५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बेलायती नागरिक ठग्ने वेब सर्फरका सञ्चालकविरूद्ध ३२ करोड ठगीको मुद्दा

काठमाडौं– बेलायती नागरिक दिनेश विमलनाथनलाई वेब सर्फर कम्पनीको ५१ प्रतिशत शेयर दिने भन्दै मोटो रकम असुल गरेका इन्टरनेट सेवा प्रदायक कम्पनी वेब सर्फरका सञ्चालक सुरेन्द्र क्षेत्रीबिरुद्ध प्रहरीले आइतवार ३२ करोड ठगीको मुद्दा अदालतमा दर्ता गर्ने भएको छ। कबुल गरे बमोजिम कम्पनीको शेयर दिन नमानेपछि बेलायती नागरिक नाथनले वेब सर्फरका सञ्चालकत्रय सुरेन्द्र, शैलेन्द्र र सुमन क्षेत्रीबिरुद्ध उजुरी दिएका थिए। नाथनलाई संचालक क्षेत्रीले नक्कली शेयर प्रमाण पत्र दिएर झुक्याएपछि उनी उजुरी गर्न प्रहरी समक्ष पुगेका थिए। सोहि उजुरीका आधारमा प्रहरीले सुरेन्द्रलाई २२ दिन अघि पक्राउ गरेको थियो। 

काठमाडौं प्रहरी परीसरका डिएसपी मोहन थापाले क्षेत्रीबिरुद्ध ३२ करोड ठगीको मुद्दा सम्भवत आज अदालतमा दर्ता हुने नागरिक न्युजसँग बताए। ‘हामीले सबै प्रक्रिया पुरा गरेर सरकारी वकिलको कार्यालयमा बुझाई सकेका छौं, सम्भवत आज मुद्दा दर्ता हुन्छ’, थापाले भने। नाथनको पैसा लिने ३ दाजुभाई मध्ये फरार रहेका २ जना सञ्चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ। 

यता वेलायती नागरिक नाथनले क्षेत्री दाजु भाईले आफुलाई धेरै पटक धोका दिएको बताए । वेलायत बाट टेलिफोनमा नागरिक सँग कुरा गर्दै नाथनले भने-"मलाई धेरै पल्ट झुक्याउने काम भयो। मैले लगानी गरेको प्रतिफल माग्दा सधैं नै कम्पनी घाटामा गइरहेको छ भनेर भन्थे। कहिले नयाँ योजना ल्याउने नाममा त कहिले  ब्यांकमा ऋण धेरै भयो तिर्न नसकेर कम्पनी ब्यांकले लिलाम गर्ने स्थितिमा पुग्यो भन्दै म सँग थुप्रै पल्ट पैसा लिए। यतै हुँदा हुँदै पनि मैले स्रोत खोजेर लगानी गरिरहेको थिए । तर मलाई सधैं धोका दिए।"

नाथनको पैसा लिने ३ दाजु भाई मध्ये फरार रहेका २ जना संचालकको खोजि भइरहको प्रहरीको भनाइ छ । 

स्रोतका अनुसार प्रहरीको फरार सूचीमा रहेका सुमन र शैलेन्द्र दुबैको विदेशी राहदानी रहेको छ। उनीहरु बिरुद्ध दर्ता हुन लागेको मुद्दा सल्टाउन शक्ति केन्द्रबाट प्रहरीमाथि दबाब परिरहेको छ।

नाथनले प्रहरी समक्ष दिएको उजुरीमा संलग्न अन्य प्रमाण सँगै बेलायतबाट तत्कालिन ग्रिन ल्याण्ड ब्यांकमा ३० हजार पाउण्ड पठाएको भौचर समेत समावेश गरिएको छ। 

यस्तै, नेपालमा इन्टरनेट विस्तार गर्ने र प्रविधिमा लगानी भित्र्याउने भन्दै वेब सर्भरका संचालक क्षेत्रीले एक मलेसियन नागरिकको करिब ६ करोड पनि भित्र्याएका थिए। आफ्नो पैसा असुल गरिदिन ति मलेसियनले पनि प्रहरी समक्ष उजुरी गरे पनि हालसम्म उनको पैसा असुल भएको छैन। उनको मुद्दा उच्च अदालतमा विचाराधीन छ। 

विदेशी लगानी भित्र्याउन सरकारले आगामी फागुनमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेका बेला विदेशी नागरिक ठगिएका घटना सार्वजनिक भइदिँदा यसले नेपालमा लगानी गर्न इच्छुक विदेशीमा नकारात्मक सन्देश जाने बताइन्छ।

प्रकाशित: १५ पुस २०७५ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App