२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

कञ्चनपुर- निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ। प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन। स्रोतका अनुसार रिपोर्ट जिल्लामा आइसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ।
प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आइ नै नपुगेको दाबी गरेको छ। ‘डिएनएको रिपोर्ट आएको छैन। यहाँबाट रिपोर्ट ल्याउन कसैलाई पठाएकै छैनौं’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ‘अझै दुईतीन दिन यता रिपोर्ट आउँदैन।’ लाहाछाप लगाएको रिपोर्ट प्रहरी पठाएर नै ल्याउने उनको भनाइ छ।

निर्मलाको हत्या गरेको आरोप स्विकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट मेल नखाएपछि प्रहरीले हत्याको आधार देखिने अन्य प्रमाणको खोजी गरिरहेको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्। ‘प्रदीपले आरोप स्विकारेर दिएको बयान धेरै मिल्दो देखिन्छ’, उनले भने, ‘जस्टिफाई गर्ने केही प्रमाण भेटिन्छन् कि भनेर खोज्ने काम भइरहेको छ।’ उनले डिएनए रिपोर्ट भने दुवैको नेगेटिभ आएको बताए। कोही देख्ने वा सुन्ने छ कि भनेर प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए।
डिएन नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने प्रहरीको सोच छ। उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट म्याद थप गरिएको छ।

निर्मलाको वडासँग सिमाना जोडिएको भीमदत्त नगरपालिका १८ सालघारी निवासी प्रदीप काठमाडौंबाट पक्राउ परेका थिए। उनको बयानका आधारमा भगतपुरका विशाललाई पनि पक्राउ गरेर काठमाडौं लगिएको थियो। विशालसँगै लगिएका दिनेश चौधरीलाई भने प्रहरीले दोस्रो दिन नै रिहा गरिदिएको थियो। बयान स्वीकार गरेको भनिएका विशाल पनि डिएनए नमिलेपछि मुक्त गर्ने प्रहरी तयारी रहेको बुझिएको छ।
प्रदीपले निर्मलालाई उखुबारीमा लगेर बलात्कारपछि घाँटी च्यापेर हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ। प्रदीपले निर्मलासँग पहिलेदेखि चिनजान रहेको र उखुबारीमा लगेर बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरी स्रोतले दाबी गरेको छ। प्रदीप र विशाललाई पक्राउ गरेपछि आइजिपी सर्वेन्द्र खनालले निर्मला हत्याको अनुसन्धान साँघुरिएको बताएका थिए भने रक्षामन्त्री ईश्वर पोखरेलले अपराधी पक्राउ परिसकेको र केही दिनमा सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: ५ पुस २०७५ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App