१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र

सिन्धुपाल्चोक – ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।

मूल आयोजक समितिले जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न पुस १५ देखि तीन दिन चल्ने सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन मूल आयोजक समितिसहित विभिन्न १२ उपसमिति र विभाग बनाएर तयारी थालिएको बताए।

‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाव दिन्छौं,’ सम्मेलन मूल आयोजक समितिका संयोजक रहेका तामाङले भने। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको व्यवस्थापन र जिल्ला समन्वय समिति महासंघको आयोजनामा सम्मेलन हुन लागेको हो।

मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित गुफाडाँडामा हुन लागेको सम्मेलनमा सतहत्तरै जिल्लाका प्रमुख, उपप्रमुखसहित तीन–तीन जनाको सहभागिता रहनेछ। त्यस्तै प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाबाट संघीय संसद् र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने सांसद, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सम्मेलनमा अतिथिका रूपमा निम्त्याइनेछ। पुस १६ गते सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।

मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित गुफाडाँडामा हुन लागेको सम्मेलनमा सतहत्तरै जिल्लाका प्रमुख, उपप्रमुखसहित तीन–तीन जनाको सहभागिता रहनेछ।

तीन सय ६० डिग्री कोणबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य र वातावरण नियाल्न सकिने सम्मेलनस्थल गुफाडाँडामा सडक, बिजुली, इन्टरनेट जडान, सेमिनार हलको काम थालिएको संयोजक तामाङले बताए। ‘सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर देखिने स्ट्याचुको निर्माण कार्यसमेत सुरु भएको छ,’ उनले भने।

उनका अनुसार सम्मेलनमा विषयविज्ञ र सम्बद्ध मन्त्रालयका अधिकारीले जलवायु परिवर्तनसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यपत्रमाथि व्यापक छलफल गरी सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने आयोजकको तयारी छ। ‘सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास लिएका छौं,’ संयोजक तामाङले भने, ‘जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउसमेत पुग्ने ठानेका छौं।’

सम्मेलनका सहभागीलाई मेलम्ची आयोजनाको १० किमि दुरीको सुन्दरीजल–सिन्धु सुरुङबाट मेलम्ची उतार्ने आयोजकको तयारी छ। आयोजकका अनुसार उनीहरुलाई पर्यटकीय स्थल हेलम्बु क्षेत्र र मेलम्ची आयोजनाको मुहानसमेत भ्रमण गराइने कार्यक्रम छ। सहभागिहरुलाई रातिको बासको व्यवस्था भने मेलम्ची बजारका होटलमा मिलाइनेछ।

सम्मेलनमा झन्डै १ करोड रुपैयाँ खर्च हुने तयारी छ। जिल्लाका स्थानीय तह, गैरसरकारी संस्था, उद्योगी, व्यवसायीबाट उक्त खर्च जुटाउने प्रतिबद्धता आएको सम्मेलन मूल आयोजक समिति संयोजक तामाङले जानकारी दिए। ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासाथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकूलन दर्शाउने लागोसमेत आयोजकले सार्वजनिक गरिसकेको छ।

प्रकाशित: ६ पुस २०७५ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App