१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विद्यार्थी पिट्ने शिक्षकलाई कारबाही माग

बारा - कुटपिटबाट विद्यार्थीको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी बाराले माग गरेको छ। राजपाका बारा संयोजक मनोज चौरसियाले बिहीबार विज्ञप्ति निकालेर प्रहरी प्रशासनसँग दोषीलाई कारबारहीको माग गरेका हुन्।

कलैया उपमहानगरपालिका–१ मा स्थित नमुना निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय अजय मण्डलको सोमबार शिक्षकको कुटाइबाट मृत्यु भएको आरोप उनका काका जितेन्द्र मण्डलले लगाएका छन्। सोमबार विद्यालय गएका अजयलाई नेपाली पढाउने शिक्षक सोनालाल यादवले कुटपिट गर्दा मृत्यु भएको दाबी जितेन्द्रको छ।

‘शिक्षक यादवले कुटपिट गरेपछि भतिजो काप्दै घर आएर सुतेको थियो,’ जितेन्द्रले भने, ‘बेलुका सुतेको ठाउँबाट उठदा काप्दै बान्ता गर्‍यो।’ बान्ता गर्न सुरु गरेपछि भतिजोलाई उपचारका लागि कलैया अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको उनले बताए।

भतिजोको मृत्यु भएपछि स्कुलमा घटनाबारे बुझन जाँदा दिउँसो शिक्षकले निर्घात कुटपिट गरेको थाहा भएको जितेन्द्रले बताए। शिक्षकको कुटपिटकै कारण भतिजोको मृत्यु भएको दाबीसहित उनले शिक्षकलाई कारबाही गर्न किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय बारामा दिएको बताए।

शिक्षक सोनालाल यादवले कक्षा ७ मा पढने एक छात्रासँग शिक्षकको सम्बन्ध रहेको हल्ला गरेको विषयमा अजयसँग सोधपुछ गरिएको बताए। सोधपुछ गर्ने क्रममा छात्रासँग शिक्षकको नराम्रो सम्बन्ध रहेको हल्ला चलाएको थाहा पाएपछि त्यसो नगर्न भन्दै आफूले अजयलाई एकदुई थप्पड हानेको शिक्षक यादवले स्विकारे। अजयलाई एकदुई थप्पड हानेपछि आमाबुबालाई बोलाएर विद्यालयमा ल्याउन भनिएको तर उसले नल्याएको पनि यादवले बताए।

बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले घटना अनुसन्धान क्रममा विद्यालयका शिक्षक, विद्यार्थी र मृतकका आफन्तसँग बुझने कार्य भईरहेको जानकारी दिए। मृतक विद्यार्थी अजयको शरीरको बाहिरी भागमा चोटको निसान नदेखिएको र भित्री कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने भट्टराईले बताए। विद्यार्थीको मृत्युपछि विद्यालयका विद्यार्थी र शिक्षक त्रसित छन्।

प्रकाशित: १३ पुस २०७५ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App