१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डा.केसीकाे अन्तिम चेतावनी : विधेयक तथा सम्झाैतामा चलखेल गरे पाैष १७ पछि सत्याग्रह

काठमाडाैं - प्राध्यापक डा. गाेविन्द केसीले शिक्षा विधेयकमा भइरहेको चलखेल रोक्दै तत्काल सम्झौताबमोजिम विधेयक पारित गर्न तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न अन्तिम चेतावनी दिएका छन्। बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उनले आफ्ना मागहरु पाैष १७ गतेसम्म पुरा नभए सत्याग्रह गर्ने चेतावनी समेत दिएका छन्।

आफ्ना हरेक सत्याग्रह टुंग्याउने क्रममा सम्झौता गर्दा जुनसुकै पार्टीका सरकारहरुले पनि जनता र विद्यार्थीको हित हुने बुँदाहरु नराखी दलाल र माफियाहरुको स्वार्थ पूर्तिका लागि ब्ल्याकमेलिङ गर्ने गरेकाे आराेप उनले लगाएका छन्।सम्झौता कार्यान्वयनको बेला इमान्दारी देखाउनुको सट्टा सम्झौता उल्लंघन गर्ने तथा जनता र विद्यार्थीमारा कामहरु गर्ने गरिएकाे डा.केसीले बताएका छन्। यति लामो संघर्ष, १५ वटा सत्याग्रह र सम्झौताहरुपछि समेत अवस्थामा सुधार आउन नसकेकोमा डा.केसीले आपत्ती जनाए। माथेमा प्रतिवेदनकाे इमान्दारीताका साथ कार्यान्वयन हुनुपर्नेमा पाइलापाइलामा जालसाजी गरेर त्यसको मर्म मर्ने गरी ऐन ल्याउने प्रयासहरु भएकाे उनले आराेप समेत लगाए।

राजनीतिक दलका नेताहरु र सरकारले माफियाहरुको पक्षमा लबिङ गरिरहेकाे उनकाे भनाइ छ। चिकित्सा शिक्षा विधेयकसम्बन्धी पछिल्लो समयमा विकसित घटनाक्रमहरुप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले  मेडिकल माफियाहरुको स्वार्थ पुर्तिका लागि सम्झौतामाथि संसदीय समितिमा चलखेल भइरहेको प्रति राेष प्रकट गरे। 

डा.केसीले अब सम्झौताभन्दा अलिकति पनि तलमाथि गर्ने प्रयास भए कुनै पनि बेला सत्याग्रह सुरु गर्न बाध्य हुने बताए। त्यसपछिको लडाइँ माफियाहरुसँत मात्रै नभइ तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने राजनीतिक दलका नेताहरु, पदाधिकारीहरु विरुद्ध समेत केन्द्रित हुने उनकाे चेतावनी छ।

 

 

प्रकाशित: ११ पुस २०७५ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App