१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

द्रुत गतिमा बन्दै वैकल्पिक लोकमार्ग

निर्माणाधीन वैकल्पिक लोकमार्गमा कालोपत्रे गर्नुअघि ग्राभेल गरिँदै। तस्बिर : महेश्वर/नागरिक

उदयपुर - उदयपुरको अर्थ राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्ने निर्माणाधीन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग’अन्तर्गत उदयपुर खण्डमा ५५ प्रतिशत काम सकिएको छ। पूर्वमा सुनसरीको सिमाना चतारादेखि पश्चिममा सिन्धुलीको सिमाना भिमानसम्म १ सय ३४ किलोमिटरको लोकमार्ग सिंगो उदयपुरलाई चिरेर निर्माण भइरहेको छ। वि.सं.२०७६ असार मसान्तभित्र बनाइसक्ने गरी जेडआइसिई/लामा/शर्मा जेभीले जिम्मा लिएको लोकमार्ग निर्माणअन्तर्गत ५५ प्रतिशतभन्दा बढी काम सकिएको वैकल्पिक लोकमार्ग परियोजना पूर्वीखण्ड कार्यालय(गाईघाट)ले जनाएको छ। परियोजनाका प्रमुख इन्जिनियर (डिई) उमेशविन्दु श्रेष्ठका अनुसार उदयपुरमा १ सय ३४ किलोमिटर खण्डअन्तर्गत सडकतर्फ ४५ प्रतिशत र पुलतर्फ ६० प्रतिशत काम सकिएको हो।

चतरादेखि बसाहासम्म नदाहा–कञ्चनपुर खण्ड निर्माण एसियाली विकास बैंक(एडिबी)ले गरेका कारण परियोजना कार्यालयले बसाहादेखि भिमानसम्मको काम मात्र गरिरहेको उनले जानकारी दिए। दुई वर्षअघि नै ट्«याक निर्माण भइसकेको सडक स्तरोन्नति गर्ने, चौडा पार्ने, कालोपत्रे अघिको पूर्वाधार तथा पुल, नाला र कल्भर्टहरू धमाधम निर्माण भइरहेको डिई श्रेष्ठले बताए। उनका अनुसार यसै आर्थिक वर्षभित्र ३३ वटा पुल बनाइसक्ने र ५० किलोमिटरमा कालोपत्रेसमेत सक्ने गरी काम भइरहेको छ।

सुनसरीको चतारादेखि सिन्धुलीको भिमानसम्म १ सय ३४ किलोमिटरको लोकमार्ग २०७६ असारसम्म बनाइसक्ने लक्ष्य छ। अहिलेसम्म ५५ प्रतिशतभन्दा बढी काम भइसकेको वैकल्पिक लोकमार्ग परियोजना पूर्वीखण्ड कार्यालय(गाईघाट)ले जनाएको छ।

डिई श्रेष्ठले भने, ‘बनाउनुपर्ने ४३ पुलमध्ये ३३ वटा यही आर्थिक वर्षभित्र सक्ने योजना छ।’ धरानदेखि चतारासम्म तीनवटा पुल यसअघि नै बनिसकेका हुनाले बसाहादेखि भिमानसम्म बनाउनुपर्ने बाँकी ३० वटा पुलको काम पनि ६० प्रतिशतभन्दा बढी भइसकेको उनले जानकारी दिए। धरानदेखि भिमानसम्म बन्ने साना–ठूला गरी ४३ पुल बनाउने जिम्मा कोभेक–रसुवा–तुन्डी जेभीले लिएको डिई श्रेष्ठले बताए।

२०७३ कात्तिकदेखि निर्माण सुरु भएको लोकमार्गभित्र पर्ने ४३ पुलमध्ये बरुवा, भिमा, द्वारखोला र कौवाईमा पक्की पुल बनिसकेका छन्। राजाबास, मरुवा, ज्यामिरेमा निर्माण भइरहेको पुल पनि ५० प्रतिशत बनिसकेको छ। अन्य ठाउँका पुलहरू निर्माण पनि धमाधम भइरहेको परियोजना कार्यालयले जनाएको छ।

सडकतर्फ लगभग कालोपत्रे गर्नुअघिको पूर्वाधार तयार भइसकेको छ। कालोपत्रे गर्न सुरु गरेपछि नरोकिई ५० किलोमिटर सकियोस् भनेर सबैको ‘प्रि–पिचिङ’ सक्ने काम भइरहेको डिई श्रेष्ठको भनाइ छ। ‘हामीले कालोपत्रे गर्न थालेपछि नरोकिई गर्न पाइयोस् भनेर त्यस अघिका सबै काम सक्न खोजिरहेका छौ,ं’ उनले भने, ‘कालोपत्रे गर्नुपूर्व आवश्यक सबै काम सकेर मात्र पिच थाल्ने योजनामा छौं।’

बसाहाबाट गाईघाट हुँदै सिन्धुलीसम्म दुई ठाउँबाट कालोपत्रे गरिने भएको छ। त्यसका लागि सिन्धुलीको जगाडी र सदरमुकामनजिकै त्रियुगा नगरपालिका–६, चुहाडे चिसापानीमा कालोपत्रे गर्न आवश्यक कच्चा पदार्थको ‘प्लान्ट’ राख्ने तयारी भइरहेको छ। दुवै ठाउँमा एकैचोटि प्लान्ट खडा गरेर थालिने कालोपत्रेको काम सिन्धुलीदेखि कटारी हुँदै ल्याइने छ भने चिसापानीदेखि सदरमुकाम हुँदै बेलटार बसाहातर्फको खण्डमा कालोपत्रे गर्ने योजना कार्यालयको छ।
२०७३ कात्तिकमा सम्झौता भई ६ महिनाको सर्भेपछि बनाउन सुरु गरिएको वैकल्पिक लोकमार्गका लागि राज्यले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। जसमा १ सय ३४ किलोमिटर सडकका लागि ६ अर्ब ५० करोड र ४३ वटा पुल बनाउन ३ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ।तीन वर्षभित्र बनाइसक्ने गरी भएको सम्झौताअनुसार युद्धस्तरमा काम भइरहेको परियोजना कार्यालयले दाबी गरेको छ। सडकका नाला र साइडस्लोपबाहेक ११ मिटरसम्म चौडाइमा कालोपत्रे गर्ने प्राविधिक इस्टिमेट रहेको कार्यालयले जनाएको छ। सडकका दुवैतर्फ व्यवस्थित नाला र साइडस्लोप हुने तथा कम्तीमा साढे सातदेखि ११ मिटरसम्म कालोपत्रे हुने भएकाले दोहोरो लेनमा सवारीसाधन सञ्चालन गर्न सहज हुने डिई श्रेष्ठले बताए।

प्रकाशित: ४ पुस २०७५ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App