१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बन्यो गाउँपालिकाको आफ्नै भवन

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। एक करोड ८० लाख रुपैयाँ लागतमा निर्मित प्रिफाइभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ र पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

साविक मुक्ली गाविस भवनमा कार्यालय सञ्चालन गरिरहेको थुलुङ दूधकोसी गाउँपालिकाले ब्लकबाट प्रशासनिक भवन निर्माण गरेको हो। गाउँपालिका अध्यक्ष असिम राईले नयाँ भवनबाट कामकाज सुरु गरेपछि विषयगत कार्यालय व्यवस्थापन, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई समेत सहज महसुस भएको बताए। यसअघि साविक गाविस भवनबाटै सेवा प्रवाह गर्नुगर्दा निकै कष्ट बेहोर्नुपरेको थियो।

समाजसेवी तथा व्यवसायी बलराम गुरुङले प्रदान गरेको ५० रोपनी जग्गामा निर्मित भवनमा सेमिनार हल, अध्यक्ष, उपाध्यक्ष र न्यायिक समितिका बेग्लाबेग्लै कोठा व्यवस्था गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत लगायतका विषयगत कार्यालयका लागि पनि बेग्लै कोठा तोकिएको छ। कार्यालय परिसरमा हेलिप्याडसमेत निर्माण गरिएको छ।

उद्घाटन कार्यक्रममा संघीय सांसद राईले स्थानीय तह आत्मनिर्भरतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरे। सोलुखुम्बुका स्थानीय तहमध्ये थुलुङ दूधकोसी गाउँपालिकाले आफ्नै भवनबाट नागरिकलाई सेवा प्रवाह गर्न सुरु गर्नु विकासको प्रारम्भिक लक्षण भएको सांसद राईले बताए।

प्रकाशित: १ माघ २०७५ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App