमकोट नागरिक उड्डयन कार्यालय हुम्लाका निमिक्त प्रमुख गौरव धेउजाले बताए। हिमपातले सदरमुकाम सिमकोट आउने र बाहिर जाने पैदलयात्रीलाई समेत समस्या सिर्जना गरेको छ।

प्रकाशित: १२ माघ २०७५ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App