११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

संक्रान्तिमा दिनदुःखीकाे सेवा

सर्लाहीको हरिवनमा आमर्ट नेपालद्वारा वितरित मिष्ठान्न भोजन गर्दै दीनदुःखीहरू तथा उनीहरूलाई दिन राखिएका कपडा।  तस्बिर : टंक/नागरिक

सर्लाही  – माघे संक्रान्तिका अवसरमा मंगलबार सर्लाहीको हरिवनमा गरिब एवं असहायहरूलाई मिष्ठान्न भोजन गराउनुका साथै न्याना कपडा वितरण गरिएको छ। आमर्ट नेपाल (सर्लाही)अन्तर्गत आनन्दमार्ग राहत उद्धार टोलीमा आवद्ध स्थानीय युवाले हरिवन बजारमा कार्यक्रम आयोजना गरी गरिब, असहाय, अपांगता भएका, मागेर गुजारा गर्ने जस्ता पीडित ३५० जनालाई उक्त सहयोग गरेका हुन्।

संक्रान्तिका उपलक्ष्यमा उनीहरूलाई मिठा परिकार खुवाउँदै ब्लांकेट, कम्बल, लगाउने लुगा तथा जुत्ता–चप्पल वितरण गरिएको आमर्ट नेपाल(सर्लाही)का अध्यक्ष बैजु साहले जानकारी दिए। स्थानीय चण्डेश्वरी कपडा पसलका सञ्चालक दिनेशओम पोतेलगायत कपडा व्यापारीहरूसँग संकलन गरिएका न्याना कपडा एवं जुत्ता–चप्पल वितरण गरिएको उनले बताए। यस्तै खीर, जेरी, पुरीलगायत मिष्ठान्न भोजन गराइएको आयोजकले जनाएको छ। ‘संक्रान्तिका दिन मिठोमसिनो खान पाइयो र ओढ्ने ब्लांकेट पनि पाइयो,’ हरिवन नगरपालिका–८, निवासी ज्येष्ठ नागरिक चन्द्रबहादुर विकले खुसी हुँदै भने, ‘यस्ता नानीबाबुहरूको सधैं भलो होस्।’

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले युवाहरूको यो काम ज्यादै सह्रानीय भएको भन्दै प्रशंसा गरे। ‘यस्ता दीनदुःखीहरूलाई मिष्ठान्न भोजनसहित न्यानो कपडा वितरण गरेर संक्रान्ति मनाउनु उदाहरणीय काम हो,’ उनले भने। हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्ष शेखमेहबुब रेजालगायत अतिथिले पनि युवाहरूको उक्त कामको खुलेर प्रशंसा गरे। आमर्ट नेपालले हरेक माघे संक्रान्तिमा यस्तै कार्यक्रम गर्ने गरेको छ।

प्रकाशित: २ माघ २०७५ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App