२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न ग्लोबल टेण्डर गरिँदै

 रुपन्देही– लुम्बिनी विकास कोषले ३५ वर्षदेखि चर्चामा रहेको लुम्बिनी गुरुयोजना लाई तीव्रता दिन भन्दै लुम्बिनी विकास कोषले ग्लोबल टेण्डर आह्वान प्रक्रिया सुरु गरेको छ। गुरुयोजनाको काम शुरु भएको लामो समयसम्म पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्ने लक्ष्यसहित ग्लोबल टेण्डर प्रक्रिया थालेको हो।

सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले तयार गरेको गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले एक हजार १५५ बिघा जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विभाजन गरेको छ।

गुरुयोजनाको ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ तर गुरुयोजनाभित्र रहेका ठूला परियोजना अझै बाँकी छन्।छ वटा डोम आकारका भवन, पानी, विद्युत्, सञ्चार, अडिटोरियम हल, ढल निकास, हाईस्कूल, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम सक्न ग्लोबल बोलपत्र प्रक्रिया सुरु गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए। कोषले बाँकी काम सक्न अझै छ अर्ब बजेट खर्च हुने बताएको छ । यहाँ हालसम्म छ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

ग्लोबल बोलपत्र अघि बाँकी आयोजनाको योजना, डिजाइन र स्टिमेटका साथै निर्माण अवधिभर सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न सूचना जारी गरिसकेको छ। तीन महीनाभित्र परामर्शदाताले गर्ने डिजाइन र स्टिमेटका आधारमा तीन वर्षभित्र सबै काम सक्ने गरी ग्लोबल बोलपत्र गर्ने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए।

१० वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको लुम्बिनी अहिले घुम्न लायक पवित्रस्थलको रुपमा विकास भइसकेको छ। यो वर्ष स्वदेशी तथा विदेशीसहित करीब १७ लाखले लुम्बिनी भ्रमण गरेका छन्। रासस

 

प्रकाशित: १४ पुस २०७५ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App