१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुई महिनाको तलब निकास भएन

काठमाडौं – सरकारले नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको अध्यक्ष नियुक्त नगर्दा संस्थान पाँच महिनादेखि नेतृत्वविहीन बनेको छ। संस्थानको अध्यक्ष तथा सञ्चालक समितिको अन्य पदाधिकारी नियुक्त नगरिँदा कार्यालयको काम प्रभावित भएको छ भने संस्थानमा कार्यरत पाँच सय ५० कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन्।

मन्त्रिपरिषद् र खानेपानी मन्त्रालयको अकर्मण्यताकै कारणले संस्थान नेतृत्वविहीन भएको कर्मचारीहरु बताउँछन्। ‘संस्थान नेतृत्वविहीन भएको पाँच महिना बितिसक्यो तर सरकारले सञ्चालक समितिको अध्यक्ष नियुक्ती गर्नेतर्फ ध्यानै दिएको छैन। जसको कारणले संस्थानमा कार्यरत साढे पाँच सय कर्मचारीको रोजीरोजी नै संकटमा पुगेको छ,’ नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले भने, ‘सरकारले तत्कालै अध्यक्ष नियुक्ती नगरे संस्थान नै धरासायी हुने अवस्थामा पुग्नेछ।

त्यसैले तत्कालै अध्यक्ष नियुक्त गरेर अहिलेको समस्या सल्टाउन आवश्यक भइसक्यो।’ संस्थानको सञ्चालक समितिको अध्यक्ष पद गत साउन २८ गतेदेखि रिक्त छ। उनका अनुसार संस्थान नेतृत्वविहीन हुँदा संस्था धरासायी हुने अवस्थामा पुगेको छ। ‘सरकारले समयमा सञ्चालक समितिमा पदाधिकारी नियुक्त नगर्दा २४ वटा कार्यालय भएको संस्थानको भविष्य अन्यौलमा परेको छ,’ उनले भने, ‘सरकारले समयमै नियुक्ती गर्नुपर्नेमा ‘नियुक्त गर’ भनेर आन्दोलनमा उत्रिँदा पनि हाम्रो माग पूरा भएको छैन।’

नेपाल खानेपानी संस्थानमा कार्यरत कर्मचारी गत कात्तिक १५ गते खानेपानी मन्त्रालयलगायतका सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर तत्कालै संस्थानमा सञ्चालक समिति नियुक्ती गर्न माग गरेका थिए। संस्थानमा कार्यरत कर्मचारीले मंसिर २ गतेदेखि कार्यालयमा धर्ना दिँदै आएका छन्।

संस्थानमा कार्यरत कर्मचारीले सञ्चालक समितिको अध्यक्ष नियुक्ती गरिनुपर्ने, कर्मचारी युनियनले संस्थानलाई सक्षम र सुदृढ गर्नुपर्ने, सेवालाई उपभोक्तामैत्री तथा प्रतिस्पर्धी बनाउनुपर्ने, कर्मचारीको वृद्धि विकास गर्नुपर्ने, कार्यरत करार तथा ज्यालादारी कर्मचारीको रोजगारी ग्यारेन्टी गरिनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिएको नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष रामजी अर्यालले बताए।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले खानेपानी संस्थानको सञ्चालक समितिका अध्यक्ष नियुक्तीको लागि मन्त्रिपरिषद्मा सिफारिस गरेपछि हालसम्म स्वीकृत नभएको बताए। ‘मन्त्रालयले संस्थानको अध्यक्षको नियुक्तको लागि डेढ महिनाअघि नै मन्त्रीपरिषद्मा सिफारिस गरेका थियौं,’ उनले भने, ‘के कारणले स्वीकृत भएन थाहा भएन।’ सचिव ठाकुरले संस्थानको अध्यक्ष नियुक्त गर्नका लागि बारम्बार तोकेता गर्दा पनि मन्त्रिपरिषद्बाट स्वीकृत हुन नसकेको बताए। ‘संस्थानमा सञ्चालक समितिको अध्यक्ष नहुँदा धेरै काम प्रभावित भइरहेको छ,’ उनले भने, ‘कर्मचारी र संस्थान सञ्चालनमा नै समस्या देखिएको छ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले उक्त विषयमा आफू बेखबर रहेको बताए। ‘नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको नियुक्तिको सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालय वा सम्बन्धित मन्त्रालयलाई सोध्नुहोस्। मलाई यस विषयमा केही थाहा भएन,’ उनले भने, ‘क्याबिनेटले निर्णय गर्ने विषयमा मलाई केही थाहा छैन। सम्बन्धित मन्त्रालयको मन्त्रीज्यूलाई नै सोध्नुहोला।’

खानेपानी संस्थानले उपत्यकाबाहिरका २४ वटा सहरमा पानी वितरण, धारा जडान, पानीको चुवाहट नियन्त्रण र मर्मतसम्भारलगायतका काम गर्दै आइरहेको छ। सञ्चालक समितिको अध्यक्ष गत साउन २८ गतेदेखि रिक्त रहँदै आइरहेको छ।

प्रकाशित: २६ पुस २०७५ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App